केन्द्रीय संस्करण
फोटोकथा

जहाँ कहिल्यै दसैँ मनाइँदैन...

person explore access_timeअसोज १७, २०७६ chat_bubble_outline1
शम्भु दंगाल

रातोपाटी

खोकनाको खेतमा लहलह धान झुल्दैछ । तोरीका लागि प्रख्यात खोकनामा तोरी नफलेपनि विदेशबाट आयातित तोरीलाई भुटेर यहाँका तोरी मिलले तेल निकालिरहेका छन् ।

देशका सबै ठाँउमा दसैँको चटारो भएपनि यहाँ भने फरक दृश्य छ । यहाँ दसैँको भन्दा पनि सिकाली जात्राको चटारो छ । दसैँ नमान्ने परम्परा रहेको खोकनामा उनीहरु अन्यत्र जस्तो जमरा राख्दैनन् र टीका पनि लगाउँदैन । प्राचिनकालदेखि नै यहाँ सिकाली जात्रा मनाईदै आइएको छ ।

स्थानीयहरु सिकाली जात्राका लागि तयारी गरिरहेका छन् । नेवार समुदाय अन्र्तगत डङ्गोल र महर्जनहरुको बसोबास रहेको खोकनामा प्राचिन कालदेखि नै सिकाली जात्रा बनाउने गरेका छन् ।

अहिले स्थानीयहरु जात्रामा व्यवस्त छन् । खोकनाबासीका आराध्यदेव र इष्टदेवका रुपमा खोकनाको मुख्य भागमा रुद्रायणीको मन्दिर रहेको छ । जुन मन्दिरलाई सिद्धिकाली पनि भनिन्छ । रुद्रायणीलाई हिन्दु तथा बौद्धमार्गीले समान रुपमा आदर गर्ने परम्परा रहेको छ ।

परम्परागत नाँच, देवीको पूजा अनि आफन्त भेला भएर भोज खाने, रमाइलो गर्ने सिकाली जात्राको विशेषता हो ।

यसरी गरिन्छ सिकाली जात्रा

खोकनामा परम्परागत जात्रा सञ्चालनका लागि तगु, सलागु र जगु गरी तीनवटा गुठी रहेका छन् । सिद्धिकाली अर्थात सिकाली जात्रा असोजको शुक्ल पक्ष तृतीयाको दिन हुन्छ । यो जात्रा ९ दिनसम्म चल्छ ।

जात्राको सुरुवात अन्र्तगत प्रतिपदाको दिन गुठीका चार–चार जना कुमार केटालाई नुवाई धुवाई गरी गाउँ परिक्रमा गराइन्छ । उनीहरुले खोकनाको सिकाली चौर स्थित मन्दिरमा पूजा गर्छन् । कुमार केटाले हरेक दिन नुहाउने र बेलुका मात्र एक छाक खाना खाने गर्छन् । भात खान पाउँदैनन्, अदुवा चाकु चिउरा, भट्मासलगायत मिसाइएको खाना खुवाउने चलन रहेको स्थानीय हरिराम डङ्गोलले जानकारी दिए ।

मन्दिरका पूजारीलाई थकाली भनिन्छ । थकालीले रुद्रायणी मन्दिरमा हरेक दिन पूजा गर्छन् । सिकाली चौरमा ४ दिसम्म थकालीले पूजा गर्ने चलन छ ।

दोस्रो दिन पनि व्रत बसेका कुमार केटाहरुले रुद्रायणीको पूजा गर्छन् । उनीहरुलाई गुठियारले थकाली अर्थात् पूजारीको घरमा बसोबास गर्ने व्यवस्था मिलाएका हुन्छन् ।

तृतीयाका दिन खोकनाका ३ वटै गुठीका गुठीयारहरू दिनभरि व्रत बस्छन् । त्यस दिन रुद्रायणी स्कूलको छेउ खेतबाट खोकना प्रवेश गर्न गेटछेउमा बली दिइन्छ । पूजा गरेर ३ वटा गुठीको राँगाका बली दिने गरिन्छ । गुठियारहरुले रागाको मासुको छोयला बनाउने र भोज खाने चलन छ । साझ पनि राँगाको मासुकै छोयला बनाएर भोज खाने चलन छ ।

जात्राको चौँथो दिन पनि चार–चार जना कुमार केटाहरूले सिकाली चौरमा गएर पूजा गर्छन् यो दिन पनि प्रत्येक गुठीघर अगाडि राँगा काटिन्छ । गुठीघरमा राँगाको मासु पकाइन्छ र त्यसलाई सिकाली चौरमा लगेर भोज खाने चलन छ । राति गुठीघरमा वीरभद्र घ्याम्पो देउता प्रतिस्थापन गरिन्छ ।

खोकनामा सिकालीको मुख्य जात्रा पाँचौ दिन हुन्छ । यो दिन रुद्रायणी मन्दिरबाट मुर्ति निकालेर खटमा राखिन्छ । खोकनाबासीहरुले घर घरबाट आएर पूजा खटमा राखिएको रुद्रायणीको पूजा गर्छन् । 

साँझ सरकारी तहबाट उपलब्ध गराइएको राँगाको बली दिइन्छ र भोज खाने चलन छ । साँझ पनि खटमा मुर्ति राखेर जात्रा गरिन्छ र मुर्तिलाई पुनः मन्दिरभित्र पहिलेकै ठाउँमा राखिन्छ ।

जात्राको छैटौँ दिन सबै गुठियारहरु सिकाली चौरमा जम्मा भएर रुद्रायणी गुठीका ४६ जवान देउता खलकले देवी नाच नाँच्छन् । वीरभद्र, महाकालीका रूपमा देउता खलकलाई तान्त्रिक विधिबाट निकालिन्छ । उनीहरू सिकाली चौरबाट नाच्दै गाउँ परिक्रमा गर्छन् ।

जात्राका क्रममा विभिन्न गुठीहरुले देवीको मुर्ति झिक्ने र निकाल्ने गर्छन् ।

सप्तमीको दिन कोइलाछीमा देवताको नाँच गरिन्छ । यो दिन गुठियारका ४६ जनाले धार्मिक वस्त्र धारण गरेर नाँच नाच्ने गर्छन् ।

जात्राको आठौं दिन रुद्रायणीको मुर्तिलाई बाहिर निकालेर पूजा गरिन्छ र साँझ पुनः मन्दिरमा प्रतिस्थापन गरिन्छ । नवौँ तथा अन्तिम दिन खोकनाबासीले आ–आफ्नो घरमा पूजा गर्ने र भोज खाने चलन रहेको हरिराम डङ्गोलले बताए ।

यसरी खोकनाबासीले आफ्ना जात्रा सम्पन्न गर्छन् ।

तस्विरहरु : सुवास श्रेष्ठ

कमेन्ट

  1. Oct. 4, 2019, 8:35 p.m. Tilak Shrestha
    Shree Siddhi Kali or Shikali is Shree Bhagawati Devi. It is just another form of Dasain.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...