शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा चोटपटक लाग्न सक्छ, यी औषधि घरमै जोहो गर्नुस्

शनिबार, १८ असोज २०७६, ११ : ४४
शनिबार, १८ असोज २०७६

काठमाडौँ । दसैँ नेपालीहरूको मुख्य पर्व हो । यो समयमा नेपालका सबै सङ्घसंस्था प्रायः बन्द हुन्छन् । यस्तै स्वास्थ्य संस्थामा पनि सीमित जनशक्तिले आलोपालो गरेर नागरिकलाई सेवा प्रदान गरिरहेका हुन्छन् ।

दसैँको समयमा भेटघाट, खानपिन, धेरै रमाइलो गरिने हुँदा दुर्घटना पनि हुने सम्भावना हुन्छ । ठूलै दुर्घटनामा पर्दा अस्पताल जानु नै पर्छ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्यालाई अस्पताल नै नगई घरमै पनि निको पार्न सकिन्छ । दसैँमा लाग्न सक्ने चोटपटक, नागरिकले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा र जोहो गर्नुपर्ने औषधिको बारेमा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलले जानकारी गराएका छन् । 

दसैँ चार्डपर्वमध्येको प्रमुख पर्व हो र धेरै जनसङ्ख्याले मान्दै आइरहेका छन् । दसैँमा सबै जना छुट्टी मनाउने मोडमा हुन्छन् । गाउँघरमा पिङ खेल्ने चलन छ । छुट्टी मनाउन जाँदा, साहासिक खेलहरु खेल्दा, पिङबाट लडेर चोटपटक धेरै लाग्ने हुनसक्छ । मैले ट्रमा सेन्टरमा काम गरेको अनुभव भन्ने हो भने यो समयमा चोटपटकका घटना धेरै पाएको छु । त्यसमा पनि विद्यालय अध्ययन गर्ने उमेरका बालबालिका यस्ता घटनामा बढी पर्ने गरेका छन् ।

अहिले बालबालिकाहरु घरको छतमा बसेर चङ्गा उडाउँछन् । यस्ता क्रियाकलापले दुर्घटनाको सम्भावना अत्यधिक हुन्छ । यो समयमा अभिभावले विशेष ध्यान दिनुपर्छ । बुझ्ने उमेरको बालबालिकाले खाली ठाउँमा चङ्गा उडाउनुपर्छ भन्ने बारे सोच्नु पर्छ ।  

कहिल्यै पिङ्ग नखेलेका व्यक्तिहरू पिङ खेल्दा खस्ने सम्भावना हुन्छ । दसैँको विगतका वर्षको कुरा गर्ने हो भने त्यस्ता खालका घटनाहरु पनि बढी आउने गरका छन् । फुर्सदको समयमा यस्ता विभिन्न घटना हुने सम्भावना हुन्छन् ।

खानेकुरा खाँदा यी कुरामा ध्यान दिनुपर्छ ।

दोस्रो कुरा, खानपानमा विशेषगरी खसी अथवा मासुजन्य परिकार खाने गरिन्छ । मासु धेरै खाँदा अथवा खानाहरुले पेटसम्बन्धी रोग, प्रेसर, सुगर, मधुमेहका रोगीमा झन समस्या बढ्न सक्छ ।

यो समयमा सधैँ खाएजस्तो सामान्य खानेकुरा भन्दा प्रोटिनयुक्त खानेकुरा, मिठाइ बढी खाने चलन छ । त्यो खानेकुरा तपाईंको शरीरलाई पहिलाको भन्दा धेरै हुन्छ । जसले गर्दा पेटका समस्या आउँछन् । खसीको मासु खाँदा हामी हार्डजोर्नीका चिकित्सकहरुले युरिक एसिडका समस्या भेट्ने गरेका छौँ । जसले गर्दा खानपानमा विशेष ध्यान दिनुपर्छ । एकै पटक धेरै खानेकुरा खानु हुँदैन, मात्रा मिलाएर मात्र खानुपर्छ ।

चाडपर्वको समयमा मध्यपान (अल्कोहल) को पनि धेरै प्रयोग हुन्छ । मध्यपानले त्यसै पनि शरीरलाई असर गर्छ नै सँगै सामाजिक समस्या, कुटपिटका घटनाहरु पनि हुनेगर्छन् । त्यसैले चाडपर्वमा सावधानीपूर्वक रमाइलो गर्नुपर्छ ।

यो समयमा खाने कुरामा मासुको बढी प्रयोग हुन्छ । यस्ता खानासँगै फलफूल, सलाद, सगसब्जी, मूला, काँक्रो, जागरजस्ता खाने कुराहरु खानुपर्छ, जसले पाचन प्रणालीमा सहयोग गर्छ र शरीरमा प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ ।

औषधिको जोहो गर्नुस्

चाडपर्वको समयमा पेटको समस्या बढी आउँछन् । दसैँको समयमा मासु पनि धेरै दिनलाई स्टोर गरेर राख्ने गरिन्छ । सबैको घरमा फ्रिज हुँदैन तर पनि हामी आफ्नै तरिकाले मासु राखिरहेका हुन्छौँ । स्टोर गरेर राखेको मासुबाट उत्पन्न हुने किटाणुले एकदमै नराम्रो खालको फुड पोइजनिङ हुन सक्छ । त्यसैले स्वास्थ्यको हिसाबले हेर्ने हो भने सकेसम्म बासी तथा गन्ध आएका खानेकुरा नखानु नै राम्रो हुन्छ ।

यस्ता खानाले वान्ता, झाडापखाला जस्ता समस्या आउन सक्छन् । साथै चिल्लोको मात्रा बढी भए पेट पोल्ने सामान्य भाषामा भन्नुपर्दा ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) जस्ता समस्या देखिन सक्छन् । त्यसैले ग्यास्ट्राइटिस घटाउने औषधिको जोहो गर्दा राम्रो हुन्छ ।

हेर्दा सामान्य लाग्छ तर जीवन बचाउने औषधि हो जीवनजल । वान्ता, झाडापखाला लागेको बेला जीवनजल  प्रयोग गर्न सकिन्छ । साथै सिटामोल जस्ता सामान्य औषधि पनि राख्न सकिन्छ ।

त्योभन्दा पनि जटिल खालका समस्या आएको खण्डमा अस्पताल अथवा स्वास्थ्य संस्था जाँदा राम्रो हुन्छ ।

तर दसैँको समयमा स्वास्थ्य संस्थामा पनि पालो मिलाएर केही स्वास्थ्यकर्मी त बसेका हुन्छौँ तर सबै खालका विज्ञ चिकित्सक उपलब्ध नहुन पनि सक्छन् । त्यसैले प्राथमिक उपचार, इमर्जेन्सी बाहेकका सेवाहरु बन्द हुन्छ ।

दसैँको ४, ५ दिन ठूला समस्या आएको खण्डमा व्यवस्थापन गर्न गाह्रो पनि हुन्छ । यो हामीले भोगेको समस्या हो । त्यसैले नागरिकले आफू ठूलो दुर्घटना अथवा जटिल रोग लागेको समयमा आफूलाई समस्या हुन सक्छ भन्ने सोचेर चाडपर्व मनाउनु सबैका लागि राम्रो कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप