शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

शुक्रबार, २४ असोज २०७६, ०९ : ३७
शुक्रबार, २४ असोज २०७६

दशैँ मनाएर राजधानी काठमाडौँतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । 

इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा  रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार जाँचका क्रममा करीब २० जना यात्रुबाट बढी भाडा लिइएको रु सात हजार रकम फिर्ता गराइएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कानूनबमोजिम जरिवानासमेत गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।  

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै प्रहरी निरीक्षक केशरीले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कारबाही चालिएको र सवारी गतिसमेत चेकजाँच गर्न थालिएको बताए । 

राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप