शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दसैँलाई १० फिल्म

बिहीबार, १६ असोज २०७६, १० : २०
बिहीबार, १६ असोज २०७६

दसैँ बिदामा हेर्न सकिने १० फिल्मका थरीथरी सूची विगतमा पनि आए, भविष्यमा पनि आउनेछन् । तर समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले यहाँ प्रस्तुत गरेको सूची भने अलि भिन्न छ । दीपेन्द्र नेपाली फिल्मको राम्रो समीक्षक हुन् । देश विदेशमा निर्माण भएका प्रायः सबै फिल्म उनले हेरका छन् ।

पछिल्लो समय फिल्म निर्देशको रूपमा पनि अगाडि आएका लामा निर्देशित दुई फिल्म ‘घामपानी र ‘गोपी’ले दर्शक रिझाएका छन् । निर्माता कति खुसी भए त्यो बेग्लै पाटो हो । लामा निर्देशित पछिल्लो फिल्म ‘छ माया छपक्कै’ यही २४ असोजबाट देशभर प्रदर्शनमा आउँदैछ ।

दसैँमा हेर्नै पर्ने दस फिल्मको सूचीमा लामाले सन् २०१० देखि यता रिलिज भएका अन्तर्राष्ट्रिय फिल्मलाई समेटिएको छ । भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रिया, जापान र कोरियाका फिल्म सूचीमा छन् । सबै फिल्मले कुनै न कुनै विधामा अवार्ड जितेका छन् ।

ग्राभिटी

सन् २०१३ मा रिलिज भएको ‘ग्राभिटी’ले ८६औँ ओस्कार समारोहमा उत्कृष्ट फिल्म र निर्देशनसहित ७ वडा अवार्ड जितेको थियो । अल्फोन्सो कुरानद्वारा निर्देशित फिल्मले अन्तरिक्ष यात्रीहरुको सङ्घर्षलाई उजागर गर्छ । फिल्मको छायाकन पक्ष अब्बल छ ।

द रेभनेन्ट

अभिनेता लियोनार्दो डिक्याप्रियोलाई अभिनयमा ओस्कार अवार्ड दिलाउन सफल फिल्म ‘द रेभनेन्ट’लाई मेक्सिकन निर्देशक अलेज्यान्द्रो गोन्जालेज इनारितुले निर्देशन गरेका हुन् । सन् २०१५ को यस फिल्ममा लगभग दुई सय वर्षअघिको सेटअप छ । फिल्मको छायाङ्कन गर्दा कृत्रिम प्रकाशको प्रयोग गरिएको थिएन ।

एमोर

अस्ट्रियन फिल्मकर्मी माइकल हानाके निर्देशित ‘एमोर’ले ओस्कारमा विदेशी भाषातर्पmको उत्कृष्ट फिल्म अवार्ड जितेको थियो । सन् २०१२ को यस फिल्ममा वयोवृद्ध अवस्थाका एक जोडीको आत्मीय सम्बन्ध र कष्टकर जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।

द लन्चबक्स

रितेस बत्रा निर्देशित सन् २०१३ को ‘द लन्चबक्स’लाई ओस्कारका लागि भारतको प्रतिनिधित्व गर्नसक्ने फिल्मका रूपमा लिइएको थियो । तर गुजराती फिल्म ‘द गुड रोड’लाई ओस्कार पठाइयो । थुप्रै अवार्ड कार्यक्रममा मनोनीत र पुरस्कृत यस फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको बेलायतको ओस्कार अर्थात् बाफ्टा अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा मनोनीत हुनु रह्यो । यसलाई अभिनेता इरफान खानको सम्झनायोग्य फिल्म मानिन्छ ।

उडान

सन् २०१० को कान्स फिल्म फेस्टिभलको ‘अनसर्टेन रिगार्डस्’ सेक्सनमा छनोट हुन सफल ‘उडान’ विक्रमादित्य मोत्वानको डेब्यु निर्देशनमा बनेको फिल्म हो । बाउछोराबीचको ‘जेनरेसन ग्याप’लाई कथा बनाइएको फिल्म बक्स अफिसमा सफल नभए पनि समीक्षकका नजरमा उत्कृष्ट ठहरिएको थियो ।

कपुर एन्ड सन्स

भारतका प्रायः अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म विधामा मनोनीत सन् २०१६ को ‘कपुर एन्ड सन्स’ सबैले अपेक्षा गरेभन्दा राम्रो बनेको थियो । नयाँ पुस्ताका युवा विदेसिँदा परिवारमा आउने बिग्रह फिल्ममा देखाइएको छ । करण जौहर निर्माता रहेको फिल्मलाई सकुन बत्राले निर्देशन गरेका थिए ।

द ग्रान्ड मास्टर

चिनियाँ फिल्मकर्मी वङ कर वाईद्वारा निर्देशित ‘द ग्रान्ड मास्टर’लाई सन् २०१३ को बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनमा देखाइएको थियो । फिल्मलाई हङ्कङबाट ओस्कार अवार्डमा पनि सहभागी गराइएको थियो । मार्सल आर्टमा कलात्मक फिल्म बनाउन सकिन्छ भन्ने एउटा उदाहरण हो यो ।

अन्डर दि हथर्न ट्री

चीनको सांस्कृतिक क्रान्ति र कम्युनिस्ट नीतिका असरहरुलाई फिल्ममा उतार्न सफल निर्देशक मानिन्छ झाङ यिमुलाई । सन् २०१० मा रिलिज भएको उनको फिल्म ‘अन्डर दि हथर्न ट्री’मा पनि सांस्कृतिक क्रान्तिका बाछिटाले प्रभावित प्रेमीप्रेमिकाको मार्मिक कथा हेर्न पाइन्छ ।

लाइक फादर, लाइक सन

सन् २०१३ को जापानी फिल्म ‘लाइक फादर, लाइक सन’ले कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको थियो । हिरोकाजु कोरिदाको निर्देशन रहेको फिल्ममा नवजात छोरा साटिएपछि दुई परिवारले कसरी त्यो समस्यालाई सुल्झाउँछन् भन्ने देखाइएको छ ।

पिएटा

दक्षिण कोरियाली निर्देशक किम कि दुकको सन् २०१३ को ‘पिएटा’ अन्तर्राष्ट्रिय रूपमा तहल्का मच्चाउन सफल फिल्म हो । यसले ६९औँ भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड गोल्डेन लायन जितेको थियो । संसारका उत्कृष्ट तीन महोत्सव भेनिस, कान्स र बर्लिनमध्ये कुनै एकमा मुख्य अवार्ड जित्ने पहिलो कोरियाली फिल्म हो यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप