केन्द्रीय संस्करण
सिनेमा

७७ का अमिताभ

१६ वटा फिल्म लगातार फ्लपपछि बनेका सुपरस्टार

person explore access_timeअसोज २७, २०७६ chat_bubble_outline0

बीबीसी/रेहान फजल

अमिताभ बच्चन फिल्ममा आउँदा बङ्गलादेश पूर्वी पाकिस्तान थियो । चर्चित ‘बिटल्स’ ब्यान्डमा फुट आएको थिएन, हकी अझै भारतको सबैभन्दा लोकप्रिय खेल थियो । भारतीय राष्ट्रिय काँग्रेस अझै विभाजित भएको थिएन र त्यही वर्ष मानवले चन्द्रमामा पाइला राखेको थियो ।

ती दिन ख्वाजा अहमद अब्बास फिल्म ‘सात हिन्दुस्तानी’का लागि अभिनेताको खोजीमा थिए । एक दिन ख्वाजा अहमद अब्बासकहाँ कसैले एक अग्लो युवकको तस्बिर लिएर आयो ।

तस्बिर हेर्नासाथ ख्वाजाले भने, ‘योसँग मलाई भेटाउनु ।’

त्यसको तेस्रो दिन साँझ ६ बजे एक व्यक्ति उनको कोठामा प्रवेश गरे । उनी अलि बढी नै अग्लो देखिन्थे । उनले चुडीदार पाइन्ट र नेहरु ज्याकेट लगाइरहेका थिए ।

फिल्म खेल्न पिताको स्वीकृति जरुरी

ख्वाजा अहदम अब्बासले त्यो क्षणको कुराकानीको पूरा विवरण आफ्नो आत्मकथा ‘आई एम नट एन आइल्यान्ड’मा लेखेका छन् :

‘बस्नुस् । तपाईंको नाम ?’

‘अमिताभ’ (थर भनेनन्)

‘पढाइ ?’

‘दिल्ली विश्वविद्यालयबाट बीए ।’

‘तपाईंले पहिले कहिल्यै फिल्ममा काम गर्नुभएको छ ?’

‘अहिलेसम्म कसैले पनि मलाई आफ्नो फिल्ममा लिएनन् ।’

‘के कारणले होला ?’

‘ती सबले मलाई तिनको फिल्मको हिरोइनको तुलनामा म धेरै नै अग्लो छु भने ।’

‘हाम्रो फिल्ममा त्यस्तो समस्या आउँदैन । हाम्रो फिल्ममा हिरोइन छैनन् । यदि हुन्थे भने पनि म तिमीलाई नै लिन्थेँ ।’

‘के तपाईंले मलाई आफ्नो फिल्मको लागि लिँदै हुनुहुन्छ ? र त्यो पनि कुनै ‘टेस्ट’बिनै ?’

‘त्यो धेरै कुरामा निर्भर गर्छ । पहिले म तिमीलाई कथा सुनाउँछु । त्यसपछि तिमीलाई भूमिका भन्छु । यदि तिमीलाई मन पर्यो भने तब म तिमीलाई कति पैसा दिन सक्छु भन्नेछु ।’

त्यसपछि अब्बासले फिल्मका लागि उनले पाँच हजार भारु पाउने बताए । उनी थोरै असहज भए । त्यसैले अब्बासले उनीसँग सोधे, ‘के तिमीले योभन्दा बढी कमाइरहेका छौ ?’

उनले जवाफ दिए, ‘हो । मेलै कलकत्ताको एक फर्ममा मासिक १६ सय भारु पाइरहेको थिएँ । म त्यहाँबाट राजीनामा दिएर यहाँ आएको हुँ ।’

अब्बास आश्चर्यचकित भए र भने, ‘तिम्रो मतलब तिमीले यो फिल्म पाउने आसामा मासिक १६ सय भारुको आफ्नो जागिर छोडेर आएको ? यदि मैले यो भूमिका दिइनँ भने ?’

त्यो अग्लो व्यक्तिले भने, ‘जीवनमा यस्तो ‘चान्स’ त लिन पर्छ ।’

अब्बासले त्यो भूमिका उनलाई दिए र आफ्नो सेक्रेटरी अब्दुल रहमानलाई बोलाएर कन्ट्रयाक्ट ‘डिक्टेट’ गर्न थाले । उनले त्यो व्यक्तिसँग यस पटक उनको पूरा नाम र ठेगाना सोधे ।

‘अमिताभ’ उनले केही रोकिएर भने, ‘अमिताभ बच्चन, छोरा डाक्टर हरिवंशराय बच्चन ।’

‘रोक,’ अब्बासले भने, ‘यो सम्झौतामा तबसम्म हस्ताक्षर हुन सक्दैन जबसम्म तिम्रो पिताको स्वीकृति प्राप्त हुँदैन । म उनलाई चिन्छु । उनी र म सोभियत ल्यान्ड नेहरु अवार्ड कमिटीमा छौँ । तिमीले दुई दिनसम्म थप पर्खनुपर्छ ।’

ख्वाजा अहमद अब्बासले त्यसपछि डाक्टर बच्चनलाई लिएर एक टेलिग्राम पठाए र सोधे, ‘के तपाईं आफ्नो छोरालाई अभिनेता बनाउन राजी हुनुहुन्छ ?’

दुई दिनपछि डाक्टर हरिवंशराय बच्चनको जवाफ आयो, ‘मलाई कुनै आपत्ति छैन । तपाईं अगाडि बढ्न सक्नुहुन्छ ।’

त्यसपछिको घटना इतिहास बन्यो ।

आनन्द फिल्मबाट चर्चामा

सात हिन्दुस्तानी खासै चलेन । त्यसको अर्को वर्ष ऋषिकेश मुखर्जीले उनलाई आफ्नो फिल्म ‘आनन्द’मा एक रोल दिए । आनन्दबाट सम्पूर्ण भारतको ध्यान अमिताभको अभिनयमा गयो र उनले सन् १९७२ मा फिल्मफेयर अवार्डको सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार पाए ।

हालै फिल्म पत्रकार अनुपमा चोपडाको ‘१०० फिल्म टु सी बिफोर यू डाई’ भन्ने किताब ल्याएकी थिइन् । त्यस फिल्ममा ‘आनन्द’ फिल्मको पनि उल्लेख छ । फिल्मको अन्त्यमा राजेश खन्ना मर्छन् र अमिताभ बच्चन शोक मनाइरहेको देखिन्छन् ।

राजेश खन्नाको जीवनी ‘अनटोल्ड स्टोरी अफ इन्डियाज फस्र्ट सुपर स्टार’ लेख्ने यासेर उस्मान भन्छन्, ‘त्यो सिनको सुटिङ अघि अमिताभ बच्चन त्यसलाई कसरी फिल्माङ्कन गर्ने भनेर चिन्तित थिए । उनीसँग अभिनयको त्यति अनुभव थिएन । अमिताभ आफ्ना मित्र महमुदकहाँ गए । महमुदले उनलाई सल्लाह दिँदै भने, ‘तिमी राजेश खन्ना साँच्चै मरे भनेर सोच । त्यसपछि केही सोच्ने पर्दैन । सिन आफै बन्छ ।’’

त्यसपछि अमिताभले डाइलग बोलेका थिए, ‘आनन्द मरेको छैन । आनन्द कहिले मर्दैन’ र यसपछि अमिताभ अचानक भारतको पहिलो पङ्क्तिको अभिनेतामा सामेल भए ।

१६ फिल्मपछि पहिलो हिट

तर व्यावसायिक सफलताका लागि अमिताभले १६ थप फिल्म पर्खनुपर्यो । यो सफलता उनले ‘जन्जिर’ फिल्मबाट पाए । उनले रोमान्टिक फिल्मको बोलवाला रहेको समयमा उक्त फिल्ममा अभिनय गरेका थिए ।

हालै अमिताभ बच्चनको जीवनी ‘अमिताभ बच्चन अ केलेडोस्कोप’ लेखेका प्रदीप चन्द्रा सम्झन्छन् भन्छन्, ‘यदि १६ फिल्म फ्लप हुँदासम्म तपाईंले फिल्म पाइरहनुभएको छ भने तपाईंको स्थान ‘बनिसकेको’ मान्न सकिन्छ । यदि तपाईंको स्थान बनेको हँुदैनथ्यो भने तीनवटा फिल्म फ्लप भएपछि तपाईंलाई मानिसले वास्ता गर्न छाड्छन् । कहिलेकाहीँ तपाईंलाई समयले साथ दिन्छ । ‘जन्जिर’ सुरुमा देवानन्दलाई प्रस्ताव गरिएको थियो तर फिल्ममा कुनै रोमान्टिक ‘कोण’ नभएको र त्यस्तो गीत नभएको भनेर उनले फिल्म छाडेका थिए । त्यसलाई राज कुमार र धर्मेन्द्रले पनि छाडेका थिए । बच्चनले मात्र यो फिल्मले उनलाई चर्चित बनाउने बुझे र त्यो सही सावित पनि भयो ।’

महमुदले राजीव गान्धीलाई दिए ५००० भारुको साइनिङ अमाउन्ट

जब अमिताभ फिल्ममा भूमिका पाउनका लागि सङ्घर्ष गरिरहेका थिए तब कमेडियन महमुदले उनलाई आफ्नो छत्रछायामा लिए ।

महमुदको जीवनी लेख्ने हनिफ जवेरीले आफ्नो पुस्तक ‘महमुद अ म्यान अफ मेनी मुड’मा एक रोचक घटनाको उल्लेख गरेका छन् ।

‘बम्बे टू गोवा फिल्म रिलिज हुनुभन्दा पहिले अमिताभले एक निक्कै स्मार्ट व्यक्तिलाई मुम्बई ल्याए । महमुद ‘कम्पोज’को ट्यब्लेट खाएपछि थोरै नसामा थिए ।

उनका भाइ अनवरले त्यो व्यक्तिको परिचय महमुदसँग गराउने कोसिस गरे । तर नसामा भएका कारणले महमुदले केही बुझेनन् ।

नसाबीच मेहमुदले आफ्नो खल्तीबाट ५ हजार भारु निकालेर अमिताभसँग गएको व्यक्तिको हातमा राखिदिए । जब उनलाई त्यो रकम दिनुको कारण सोधियो तब महमुदले सो व्यक्ति अमिताभभन्दा बढी स्मार्ट देखिने भएकाले एक दिन अन्तर्राष्ट्रिय स्टार बन्न सक्ने बताए । उनले सो रकम आगामी फिल्मका लागि दिएको बताए ।

जवेगी लेख्छन्, ‘अनवरले त्यो व्यक्ति देशका प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा राजीव गान्धी भएको चिनाए । यो सुन्नासाथ महमुदले राजीव गान्धीलाई लिएका पैसा फिर्ता लिए । त्यो कार्यदेखेर अमिताभ र राजीव ठूलो स्वरमा हाँसे ।’

पछि अमिताभले चर्चित पत्रकार रासिद किदवईसँग कुरा गर्दै महमुदको भविष्यवाणी सही निक्लेको बताए । ‘राजीव साँच्चै अन्तर्राष्ट्रिय स्टार बने तर अभिनयमा होइन राजनीतिमा,’ अमिताभले भने ।

विवाहअघि सोनिया गान्धी बच्चनको घरमा

सन् १९६८ जनवरी १३ मा सोनिया गान्धी विवाहका लागि दिल्ली आइन् । राजीव गान्धीसँग विवाह गर्न दिल्ली आएकी सोनियालाई इन्दिरा गान्धीले होटल वा आफ्नो घरमा नराखेर पुराना मित्र हरिवंशराय बच्चनको घर पठाए ।

सोनियाको जीवनी लेख्ने रासिद किदवई यसबारेमा भन्छन्, ‘सोनिया गान्धी भारत आउँदा उनका पिता विवाहका लागि आएका थिएनन् । उनी छोरीको राजिवसँगको सम्बन्धबाट खुसी थिएनन् । विवाहअघि केटी केटाको घरमा बस्नु उपयुक्त नभएकाले इन्दिराले हरिवंशराय बच्चनकहाँ पठाएका थिए ।’

पछि यस प्रकरणबारे बोल्दै अमिताभले एक अन्तरवार्तामा भनेका छन्, ‘जब हामीलाई सोनिया हाम्रो घर आउँदैछिन् भन्ने थाहा भयो घरमा रङरोगन चल्यो । एउटा अतिरिक्त गिजर नै मगाइयो । सोनिया बिहान साढे तीन बजे आउँदै थिइन् । राजीवले मलाई राति उनकै घरमा आएर सुत्न भने ।’

‘हामी राति नै विमानस्थल पुगेका थियौँ । सोनियाको विमान ओर्लिएपछि राजिवले घर जानु अघि सोनियालाई दिल्ली घुम्ने प्रस्ताव राखे । हामीले तीन चार घण्टासम्म दिल्लीको सडकमा घुमाइरह्यौँ । पछि सोनिया हाम्रै घरबाट बिदा भएकी थिइन् ।’

त्यसको चार वर्षपछि सन् १९७३ जुन ३ मा अमिताभ बच्चन र जया भादुडीबीच पनि मुम्बईमा विवाह भयो ।

जयाको कारण चुनाव जिते

सन् १९८४ मा इन्दिरा गान्धीको हत्या भएपछि राजीवको अनुरोधमा बच्चनले राजनीतिमा प्रवेश गरे र इलाहाबादबाट लोकसभा चुनाव लड्ने फैसला गरे । उनको प्रतिस्पर्धी थिए उत्तर प्रदेशका मुख्यमन्त्री रहिसकेका हेमवतीनन्दन बहुगुणा ।

त्यसबेला चुनावलाई पछ्याएकी वरिष्ठ पत्रकार कुमकुम चड्ढा भन्छिन्, ‘चुनावमा पनि बच्चन अन्तिम समयसम्म आफूलाई फिल्म स्टार सम्झिरहेका थिए । उनले आफ्नो घर (सर्किट हाउस)को बन्द कोठाबाट चुनाव लडे । उनको चुनाव प्रचारको जिम्मेवारी उनका भाइ अजिताभको हातमा थियो र उनले गर्ने काम भनेको अमिताभको घरमा आएका मानिसलाई भगाउने थियो ।’

कुमकुम भन्छिन्, ‘सर्किट हाउसको गेट बन्द हुन्थ्यो । अमिताभको कोठाको ढोकासमेत बन्द रहन्थ्यो । भाइ अजिताभ हरेक बिहान ड्राइभ वेमा जम्मा भएका पत्रकार र मानिसलाई भगाउने काम गर्थे । उता प्रतिपक्षी बहुगुणाको घर जाँदा हरेकसँग हात मिलाइन्थ्यो ।’

‘सुरुको अवस्था हेर्दा अमिताभले चुनाव हार्छन् भन्ने थियो । तर जब जया चुनावमा उत्रिइन् चुनाव अमिताभको पक्षमा बदलियो । उनले ‘भाउजू’, ‘देवर’ भन्दै चुनावी माहोल अमिताभको पक्षमा ल्याइदिन् । मेरो विश्वासमा जया चुनावी प्रचारमा ननिक्लिएकी भए अमिताभले चुनावमा खराब परिणाम भोग्नुपथ्र्यो ।’

राजीवसँग मनमुटाव

तर अमिताभ र राजीवको मित्रता धेरै दिन टिकेन । सन् १९८७ मा अमिताभले इलाहावादलाई आफ्नो लोकसभा सिटबाट राजीनामा दिने फैसला गरे ।

बोफोर्स घोटालामा नाम जोडिएपछि राजिवले अमिताभलाई राजीनामा दिन भनेका थिए । यसबाट अमिताभलाई निक्कै नराम्रो लाग्यो ।

उसो त इतिहास हेर्ने हो भने अमिताभको मित्रता धेरै दिन टिकेको देखिँदैन । एक समय अमिताभका भाइ अजिताभ उनका सबैभन्दा नजिक थिए । तर पछि दुईबीच कुराकानी बन्द हुने अवस्था पुग्यो ।

त्यस्तै सोनियाले उनलाई राखी बाँध्थिन् तर सोनियासँग पनि उनको बोलचाल बन्द भयो ।

समाजवादी नेता अमर सिंहसँग पनि एक समय अमिताभको निक्कै राम्रो सम्बन्ध थियो । अमर सिंहले कुनै समय आफूलाई अफ्ठ्यारोबाट सघाएको अमिताभले आफैले स्वीकारेका छन् । तर अहिले आएर दुईबीच शत्रुतापूर्ण सम्बन्ध छ ।

सेटमा एक घण्टाअघि नै पुग्छन् बच्चन

७० को दशकको मध्य र ८० को दशकभरी अमिताभको लोकप्रियता चरम अवस्थामा थियो । सन् १९८० मेमा इन्डिया टुडेले अमिताभलाई ‘एक स्टार नभएर उद्योग’को संज्ञा दिएको थियो ।

अहिले ७० वर्ष उमेर कटेर पनि बच्चन हिन्दी फिल्म उद्योगका स्तम्भ हुन् । उनी थप परिपक्व हुँदै गएका छन् र यसले उनको अभिनयमा थप निखार आएको छ । यस अर्थमा उनले पाएका चार राष्ट्रिय पुरस्कारमध्ये तीन ६० कटेपछि पाउनु संयोग होइन ।

अभिताभ बच्चनको लोकप्रियताको बारेमा बोल्दै उनको जीवनी लेख्ने प्रदीप चन्द्र भन्छन्, ‘अमिताभ अघि अभिनेताहरु सेटमा १२ बजे पुग्नुछ भने चार बजे पुग्थे । कोही रक्सी खाएर आएका हुन्थे । कोही प्रसंशकको भीड लिएर आउँथे । तर अमिताभ बच्चन भने ७ बजेको सुटिङ छ भने ६ बजे आइसक्थे । त्यस्तै सुपरस्टार भएर पनि उनी अन्य कलाकारलाई उत्तिक्कै सम्मान गर्छन् । यी कुराले उनलाई अरूबाट अलग देखाउँछ ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...