शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवरात्री चौथो दिन : आज कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

बुधबार, १५ असोज २०७६, ०९ : १९
बुधबार, १५ असोज २०७६

आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकै दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ ।

। सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो  भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो ।उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको धार्मिक ग्रन्थहरुमा बताइएको छ । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ । यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ । यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्ने सक्ने माला रहेको देखिन्छ । यी देवीको बाहन सिंह हो । 

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिनुभएकोछ । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएकोछ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका अन्य ग्रन्थहरुमा उल्लेख गरिएकोछ । कुष्माण्डालाई उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । 

यिनलाई कुभिण्डोको बलि प्रिय लाग्दछ । संस्कृतमा कुभिण्डोलाई कुष्माण्डा भनिन्छ । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर आज यसको पूजाआजा गर्ने चलन रहेकोछ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । यी देवीको बास सूर्यमण्डलभित्र  हुन्छ । सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै छ । त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको जस्तै देदिप्यमान रहेको छ । यिनकै दिशाले दश दिशा आलोकित बनेको छ । यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ । यी देवीको भक्तिपुर्वक पूजा तथा आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ । कूष्माण्डा देवीको लागी मालपुवा प्रसादको रुपमा चडाईन्छ, दान गरिन्छ र आफू पनि खाइन्छ । यस्तो गर्दा बुद्धिको विकास हुन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ । आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा कूष्माण्डा देवीको दर्शन तथा पूजाको लागी भक्तजनहरुको  भिड लाग्ने गर्दछ । 


कुष्माण्डा देवीको पूजा गर्ने मन्त्र :
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप