शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कुकिङ मञ्चमा जजको रुपमा उपस्थित भइसकेका नेपाली सेफ, सन्तोष सुवेदी केसी

शनिबार, १८ असोज २०७६, १३ : १४
शनिबार, १८ असोज २०७६

कुकिङ क्षेत्रमा चिरपरिचित नाम हो, सन्तोष सुबेदी केसी । सन् २००२ मा दुबईबाट आफ्नो कुकिङ करियर सुरु गरेका उनको यो यात्रा अहिले नेपालमा केन्द्रीत छ । सन् २०१६ मा नेपाल फर्किएपछि मुलुककै अग्रणी पाँचतारे होटल डेल अन्नपूर्णमा तीन वर्ष काम गरे, त्यसपछि ६ महिनाको याक एण्ड यतिको आबद्धतापछि उनी अहिले फेयरफिल्ड बाई म्यारियोट काठमाडौंमा हेडसेफको रुपमा कार्यरत छन् ।

कुकिङप्रतिको उनको रुची बाल्यकालदेखि नै रह्यो । ७–८ वर्षमा स्कूलबाट फर्किएपछि उनी आफैंले खाजा बनाउने गर्थे । त्यतिबेला नै उनलाई ढकनी, फ्राइड राइस बनाउन आउँथ्यो । खाजा यति मिठो हुन्थ्यो कि उनले गर्दा बुवाले आमालाई स्याबासी दिने तर उनी भने ‘मैले बनाएको हो’ भनेर दंग पर्दथे । बाल्यकालका ती दृश्य उनको मानस्पटलमा त्यति सपाट त छैनन् तर आमाले बारम्बार ती कुराहरु दोहोराइराख्दा उनलाई कम्ता खुसी लाग्दैन ।

छोराको पाककलाको उत्कृष्ट खुबी देखेर एकदिन बुवाले उनलाई भने, ‘किन कुकिङमा नै करियर बनाउँदैनस् ?’ होटल डेल अन्नपूर्णका कर्मचारी उनका बुवाले सायद आफ्नो होटलका सेफ साथीहरुले नाम र दाम दुबै कमाएको देखेका थिए र त छोरालाई पनि यसैमा केन्द्रीत हुन सुझाए । कुकिङ उनको प्यासन थियो तर करियर नै बनाउने सोचेका थिएनन् । तर बुवाको सल्लाहपछि उनले मनमनै गमे र यसैलाई आत्मसाथ गर्ने निर्णय गरे ।

‘मैले हुन्छ भनेपछि बुवाले अन्नपूर्ण होटलका थुप्रै सेफ साथीहरुसँग कुरा गर्नुभएछ । एकजना सेफले आफ्नो कुकिङ इन्स्टिच्युटमा भर्ना गराइदिन भन्नुभएछ । हामीले त्यस्तै गर्‍यौं ।’

हुन त उनले एक दशक लामो समयसम्म विदेशमै बसेर कुकिङ पेसा अघि बढाए तर जता पनि गए, नेपाली कुजिनलाई बढी प्राथमिकता दिए । उनले भने, ‘दुबईमा हुँदा पनि नेपालीपन झल्कने आफ्नो सिग्नेचर डिशहरु राख्ने गर्थेँ । जहाँ काम गर्छु, त्यहाँ मेरो सिग्नेचर डिश त हुन्छ नै । ’

नेपालमा ‘होटल तथा रेष्टुरेन्ट’ कल्चर सुरु भएकोमा उनी दङ्ग छन् । होटलमा गएर नयाँ नयाँ खानेकुरा चाख्न चाहने व्यक्तिहरुले गर्दा नै आफ्नो पाककलाको परिधी थप फराकिलो हुनेमा उनी विश्वास राख्छन् ।

तर रेष्टुरेन्टमा गएर पूरा मेन्यु हेर्ने र अन्तिममा मोःमो, चाउमिन अर्डर गर्ने नेपालीहरुलाई उनी यसबाट माथि उठ्न सल्लाह दिन्छन् । ‘हामीले रेष्टुरेन्ट वा होटलमा जाँदा नयाँ कुरा केही देख्यौं भने, त्यो ट्राई गर्ने, त्यसबारे सोध्ने गर्नुपर्छ । यदि सर्भ गर्ने व्यक्तिले खानेकुराको विवरण दिन सकेनन् भने  सेफलाई नै बोलाउन लगाउने र खानाबारे सोध्न सक्नुहुन्छ । कस्तो खाना हो, कस्तो स्वाद हुन्छ भनेर जानकारी लिएपछि अर्डर गर्न सक्नुहुन्छ ।’

हुन त सन्तोषले आफ्नो पाककलाको जादुले नेपालमा मात्रै नभई विदेशमा पनि उत्तिकै प्रशंसक बटुल्न सफल भइसकेका छन् । उनी अन्तर्राष्ट्रिय कुकिङ मञ्चमा जजको रुपमा उपस्थित भएका नेपाली सेफ हुन् । यो मौका कसरी जुर्‍यो ? मेरो प्रश्नको जवाफमा उनले भने, ‘कुकिङको सिलसिलामा याक एण्ड यतिमा बंगलादेश फुड फेस्टिबल गर्ने मौका पाएको थिएँ । बंगलादेशबाट उमा मस्तफा भन्ने सेफ आउनुभएको थियो । उहाँसँग नजिकसँग काम गरेपछि उहाँले मेरो प्लानिङहरु हेर्नुभयो । त्यसपछि उहाँले मैले केही अवसर पाउनुपर्छ भन्ने सोच राखेर आफ्नो मिडियासँग पनि कुरा गराउनुभयो । मिडियाले पनि निकै खुसी भएर मलाई एउटा इन्भिटेशन पठाउनुभयो । र त्यहाँको जनमानसमा चर्चित सुपर सेफ २०१९ को शीर्ष ६ मा गेस्ट जज बन्ने मौका पाएँ ।’

त्यहाँ उनले बंगलादेशी सेफलाई नेपाली खाना बनाउन सिकाए । गुन्द्रक बनाउने तरिका मात्र सिकाएनन् हाल्ने तरिकासमेत सुझाए । साथै, मुलाको, आलुको अचार बनाउने विधि पनि सिकाए । मोःमाबारे साधारण जानकारी भएका त्यहाँका सेफलाई मोःमोमा गोलभेँडाको अचार राखेर सर्भ गर्न सिकाए । उनले त्यहाँ गएर सिकाएनन् मात्रै माछाका थुप्रै आइटम सिकेर पनि आए । उनी कार्यरत फेयरफिल्ड बाई म्यारियोट काठमाडौंमा ९९९ ++ बुफे चलिरहेको छ, त्यसमा कहिलेकाँही उपयोगसमेत गर्छन् ।

हुन त फेयरफिल्ड बाई म्यारियोट काठमाडौंमा धेरैजसो विदेशी पाहुनाको आगमन हुन्छ तर यो दसैँमा उनी आधा बुफे नेपाली र आधा विदेशी डिश राख्ने योजनामा छन्  । दसैँभरी लञ्च र डिनर दुबैमा विदेशीका साथै नेपाली खाना पनि पस्किने सोचमा छन् उनी । यसो गरेर उनी नेपाली खानालाई विदेशीमाझ पनि परिचित गराउन चाहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप