शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीहरुको दसैँ : चिनियाँ राष्ट्रपतिको स्वागतको तयारीदेखि मतदाता रिझाउनेसम्म

सोमबार, २० असोज २०७६, १५ : २४
सोमबार, २० असोज २०७६

प्रदीपकुमार ज्ञवाली, मन्त्री पराराष्ट्र

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई यसवर्षको दसैँ मनाउन फूर्सद छैन । दशैको समय उनी काठमाडौंमै हुनेछन् । ज्ञवालीको दसैँको अवधी सरकारी काममै व्यतित हुने भएको छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको तयारी, कार्तिकको दोश्रो साता अजरबैजानमा हुने असंग्न मुलुकहरुको शिखर सम्मेलनमा प्रधानमन्त्रको सहभागिता, कार्तिकको पहिलो हप्ता जापान र म्यान्मारमा हुने राष्ट्रपतिको भ्रमणका लागि कुटनीतिक तयारीमा उनी व्यस्त हुनेछन् । रातोपाटीसँगको कुराकानीमा उनले भने–‘मेरो यसबर्षको दशै उच्चस्तीय भ्रमणको तयारीका लागि मन्त्रालयमै बित्छ, बचेको समय आफन्त साथीभाईलाई दिन्छु, बढी समय सरकारी कामकाजमै व्यस्त हुन्छु ।’

मन्त्री ज्ञवालीको अघिल्लो बर्षको दशै अध्ययन तथा लेखन, घुमफिर, निर्वाचन क्षेत्रमा मतदाता भेटघाटमा समय बित्ने गथ्र्यो ।

गोकर्ण विष्ट, मन्त्री, श्रम तथा रोजगार

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट यसबर्ष पनि दशै मनाउँन गुल्मी जाँदैछन् । उनको जन्मघर गुल्मीको इस्मा गाँउपालिका हो । गाँउमा उनले ९० बर्षकी आमाको हातको टिका लगाउँनेछन् । उनको छुट्टी भिन्न भएका समेत गरेर बिस पच्चिस जनाको परिवार छ । गाउँमा परिवार, आफन्त, साथीभाई मतदाता भेट्ने उनको योजना छ । अष्टमीको दिन घर जान लागेका मन्त्री विष्ट गाउँमा तीन चार दिन बस्नेछन् । पहिले पहिले दशैमा मासु धेरै खाने गरेका उनी अचेल भने कम खान्छन् । रमाइलोको लागि तास खेल्ने चलन छैन । सानो उमेरमा पिङ खेल्ने गरेपनि उमेर अवस्थाका कारण अहिले पिङ नखेल्ने उनले बताए ।

थममाया थापा, मन्त्री महिला तथा बालबालिका तथा समाजकल्याण

महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगर यो बर्षको दशै काठमाडौंमा मनाउदैछिन् । अघिल्लो वर्ष दसैँका बेला विदेश यात्रामा रहेकी उनले यो बर्ष छोरी ज्वाँई नातिनीसँग दसैँ मनाउदैंछिन् ।  उनका श्रीमान र सासु भने सिरहामा छन् । टिकापछि छोरीज्वाँई पनि आफ्नो घर म्याग्दी जाँदैछन् । अघिपछिको समय व्यस्त दैनिकी हुने भएकोले दसैँका बेला नातिनीसँग धेरै समय बिताउने उनले बताइन् ।

दसैँको पञ्चमीको दिन म्याग्दीको घोडेपानीबाट काठमाडौं फर्किएकी उनले त्यहाँ शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएकी थिइन् । म्याग्दीको मना नामक संस्थाको वार्षिक अधिवेशनमा सहभागीता जनाउँदै बाढी पीडितलाई राहत वितरण गरेर काठमाडौं आएको उनले बताइन् ।

मोहम्मद इस्तियाक राई, मन्त्री शहरी विकास

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई दशै विदामा नेपालगञ्जमा छन् । दशैको ५ दिन बिदामा उनी शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त हुँदैछन् । आफ्नो निर्वाचन क्षेत्रमा गएर मतादातहरुसँग भेटघाट गर्ने, दिनभर कार्यकर्ता, मतादातालाई भेट्ने र साँझको समय परिवारका लागि दिने उनले बताए ।

दसैँका बेला कसैले लगाइदिएमा टिका जमारा लगाउने बताउँदै हिन्दुहरुको पर्वमा खुसी साटासाट गर्ने बताए । उनले भने–‘हाम्रो देश विविधायुक्त, बहुभाषिक, बहुधार्मिक मुलुक हो । परापूर्वकालदैखि एउटा समुदायको खुसीयालीमा अर्को समुदायपनि सहभागी हुने चलन छ । मुस्लिमको इदमा हिन्दूहरु पनि गला मिलाउँन र सेवइ खान आउँछन् भने हामी पनि दशै तिहारका मिठाई खान सहभागी हुन्छौँ ।’ अहिले पनि आफ्नो निर्वाचन क्षेत्रको वडा वडामा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइरहेको उलने बताए ।

गोकुल प्रसाद बास्कोटा, मन्त्री, सूचना प्रविधी तथा सञ्चारमन्त्री

सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बास्कोटा ९३ बर्षका पिताको हातबाट टिका जमरा लगाँउदैछन् । टिकाको दिन उनी जन्मघर काभ्रेको मण्डनदेउपुर जाँदैछन् । आमसर्वसधारणले जसरी दसैँ मनाउँछन आफूले पनि त्यसरी नै दसैँ मनाउने उनले बताए । प्रत्यके हप्तामा एक दिन वा बिदाको समयमा निर्वाचन क्षेत्रमा गइरहने भएकोले कार्यकर्ता वा मतादाता भेटघाटका लागि भनेर दशैको समय छुट्याउन आवश्यक नरहेको उनले बताए । आफू जुनसुकै बेला कार्यकर्ताको बिचमा रहेकोले दशैको बेला आफन्त र पारिवारिक भेटघाट अलि बढी हुने उनले बताए । बाल्यकालमा दशैका बेला घर नजिकै रहेको बरको बोटमा पिङ खेल्ने गरेको स्मरण गर्दै अहिले भने पिङ नखेल्ने बताए । 

यो वर्षको दसैँमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सफल बनाउन काम गर्नुपर्ने भएकोले मन्त्री बास्कोटाको धेरै समय सरकारी काममा बित्ने भएको छ । आफ्नो जिम्मेवारीभित्र रहेको काम पूरा गर्न लागिरहेको बताउदै उनले यो बर्षको दसैँमा पहिलेभन्दा बढी व्यस्थ भएको बताए ।

गिरिराजमणी पोखरेल, मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधी

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलको दशै भने अरु मन्त्रीको भन्दा फरक छ । हरेक बर्ष उनी दसैँका बेला आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा रहेको आधारशीलामा जान्छन् । यसबर्ष पनि उनी आधारशिलामा पुगेका छन् । आधारशिला कम्युन जस्तै आवास हो जहाँ ४० जना कम्युनिष्ट पार्टीमा सर्मपितहरु सामुहिक रुपमा एउटै भान्छामा खाने, सामुहिक रुपमा आम्दानी गर्ने गर्छन् । १६ बर्षअघि स्थापना गरेको आधारशिलामा दशैका बेला भने वैचारिक प्रशिक्षणको कार्यक्रम गरिन्छ ।

यसबर्षको बैचारिक प्रशिक्षणका लागि नारायणकाजी श्रेष्ठ प्रकाश, सांस्कृतिक विषयमा प्रशिक्षण दिन हरिगोविन्द लुईटेल जाँदैछन् भने अन्य वक्ताको पनि तय गर्दै गरेको मन्त्री पोखरेलले जानकारी दिए । 

आधारशिलामा स्थापनादेखि नै सहयोग गर्ने नेता कार्यकर्तालाई बोलाउने, सबैजना सहभागी मिठो मसिनो पकाएर खाने, वैचारिक प्रशिक्षण चलाउने, लेखपढ गर्ने, चलचित्र हेर्ने काम हुने उनको भनाई छ ।

आधारशीलामा दशैको बेला पिङ हाल्ने चलन, बलि दिने, टिका लगाउने चलन छैन तर टिका लगाउन चाहनेहरुले भने टिका लगाउन सक्नेछन् । आधारशिलामा दशैको कार्यक्रम सकेर टिकाको भोलीपल्ट अक्टोबर ९ र १० मा हुने सार्क स्तरीय शिक्षामन्त्रीको सम्मेलनमा भाग लिन माल्दिभ्स जाँदैछन् ।

पद्मा अर्याल, मन्त्री, भूमि व्यवस्था तथा सहकारी

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल दशैको धेरै समय आफ्ना कार्यकर्ता तथा मतदातासँग बिताउँदैछिन् । उनी अहिले स्याङ्जामा शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त रहेकी छिन् । निर्वाचन क्षेत्रमा १६ गतेदेखि २० गतेसम्म ५ दिन मतदाता भेटघाट गर्ने, २१ गते टिकाको दिन आफन्त, परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताइन् । जिल्लामा भएका भौतिक पूर्वाधारका संरचनाको उद्घाटन कार्यक्रम पनि रहेको छ ।

आमा बितेको १ बर्ष नभएका कारण यसबर्ष उनले टिका लगाउँदिनन् । उनकी छोरी पनि अष्ट्रेलियाबाट भर्खरै घर आएकी छिन् । घरमा अरुले टिका लगाउन मिल्ने भएपनि आफूले नलगाउने उनले बताइन् । टिकाको भोलीपल्ट काठमाडौं फर्किने उनको योजना छ ।

योगेश भट्टराई, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस बर्षको दशै काठमाडौंमै मनाउदैछन् । उनले ९४ वर्षकी आमाको हातबाट टिका लगाउँदैछन् । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणका कारण उनको यो बर्षको दशै सरकारी काम गर्दै मनाउने उनले बताए । आमा, दाजु भाउजु, ससुराली परिवारका केही सदस्य लगायतका आफन्त काठमाडौंमै भएका कारण आफन्तको हातको टिका थाप्ने उनले बताए ।

दशैैंका बेला तास खेल्ने, रक्सि खाने चलन नभएको बताउदै उनले ६५ सालदेखि रक्सि खान पूर्णरुपमा छोडेको बताए । दशैका बेला रमाइलो गर्दै छुट्टीका बेला आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक, सांस्कृतिक सम्पदास्थलको घुमफिर गर्दै आनन्द लिन पनि मन्त्री भट्टराईले आग्रह गरेका छन् । 

रातोपाटीसँगको कुराकानीमा आसन्न चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि दशैका बेला भ्रमणलाई व्यवस्थित बनाउँन विमानस्थलको व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनको जिम्मेवारी पूरा गरिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कसर नराख्न निर्देशन दिएको स्मरण गर्दै उनले आफ्नो जिम्मेवारीभित्र रहेका काम पूरा गर्न मन्त्रालय मातहतका निकायहरुलाई जिम्मेवारी दिएर परिचलन गरेको जानकारी दिए । आवश्यक परेको बेला आफूले प्रधानमन्त्रीसँग समन्वय गर्ने मन्त्री भट्टराईले जानकारी दिए ।

डा.युवराज खतिवडा, अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले सामान्य रुपमा दसैँ मनाउँदैछन् । उनी सहित उनको परिवार साकाहारी भएकोले उनको घरमा बलि दिने, मासु खाने तथा अल्कोहल खाने चलन छैन । दसैँका बेला उनी आफन्तहरुसँग भेटघाट गर्नुका साथै घरायसी काममा व्यस्त हुन्छन् । बाँकी रहेका अध्ययन तथा लेखनका लागि उनले दसैँको समय छुट्याउने गरेका छन् । धार्मिक स्वभाव भएका खतिवडाले केही मन्दिरहरुमा गएर पनि पूजा पाठ गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप