बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैत्री तेक्वान्दोको तयारी पूरा

बिहीबार, ३० असोज २०७६, २० : १०
बिहीबार, ३० असोज २०७६

काठमाडौं– तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु हुने दुई दिने प्रतियोगितामा सहभागी हुन देशभरका सात सय  खेलाडी चितवन पुगेका छन् । 

कार्तिक १ र २ गते हुने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पुष्पराज जोशीले जानकारी दिए । यस्तै, पुम्सेमा ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा विभिन्न ४० जिल्ला, विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र विभिन्न डोजाङका खेलाडीले ५४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ ५४ केजी मुनि, ५८ केजी मुनि, ६३ केजी मुनि, ६८ केजी मुनि, ७४ केजी मुनि र ८० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ सहभागी खेलाडीले ४६ केजी मुनि, ४९ केजी मुनि, ५३ केजी मुनि र ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १८ बर्षभन्दा माथिको तौलसमूह अन्तर्गत पुरुषतर्फ ३ र महिलातर्फ दुई गरी पाँच जना उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फका उत्कृष्ट तीन र महिलातर्फ उत्कृष्ट दुई जना खेलाडीलाई सन् २०२० को मेमा अमेरिकाको मिसिगनमा आयोजना हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सहभागी गराईने आईओएफटीसीका निर्देशक दिवाकर मर्हजनले जानकारी दिए । 

चितवनको राष्ट्रिय प्रतियोगिताका लागि दिवाकर र अन्तर्राष्ट्रिय प्रशिक्षक लव गोर्खाली पनि अमेरिकाबाट चितवन पुगेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनी गर्ने खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता गर्न साढे १४ लाख रुपैयाँको खर्च हुने जानकारी पनि संयोजक जोशीले बताए । यसअघि दोस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो खोटाङको ऐसेलुखर्कमा भएको थियो । पहिलो संस्करणको प्रतियोगिता भने ललितपुरमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप