शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

बिहीबार, ३० असोज २०७६, १९ : ०३
बिहीबार, ३० असोज २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ ।  सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

विश्व ट्रमा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे । उनले भने, ‘संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन ।  सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ ।’ 

स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको बताए । ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याए ।
 
ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव  रहेको उनले गुनासो गर्दै तत्काल एमआरआई  उपकरणको अति आवश्यकता रहेको बताए । हाल सेन्टरमा ११ श्ययाको आइसियु दश श्ययामा मात्र सञ्चालनमा छ । आर्थिक वर्ष २०७२/७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपिडी) लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो ।

यसैगरी सेन्टरमा आव २०७२/७३ मा आकस्मिक सेवा  लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो ।  आव २०७५/७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२/७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ । सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने  सो अवसरमा जानकारी दिइएको थियो ।  कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा  सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताए । दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप