बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रको पटकथा जस्तै सांसद आलमको ‘अपराध कथा’

आइतबार, २६ असोज २०७६, १३ : ५४
आइतबार, २६ असोज २०७६

रौतहट । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ बाट निर्वाचित संघीय सांसद एवम् पूर्वमन्त्री मोहमद आफताब आलम पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा गएका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार बिहान ११ बजे सांसद आलमलाई पक्राउ गरेको हो ।

पछिल्लो केही दिनदेखि आलमलाई पक्राउ गर्ने तयारी गरेको संयुक्त टोलीले सांसद आलम आफनो घर राजपुर फरहदवाबाट गौरतर्फ आउनेक्रममा गौर चन्द्रपुर सडकखण्डमा पर्ने इद्रिशगेट नजिकैबाट पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौरको जिम्मा लगाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सांसद आलम पक्राउ परेको पुष्टी गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता आलमले राजपुर नगरपालिका स्थित उनका काका शेख इद्रिशको घरगोठमा बम बनाउने क्रममा २०६४ साल फागुन २७ गते साँझ ६ः३० बजे बम विस्फोट भएको थियो ।

विस्फेटमा परेर केहीको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएकाहरु सबैलाई ट्रयाक्टरमा राखेर आलमको आफन्तको राजपुरमै रहेको ईट्टाभट्टामा जलाएर मारेको उनीमाथि आरोप लाग्दै आएको छ ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने घटनास्थल पुगे पनि आलम समर्थकहरुले प्रहरीलाई ईट्टाभट्टासम्म पुग्न दिएका थिएनन् । घटनास्थलमा प्रहरी पुग्नु अघिनै सबै प्रमाणहरु नष्ट गरिएको त्यतिबेला चर्चामा आएको थियो ।

सांसद आलमलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संरक्षण रहेको कारण प्रहरीले समेत पक्राउ गर्न सकेको थिएन ।

बम विस्फेटनमा परी सरुअठा गाँउका श्रीनारायण सिंहका छोरा २५ वर्षीय पिन्टु सिंह,र राजपुर फरहदवाका ओसी अख्तरका साथै अन्य भारतीयहरुको मृत्यु भएको बताइएको छ ।

घटनापछि जिल्लाका नेपाली काँग्रेसबाहेक प्रायः सबै राजनीतिक दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको छानबिन तथा दोषीलाई कारवाहीको माग गरेका थिए ।

घटनालगतै मृतक पिन्टु सिंहका बुवा श्रीनारायण शिंह र ओसी महमदकी श्रीमती रुखसाना खातुनले सांसद मोहमद आफताभ आलम, उनका भाई शेख मोहमद महताभ आलम, सोही ठाँउका शेख भदै, शेख मोमिन र हाल गरुडा नगरपालिका अन्तरगत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाइ जिल्ला हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए ।

मुद्दामा जिल्ला अदालत गौर र तत्कालिन पुनरावेदन अदालत हेटौँडाले आलमलाई सफाई दिएको थियो ।

सोही बीच मृतक ओसी महमदको आमा रुखसाना खातुनको गोली हानी हत्या भएपछि पीडित भनिएका श्रीनारायण शिंह राजपुतले सर्वोच्च अदालतमा पुनः अपिल गरेका थिए ।

राजपुतको अपिलमा सर्वोच्च अदालतले आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न २०७३ मा आदेश दिएको थियो ।

अदालतको उक्त आदेश कार्वान्यन नगरेको भन्दै श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटलाई विपक्षी बनाइ सर्वोच्चमा मानहानीको समेत मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतको सोही आदेश अनुसार बमकाण्डको छानबिन तथा अनुसन्धानका लागी सांसद आलमलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार मृतक पिन्टु सिंह र ओसाी अख्तरको हत्या तथा बम काण्डको मुख्य नाइके आलमसहित पाँचजना माथी मुद्धा दायर भएको र सर्वोच्च अदालतको निर्देशनमा अनुसन्धानका लागि सांसद आलमलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्न आलमलाई आज नियन्त्रणमा लिएको बताए ।

बमकाण्डको घटनाको छानबिनका लागी जिल्ला अदालत गौर बाट भोली म्याद थमाउने डिएसपी कार्कीले बताए ।

पीडितको जाहेरीमा बमकाण्डमा दुईजना मात्र मारिएको भनिए पनि स्थानीयले दर्जनौँ मारिएको र मर्नेमा अधिकांश भारतीय रहेको दावी गर्दै आएको प्रहरी प्रवक्ता डिएसपी कार्कीले जानकारी दिएका छन् ।

मृतक ओसी महमदको श्रीमती रुखसानाको गोलीहानी हत्या

राजपुरको चर्चित बमकाण्डमा मारिएका भनिएको ओसी अख्तरको श्रीमती रुखसाना खातुनको समेत गोली हानेर हत्या भएको थियो ।

घटनाको करीव ५–६ वर्ष पछि राजपुरस्थित आफनो घरमै रहेको अवस्थामा अज्ञात मानिसले रुखसानाको टाउकोमा लक्षित गरी गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले उक्त घटनाको अनुसन्धान हालसम्म जारी रहेको बताएका छन् ।

रुखसानाको हत्यारालाई प्रहरीले हालसम्म पता लगाउन न सकेपनि स्थानीयले बमकाण्डसँगै उनको हत्यालाई जोड्दै आएका छन् ।

सत्य तथ्य छानविनको माग

यसैबीच, रौतहट संसदीय निर्वाचन क्षेत्र–२ का समाजवादी पार्टीका सांसद प्रत्यासी किरण साहले बमकाण्ड घटना र रुखसाना हत्याको सत्यतथ्य वास्तविक छानविन गरी दोषी पत्ता लगाएर कार्यवाही गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप