मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

मङ्गलबार, २८ असोज २०७६, २३ : ३३
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं-अर्थमन्त्री डा.युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । 
 
संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।  

मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदैआएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्नुहुने कार्यक्रम तय भएको छ । 

उनले सङ्घीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदानप्रदान गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन् । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा खतिवडाले गर्नुहुने कार्यक्रम तय भएको छ । 

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी हुनेछन् । अर्थमन्त्री डा.खतिवडा कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप