शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्गीतकार सन्तोस श्रेष्ठको नजरमा दसैँका १० पृथक गीत

बुधबार, २२ असोज २०७६, १३ : ०१
बुधबार, २२ असोज २०७६

हामी नेपालीको महान चाड घरआँगनमा प्रवेश गरिसकेको छ । जताततै दसैँको हर्सोल्लास देख्न सकिन्छ । रेडियो, टीभी लगायतका सञ्चार माध्यममा दसैँ गीतले प्राथामिकता पाउन थालेका छन् ।

साङ्गीतिक बजारमा एक महिनाअगाडिबाट सुरु भएको दसैँ लक्षित गीत भित्रिने क्रम अहिले पनि थामिएको छैन । केही दिनयता करिब आधा दर्जन हाराहारीका नयाँ दसैँ गीत बजारमा भित्रिरहेका छन् । यो वर्ष मात्र होइन, अघिल्ला वर्षहरूमा पनि थुप्रै दसैँ गीत बनेका थिए ।

साङ्गीतिक बजारमा विगतदेखि अहिलेसम्म भित्रिएका दसैँ गीतमा विभिन्न भेराइटीका रहेको बताउँछन् सङ्गीतकार सन्तोष श्रेष्ठ । बजारमा भित्रिएका केही हल्काफुल्का छन् भने केही गहन रहेको उनको ठम्याइ छ ।
श्रेष्ठ नेपाली सङ्गीतिक क्षेत्रमा चलेका सङ्गीतकार हुन् । उनका दुई दर्जनभन्दा बढी गीतले नेपाली साङ्गीतिक आकाशमा विभिन्न रेकर्ड कायम गरेका छन् । उनले पनि दसैँको विषयमा केही गीत बनाएका छन् । दसैँका विषयमा बनेको आफूलाई उत्कृष्ट र पृथक लागेका १० दसैँ गीतका बारेमा उनको धारणा यस्तो छ । 
  
दसैँ सम्झेँ तिहार सम्झेँ सम्झेँ अरू चाडहरू 
नाघ्नै गाह्रो भयो मलाई अग्ला अग्ला पहाडहरू’

गीतकार रमेश क्षितिज, सङ्गीतकार भरत लामा र गायक केशव उप्रेतीको त्रिपक्षीय सुन्दर संयोजनले यो गीत साँच्चीकै दसैँ तिहारको परिपूरक भएको महसुस हुन्छ ।
दसैँ हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । अरू समय चारतिर छरिएर बसेका एउटै परिवारका सदस्यहरू दसैँले एकै ठाउँमा जम्मा गराउने कामसमेत गर्छ । त्यति मात्र कहाँ हो र ? आफन्तजनसँग पनि भेट्टाउँछ ।
बाहिर रहेर दसैँ तिहारको समयमा घर फर्किन नपाउँदा वा आफन्तहरूसँग दसैँ तिहार मनाउन नपाउँदा मनभित्रको गुम्सिएको पीडा यो गीतले व्यक्त गरेको छ । गीतकार रमेश क्षितिज आफैमा एउटा राम्रो कवि पनि भएको हुँदा आफ्नो शब्द शिल्पीको कारण यो गीत दसैँ गीतहरूको भीडमा एक पृथक गीत मानिन्छ ।

‘नमुछे आमा दहीमा टीका नछरे जमरा 
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’

 
सङ्गीतकार नारायण रायमाझीको एक अब्बल सिर्जना मानिन्छ यो गीत । लक्ष्मण रायमाझीको शब्द रहेको गीत सुरुवातमा नारायण रायमाझीले स्वर दिनुभएको थियो । पछि गायक कृष्णभक्त राईले स्वर दिनुभयो ।
दसैँ र तिहाइ दुवै पर्वको प्रतिनिधित्व गरेको गीतको रूपमा यसलाई लिइन्छ ।
देशको सुरक्षा कर्ममा खटिएका कारण जीवन समाप्त गर्नुपरेको र दसैँ तिहारको अवसरमा घरमा आउन नपाउँदाको पीडा गीतले ओकलेको छ । देश र जनताको सुरक्षाको कारण दसैँ तिहार मनाउन पाइँदैन भन्ने सन्देश प्रवाह गीतले गरेको छ । गरिबीको रेखामुनि हुर्केको नेपाली समाजको प्रतिनिधित्व गरेको गीत भएको कारण यो दसैँ तिहारको समयमा अत्यन्तै बज्ने गीतमा पनि पर्दछ ।

‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा 
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ 

गोपाल योन्जनको शब्द र सङ्गीतमा नारायण गोपाल र तारादेवीले गाउनुभएको यो गीत पनि दसैँको बारेमा लेखिएको पाइन्छ । विविध कारणले आफू घरभन्दा टाढा रहनुपरेको वा बिछोडिनु परेको र दसैँको अवसरमा घरमा वा आफ्नो रमाइलो गाउँमा फर्किएर रमाउने प्रसङ्ग यस गीतको माध्यमबाट प्रस्ट्याउन खोजिएको छ । 
आधुनिक शैलीमा तयार पारिएको यो गीतमा शब्द, सङ्गीत र गायनको मिश्रण उच्च कोटीको भएकाले सर्वप्रिय पनि छ । दसैँको वरिपरि अत्यन्तै धेरै बज्ने गीतमा यो पनि एक हो ।


‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा 
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा’ 

भूपि शेरचनको शब्द, गोपाल योन्जनको सङ्गीत र नारायण गोपालको स्वर रहेकोे यो गीत पनि चाड पर्वका बारेमा जोडिएर आएको पाइन्छ । गीतको पहिलो अन्तराले तीजका बारेमा माइती चेलीको कुरा उठाउन खोजेको पाइन्छ । जब तेस्रो वा अन्तिम अन्तरा सुरुवात हुन्छ त्यहाँ तिहारको प्रसङ्ग जोडिएको पाइन्छ । 
भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला 

जब यी लाइनहरू अगाडि बढ्छन् त्यहाँ तिहारमा आफ्ना दिदीबहिनी र दाजुभाइ ठाढा भएको भाइटीका मनाउन नपाएको कुरा सम्झना गराउँछ । सुन्दा सामान्य लागे पनि काव्यात्मक गीत भएका कारण यसको भावको गहिराइ बुझ्न धेरै गहिरिएर सुन्नुपर्ने हुन्छ । यो गीतमा शब्द, सङ्गीत र स्वरको भयङ्कर चमत्कारको अनुभूति गर्न सकिन्छ ।

‘फर्की चाँडै आऊ दाजु घर 
बुढी आमा रुँदैछिन् धरर 
यो दसैँमा म आइन भने
निष्ठुरीलाई दाइ तिम्ले नभने’

नारायण रायमाझीको सङ्कलन र नारायण रायमाझी र साथीहरूको स्वरमा रहेकोे यो गीत पनि दसैँ तिहारको समयमा अत्यन्तै बज्ने र बाजाइने गीतमा पर्दछ । गरिबी वा आफ्नो बाध्यता विवशताले विदेशिनुपरेको र आफ्ना महत्त्वपूर्ण चाड पर्वमा पारिवारिक रूपमा एक ठाउँमा भेटघाट हुन नपाएको कुरा पीडा गीतमा प्रस्तुत गरिएको छ ।
विदेश गएको छोरालाई बुढी आमा र बहिनीले घरमा फर्किने बाटो हेरेर बसिरहेको अवस्था गीतले बोल्छ । अर्कोतिर विदेशी भूमिमा रहेका दाजुले बहिनीलाई यस पटक दसैँ तिहार मनाउन म जसरी पनि आइपुग्छु भन्ने जानकारी गराएको पाइन्छ । 


‘वर्षै र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान पर्व आगनमा आइपुग्यो’

दसैँ तिहार सम्बन्धी गीतहरूलाई नेपाली चलचित्रमा पनि समावेश गरिएको पाइन्छ । वर्षैर दिनको... भन्ने गीत नेपाली चलचित्र मुग्लानमा समावेश गरिएको छ । लोकनाथ सापकोटाको शब्दमा सुरेश अधिकारीको सङ्गीत यो गीतमा छ । 

उदितनारायण झा, दीपानारायन झा, नारायण लामा र जुना प्रसाईंको स्वर यो गीतमा छ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैँको प्रतिनिधित्व गरेको एक सफल गीतको रूपमा लिएको पाइन्छ । यो गीतको अडियो पक्ष राम्रो हुँदाहुँदै चलचित्रमा समावेश गरिएको कारण भिडियो पनि उत्कृष्ट बनेको छ । दसैँको प्रतिनिधित्व गर्ने यो गीत सुनिरहुँ अनि हेरिरहुँ लाग्दछ । दसैँसम्बन्धी अत्यन्तै रमाइलो र सुन्दर गीतको रूपमा लिन सकिन्छ ।

‘किन आउँछ दसैँ तिहार किन बिदा बार 
फौजीलाई कुन हो दसैँ कुन हो चाड तिहार’

यो गीत विशेष गरी नेपाली सुरक्षाकर्मीहरू जो देशको सुरक्षामा खटिएका हुन्छन् र दसैँ तिहार आउँदा पनि सजिलोसँग घरमा जान पाउँदैनन् उनीहरूको विषयमा छ । किनभने उनीहरूले आफ्नो देशप्रतिको जिम्मेवारी सम्हालेका हुन्छन् । गीतमा आफ्नो जन्म घरमा जान नपाए पनि देशको सुरक्षा खटिन पाएकोमा गर्व गर्दै आफू कार्यरत कार्यालयमा कार्यालय प्रमुखको हातबाट टीका जमरा र आशीर्वाद ग्रहण गरेको भाव पाइन्छ ।
अडियो सँगसँगै यस गीतको भिडियोले पनि अझै बढी प्रस्ट्याउन खोजेको पाइन्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत र जगदीश हमालको स्वर रहेको यो उत्कृष्ट सिर्जना भन्न सकिन्छ ।

‘दाइ त मेरो लाहुरै जाने
म बैनी त सम्झेरै रोइरने
आफ्नै घर सम्झेर आउँला
सम्झीसम्झी मै चिठी पठाउँला’ 

दैवज्ञराज न्यौपानेको शब्दमा युक्त गुरुङले लय सिर्जना गर्नुभएको छ यो गीतमा । युक्त गुरुङ र सावित्री शाहले स्वरबद्ध गरेको यो गीतमा पनि नेपालीहरूका ठूला मानिने दुई पर्वहरू दसैँ र तिहार हुन् भनिएको छ । 
दाजुभाइ अनि दिदीबहिनीको महत्त्वपूर्ण मानिएको तिहार पर्वको बारेमा अलिबढी सम्बोधन गरिएको पाइन्छ । गीतको एकातिर दाइ घर छोडेर लाहुर जाँदाको अवस्थामा बहिनीले गरेको बिलौना पोखिएको पाइन्छ भने अर्काेतिर तत्कालीन समयमा अन्य प्रविधि नभएको अवस्थामा सकेसम्म घर फर्किउँला नभए सम्झीसम्झी चिठी पठाउँला भन्ने भावना पोखिएको पाइन्छ । 

‘फेरि आयो दसैँ र तिहार 
आउ है पियारा’ 

यो गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा लय सिर्जनामा तयार पारिएको हो । लोकलयमा आधारित यस गीतमा पनि नेपाली ग्रामीण जनजीवन लेखिएको छ गाइएको छ ।
आफ्नो घरपरिवार छोडेर आफू विदेश बस्नुपर्ने बाध्यता र दसैँ तिहार आउँदा आफ्ना परिवार छोराछोरीले बालाई वा आफूलाई सम्झिएको अवस्था चित्रण गरिएको छ ।
विष्णु माझी, सुन्दरमणि अधिकारी र खुमन अधिकारीको स्वरमा अत्यन्तै सुन्दर सुनिएको गीतले दसैँ तिहार आएको अझ धेरै झझल्को गराउँछ ।

‘दसैँ तिहार आयो 
गाउँ सहरमा उत्साह उमङ्ग खुसियाली छायो’

गीतकार डा. डीआर उपाध्यायको शब्दमा सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत गरेको गीत हो यो । सन्तोष श्रेष्ठ र सुरुची पन्थीले स्वर भरेको यो गीतमा पनि दसैँ तिहारको भावना पोखिएको पाइन्छ ।
एकताको पर्वको रूपमा लिइने दसैँ तिहारमा आफन्तहरू वा घरपरिवारबाट टाढा भएको अवस्था गीतमा झल्किएको छ । दसैँ तिहार आउँदा सबैजना जम्मा भएर उत्साह उमङ्ग र खुसियालीमा रमाउन सकियोस् भन्ने चाहना पनि गीतले पोखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप