शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न : सुशासन खोइ भनेर प्रश्न गर्ने नैतिकता कहाँ हरायो ?

शनिबार, ०२ कात्तिक २०७६, १८ : ५६
शनिबार, ०२ कात्तिक २०७६

काभ्रे -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए ।  

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहेएका मन्त्री बाँस्कोटाले भने, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।”

 विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिएर गल्ती गरिरहेको दाबी गरे । “एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ  हरायो ?” उनले प्रश्न गरे । सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए। 

मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिए । उनले भने, “यो कम्यूनिस्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन् ।” 

केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उनले प्रश्न गरे। 

“वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन” उनले भरे । सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उहाँले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप