बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँघरमा फूलपाती भित्र्याइयो (फोटो/भिडियो)

शनिबार, १८ असोज २०७६, १७ : ४८
शनिबार, १८ असोज २०७६

वडादसैँको सातौँ दिन काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ ।

गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौँको दसैँ घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए ।

परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ । यसको महत्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फुलपाती ल्याउने प्रचलन सुरु भएको हो । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ । 

शनिबार नै काडमाडौँको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ ।

काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्वारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।

नेपाली सेनाले दसैँको फुलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्ष बढाइ गर्दछ । यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप