केन्द्रीय संस्करण

दुर्गा पूजाको परम्परा र मिथिलाञ्चल

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline0

दुर्गा पूजाको परम्परा कहिलेबाट शुरु भयो भन्न गाह्रो छ । परापूर्वकालमै बनेका मुद्राहरुमा दुर्गा देवीको चित्र भेटिन्छ । शुक्र शासक अयसको पालामा बनेका मुद्रामा देवी गजलक्ष्मीको चित्रअंकित छ । गुप्तकालिन मुद्राहरुमा पनि देवीको चित्र पाइन्छ । चन्द्रगुप्त प्रथमको समय ३०५ देखि ३२५ सम्म मानिन्छ । उनको पालाका मुद्राहरुमा सिंहवाहिनी देवी दुर्गाको चित्रअंकित छ । चन्द्रगुप्त विक्रमादित्य समयको उदय गिरी गुफामा महिषासुर मर्दिनीको प्रतिमा उपलब्ध छ ।  कुशान राजाहरु (१०० ईस २०० ई)का मुद्रामा पनि देवी दुर्गाको सिंहवाहिनी आकृति पाइन्छ ।

दक्षिण भारतका चोल राजाहरुका समयका प्रतिमाहरु पनि अद्भुत छन् । एलोराको गुफामा सप्तमातृका, पार्वती र महिषासुर मर्दिनीका प्रतिमाहरु देख्न सकिन्छ ।

मोहन जोडदो र हरप्पाको उत्खनन्मा ‘योनी’को आकारमा जति मूर्तिहरु छन, त्यस आधारमा भन्न सकिन्छ कि ताम्रयुगमा पनि शक्ति उपाशनाको  परम्परा रहेको थियो ।  सर जान मार्शलले पनि यो कुराको पुष्टि गरेका छन् । (मार्शल लिखित मोहन जोडदो एण्ड इट्स सिभिलाइजेशन पृष्ठ ५२–५५)

किराँत कालदेखि विजय र नरसंहारको आडमा मनाइने विजया दशमीले त्यस समयमा ऐतिहाँसिक नवरुप लिएको वर्णन एस ए शास्त्री गर्दछन्– अशोक २३३९ वर्ष पहिले बौद्ध धर्म ग्रहण गरेर म शस्त्रद्वारा हिंसात्मक विजय प्राप्त नगरी धर्म प्रचारद्वारा अहिंसात्मक विजय गर्नेछु भनि (त्यसै दिन) प्रतिज्ञा गरेका थिए । त्यसैले यसको नाँउ धर्र्म विजयादशमी भयो ।’

(बौद्ध धर्ममा जयमंगल कार्यपद्धति, पृ २१) यसरी अभिछिन्न रुपमा देवी दुर्गाको पूजा अर्चना गर्ने  परम्परा हजारौ वर्षदेखि हुदै आएको पाइन्छ ।

मिथिलाञ्चलमा दुर्गा पूजा

नेपालमा दुर्गा पूजा र दसैंको विशिष्ट महत्व छ । लामो सरकारी बिदादेखि एक महिनाको तलबसमेत दसैं खर्चका  नाममा दिने चलन छ । खान, पिउन, लगाउन जस्ता आत्मसुख र मनोरञ्जनका सम्पूर्ण प्रक्रिया यो पर्वमा अपनाइन्छ । प्रायः विश्वका समस्त हिन्दुहरु देवीदुर्गाको अराधना र पूजा गर्छन् ।

मिथिलाञ्चलमा पनि विशिष्ट महत्व र परम्पराका रुपमा दुर्गा पूजा गरिन्छ । निजी र सामूहिक रुपमा मनाइने यो पूजामा आफ्नो घरमा दुर्गास्थापना वा फोटो राखेर विधिपूर्वक दुर्गापाठ गर्ने गरिन्छ । आफ्ना घर परिवार र छोराछोरीको कल्याणका लागि घरका मुली व्यक्तिले अनुष्ठान गर्छन् । यसरी अनुष्ठान गर्दा पुरोहितलाई समेत बोलाएर विधिपूर्वक गराउने चलन छ ।

सामुहिक दुर्गापूजा गर्दा गाउँका भद्रभलाद्मी बसेर यो पूजाको निर्णय गर्ने गर्दछन् र सोही अनुसार गरिन्छ ।  हिमाल, पहाड र तराइका ग्रामीण क्षेत्रसहित जनकपुरधामका प्रसिद्ध राजदेवी मन्दिर, मधुवनी (विहार)का प्रसिद्ध दुर्गास्थान, सप्तरीको प्रसिद्ध सखरा भगवती आदि शक्ति पीठहरुमा दुर्गामाताको सामुहिक पुजाआरधना गर्ने चलन पनि छ ।

सामुहिक पूजा गर्न आश्विन शुक्ल प्रतिपदाका दिन मूर्ति स्थापना गरिन्छ । जुन मूर्तिमा पहिले आँखा राखिएको हुदैन । सप्तमी पूजा गरेपछि मात्र मुर्तिमा आँखा राख्ने गरिन्छ । द्वितिया तिथिमा रेमन्त, तृतियामा सरस्वती, चतुर्थीमा गणेश, पञ्चमीमा कालिका, षष्ठिमा गज(इन्द्र) भगवानको पूजा गर्ने गरिन्छ । त्यस दिन बेलुका बाजा गाजासहित पहिले नै  निर्धारण गरिएको बेलको रुख नजिक सामुहिक गीतसहित भजन गाउँदै भक्तजनहरु जाने गर्दछन् । यसबेला सर्वप्रथम रुखको पूजा गरिन्छ । रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बाँधेर बेलको निमन्त्रणा दिने गरिन्छ । त्यस पछि दोस्रो दिन प्रातःकालमा बाजागाजा र नाँचगान गर्दै बेल तोडने र जोडी वेल ल्याउन पालकी लगिन्छ । शिव, पार्वती भनेर विश्वास गरिने दुबै बेललाई आमन्त्रण दिने हतियारले एक्कै चोटी काटिन्छ । त्यपछि वेललाई पालकीमा राखेर पूजास्थलसम्म लगिन्छ । पछि दुवैलाई प्रतिमा घरमा राखिन्छ । अष्टमी प्रारम्भ भएपछि उक्त  बेललाई डन्डीमार्फत दुर्गाको आँखा बनाइन्छ । अर्थात् पूर्ण आकार र रुपमा दुर्गाको जन्म हुन्छ । अष्टमीमा बलि प्रदान गरिने गरिन्छ । पहिला कुम्हरको बलि दिने गरिन्छ र त्यसकोपछि मात्र खसीको बलि दिने गरिन्छ ।

षष्ठिपछि सप्तमी दिन नव पात्रको पूजा गरिन्छ । भगवतीको पूजाको साथै बाहनको पनि पूजा हुन्छ । अष्टमीदेखि दशमीसम्म आफुले कबुल गरेअनुसारको पूजा सामग्री चढाएर पूजा अर्चना गर्ने परम्परा छ । घटस्थापनादेखि दशमीसम्म निरन्तर दीप प्रजज्वलन गरेर दुर्गा पाठ गर्ने गरिन्छ । घटस्थापना गर्ने समयमा कलशको तलतिर जौँ उमार्न राखिएको हुन्छ जुन ठूलो भइसकेको हुन्छ र त्यसलाई जयन्ती भन्ने गरिन्छ । पण्डितजीहरुद्वारा जय मंगलाकाली भ्रदकाली कपालनी, दुर्गाक्षमा शिवाधात्री स्वाहा स्वधा नमस्तुते ...’ मन्त्रको उच्चारण गरेर जयन्ती  काटेर प्रसादका रुपमा वितरण गरिन्छ ।

दुर्गापूजाको लोक परम्परा

दुर्गा पूजा मिथिलाञ्चलमा अलिक छुट्टै किसिमले पनि मनाउने गरिन्छ । अन्य बैद्धिक विधि पूर्वक गरिने पूजा अर्चनाका साथै लोक परम्परा अनुसार ग्रामीण महिलाद्वारा दुर्गा पूजा मनाउने अर्को बेग्लै आकर्षक रीतिरिवाज यस क्षेत्रमा विद्यमान छ । जसलाई झिझिया भनिन्छ । ग्रामीण महिलाहरुले मनाउने यो परम्परागत स्तुति नृत्य स्वयं आफूमा रोमाञ्चकारी र आकर्षक हुने गर्दछ । झिझिया मिथिलाका अधिकांश क्षेत्रमा उल्लासका साथ कलस स्थापना गरेदेखि दशमी तिथिसम्म मनाइन्छ । यसमा ५ देखि १५–२० जना केटीहरुको एउटा टोली हुन्छ जसमध्ये दुई जनालाई विशेष मानेर उनीहरुको टाउकोमा कलश राखिएको हुन्छ । जसमा असंख्य प्वालहरु वनाइएका हुन्छन् । कलशको घाँटीमा राखिएको घटमा आगो राखि त्यसमा समय–समयमा मट्टीतेल थप्ने गरिन्छ । त्यसो गर्दा आगोको ज्वाला दन्किएको हुन्छ ।

तिनै केटीहरुमध्येले कलश लिएर विशेष तालमा नाच्ने गर्छन् । त्यसक्रममा विभिन्न किसिमका गीतहरु गाँउदै गाँउका भलाद्मीहरु घर–घरमा गई ‘झिझिया’को पूर्णाहुतीको लागि चामल पैसा माग्छन् । यसरी मागेका रुपैयाँ र चामलको अन्तिम दिन अर्थात् दशमीका दिन धुम–धामका साथ भोज गर्दै नाँचगान गरेर ‘झिझिया’ विसर्जन गरिन्छ । गाँउमा यस्ता टोली धेरै पनि हुन्छन् ।

यसक्रममा जनकपुरको राम मन्दिरस्थित सुप्रसिद्ध शक्तिपिठ राजदेवी माताको पूजा आकर्षक र अलौकिक ढङ्गले गर्ने गरिन्छ । घटस्थापनादेखि अष्टमीसम्म पूजा अर्चना गर्ने महिला एवं पुरुषहरुको करिब एक किलोमिटर लामोपंक्ति आफैमा रोमाञ्चक हुन्छ । अष्टमी तिथिमा हजारौँ बोकाको बलि दिने चलन छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...