शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षौँ बित्दा पनि बनेन मोटर चल्ने पुल

बुधबार, २२ असोज २०७६, १२ : ०७
बुधबार, २२ असोज २०७६

 डोटी – तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ ।

निर्माण  शुरु गरिएको वर्षौंँ बितिसक्दा पनि सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न   शिखरनगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २० गते सम्झौता भएको थियो । 

उक्त सम्झौतानुसार २०७४ असार २० गतेभित्र पुलनिर्माण भइसक्नुपर्ने भए पनि  निर्माण  १० प्रतिशत पनि भएको छैन । सुस्त गतिमा हुँदैआएको निर्माण पूर्ण रुपमा रोकिएको छ ।

मूल्य अभिवृद्धिकरसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव ४०० मिटर लामो उक्त आरसिसीपुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँगसम्झौता भएको हो । 

पुल निर्माण हुने समयावधि समाप्त भएर पन्ध्र महिना बितिसक्दा पनि पुलका दायाँबायाँ पिल्लर उठाइएको छैन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिका वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन ।

नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण शुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताए । उनले भने, “पुल नै बनेको छैन  कहाँबाट लगेर गाडी चलाउनू ? काटेको सडकमा गाडी नचल्दा दिनहँुँ बिग्रिन र भत्किन थालेको छ ।”

सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीले पुलको जगमै समस्या भएको जानकारी दिए । उनका अनुसार पिल्लरको जगमा चट्टान भेटिएपछि डिएमसी मेशिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो ।

डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताए ।

उनले भने, “तत्काल काम शुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौंँ । तोकिएको अवधिमा काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।” 

लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि शुरु गराएपनि निर्माता कम्पनीले लापरवाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेशिन आइसकेकाले अब छिट्टै काम शुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “फाउण्डेशनको काममा मात्रै समस्या देखिएको हो । 

फाउण्डेशनको काम सकियो भने अरु काम सजिलैसँग अगाडी बढ्छ ।” शुरुमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँनयाँ बहाना खोज्न थालेको स्थानीयवासी प्रेमबहादुर बलायरको आरोप छ ।

जगमा चट्टान भेटिएको र उक्त चट्टान डिएमसी मेशिनले काट्न नसकेपछि बोर पाइलिङ्ग मेशिन ल्याउनुपर्ने भन्दै केही समय निर्माण कम्पनीले पुलको काम लम्ब्यायो । बोर पाइलिङ्ग मेशिन नेपालमा छैन । 

फेरि थप समय माग्यो । बोर पाइलिङ्ग मेशिन नेपाल आइसक्यो । अहिले मेशिन ठूलो भएका कारण निर्माणस्थलसम्म ल्याउन समस्या भइरहेको बुझिएको छ । पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ला भन्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । 

“कहिले के भन्छन् कहिले के भन्छन्, यिनीहरुका बहाना मात्रै हुन्,” शिखर नगरपालिका वडा नं १० का  इन्द्रबहादुर बलायरले भने, “वर्षाद् शुरु भएर नदीमा पानी बढिसक्यो, अब के काम होला र, बहाना धेरै भए, काम भएन ।” 

यस्तै आशङ्का शिखर  ११ कै शेरबहादुर बोहरा पनि व्यक्त गर्छन् । उनी भन्छन्, “यो सबै बहाना मात्रै हो । काम शुरु हुन्छ भन्ने त धेरै पटक सुन्यौंँ तर काम शुरु कहिल्यै हुँदैन ।”

पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर २०७५ पुस मसान्तसम्मका लागि बढाइएको थियो । पुनः म्याद थपिए पनि काम शुरु हुन सकेको छैन । यति हुँदा पनि ठेकेदार  कम्पनीलाई कारवाही भने भएको छैन । 

निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । यही कारण सम्बन्धित निकायले कानमा तेल हालेर बसेको स्थानीयवासीको आरोप छ । 

सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लामा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजना अलपत्र परेका खबर यस अघि पनि आएका थिए । कम्पनीमाथि कुनै कारवाही नहुँदा बाँकी काम लथालिङ्ग बनेको स्थानीयवासी बताउँछन् । 

अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका बासिन्दा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा छिमेकी जिल्ला डडेल्धुराको बाटो प्रयोग गर्न बाध्य भएको शिखर नगरपालिकाका  योगेन्द्रबहादुर मल्लले बताए । 

उनले भने, “ठेकेदारले पुल नबनाउँदा १० मिनेटको बाटोमा एक घण्टा लगाउनुपरेको छ, जनताका पीडा कसले बुझ्ने ?”

 सेतीमा पानीको बहाब बढेकाले पुलको अन्य काममा खटिएका श्रमिक पनि आआफ्नो घर गएको स्थानीयवासीले जानकारी दिएका छन् । 
(((

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप