शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

मङ्गलबार, २८ असोज २०७६, १३ : ४९
मङ्गलबार, २८ असोज २०७६

– भूपेन्द्रसिंह विष्ट 
पर्शुरामधाम– अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ ।

चिकित्सक, जनशक्ति र भौतिक संरचनाको अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन । टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापना गरिएको हो । यहाँका स्थानीय बसिन्दा र राजनीतिक दलका नेताहरुले आन्दोलन नै गरेका कारण त्यति बेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको यस अस्पताललाई गत फागुनमा सङ्घको मातहतमा रहने गरी नाम परिवर्तन गरेर  स्तरोन्नति गरिएको हो ।

कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी सङ्घीय सरकारको मातहतमा राखिएको यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । ‘एक महीना अगाडि मेरी श्रीमती पनि सुत्केरी भएकी थिइन् तर, यहाँ सेवा नहुँदा उनी तराईमा गएर सुत्केरी भइन्,’ सेवाग्राही ज्ञानेन्द्र ताम्राकार भन्छन्– ‘उपचारका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको छ ।

यो अस्पतालको नाम मात्रै विशिष्ट छ, जुन सेवा सुविधा पाउनुपर्ने हो त्यो पाइँदैन । बिरामी आउँछन् नाम लेखाएर रिफर भएर जान्छन् ।’ चिकित्सक अभावमा पहाडी क्षेत्रका बिरामीले महङ्गो शुल्क तिरेर निजी अस्पताल तथा तराईका अन्य जिल्ला धाउनुपर्ने बाध्यता रहेकाले दरबन्दीअनुसारका चिकित्सक आउनुपर्ने उनको माग छ ।

समायोजनपछि डाक्टरलाई समस्या

स्तरोन्नति भए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता छ । दैनिक २०० जनासम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई बिरामी जाँच गर्न नै धौधौ छ ।

अहिले अस्पतालमा एकजना मात्र चिकित्सक कार्यरत छन् । ‘बिरामी धैरै आउँछन्, उनीहरुलाई जाँच गर्नकै लागि पनि समय हुँदैन,’ चिकित्सक नरेश श्रेष्ठले भने– ‘अहिले ओपिडीमा दैनिक १००–२०० जना बिरामी आइरहेका छन् तर, काम गर्ने चिकित्सक छैनन् । एकजना चिकित्सकले ओपिडी हेर्ने कि वार्डमा हेर्ने कि इमर्जेन्सीमा हेर्ने ?’ नेपाल सरकारले तुरुन्तै स्वास्थ्य मन्त्रालय अथवा विभागबाट करार तथा रिक्त रहेका दरबन्दी पूर्ति गर्नुपर्ने उनको माग छ ।

 दरबन्दी २०, पदपूर्ति शून्य

अस्पतालका लागि अहिले १०८ जनाको दरबन्दी स्वीकृत भएको छ तर ३७ जना कर्मचारीकोे मात्र पदपूर्ति भएको छ । बाँकी ७१ पद रिक्त छन् । त्यस्तै, अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनुपर्नेमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ ।

अस्पतालमा अहिले करारका ४५ जना र ज्यालादारीका सातजना कर्मचारी कार्यरत छन् । अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी तीनजना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकामा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एकजना करारमा गरी जम्मा १० जना मात्र कार्यरत रहेको देखिन्छ । त्यसमध्ये छजना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ ।

बाँकी रहेका चारजनामध्ये पनि तीनजनाको समायोजन भएपछि अस्पतालमा अहिले एकजना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । ‘यो अस्पताल सङ्घको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ,’ उनले भने– ‘एकजना मात्र स्थायी र तीनजना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडि बढ्ने हो अन्योल छ ।’

चिकित्सक अभावमा डडेल्धुरा अस्तालमा सञ्चालनमा आइरहेका सेवाहरुमध्ये सिजरियन सर्जरी सेवा, यू एस जी सेवा, इन्डोस्कोपी सेवा तथा एस एन सि यू सेवा समेत बन्द भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘एजडिसियस टिम अस्पताल’ लाई विभिन्न आरोप लगाएर हटाउन लगाएका यहाँका दल तथा नेताहरुले चिकित्सक अभाव झेलिरहेको यस अस्पतालका लागि कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप