बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एउटी मुस्लिम किशोरीको विद्रोह

किशोरी भन्छिन्, ‘बहुत बुरा हो सक्ता था, में बालबाल बची’
सोमबार, ०४ कात्तिक २०७६, १६ : ०२
सोमबार, ०४ कात्तिक २०७६

गत शुक्रबार चितवनस्थित आफन्त नेपालको आवास गृहमा हामी पुगेका थियौँ ।

करिब ५ फुट उचाइ, कुर्ता र सुरुवालमा सजिएकी किशोरी हामीलाई देख्नेबित्तिकै थोरै मुस्कुराइन् ।

ती किशोरी थिइन्, सलमा खातुन (परिवर्तित नाम) । भर्खरै १८ वर्ष टेकेकी सलमा ५ महिनाभन्दा बढी समय भारतको एक सुरक्षित आवास गृहमा बसेर नेपाल आइपुगेकी थिइन् ।

भारतको बालकल्याण समितिले राखिदिएको एक आश्रममा सलमा १ सय ६५ दिन बसेर असोजको १६ गते मात्रै नेपाल आइपुगेकी थिइन् ।

आफन्त नेपालको दिल्लीस्थित कार्यालयले सलमालाई भारतको आश्रमबाट नेपाल ल्याउन पहल गरेको थियो । यतिबेला उनी चितवनस्थित आफन्त नेपालको आश्रममा बसेर सीपमूलक तालिम लिइरहेकी छिन् ।

नेपाली भाषा बुझे पनि नेपालीमै जवाफ फर्काउन भने सलमालाई निकै गाह्रो पथ्र्यो । हामीले तराई मूलकै एकजना युवतीलाई दोभाषेको रुपमा सँगै राखेर सलमासँग कुराकानीको सुरुवात गर्यौँ ।

सलमाको दिल्ली यात्रा

१७ वर्षकी सलमा खातुन कपिलवस्तुस्थित आफ्नै घरमा बस्ने गर्थिन् । कपिलवस्तुकै स्थानीय मदरसामा उर्दु भाषामै ५ कक्षासम्म अध्ययन गरेकी सलमाले त्योभन्दा बढी पढ्न भने पाइनन् ।

‘किन पढ्न पाउनुभएन त ?’ हाम्रो प्रश्न टुङ्गिन नपाउँदै उनले जवाफ दिइन्, ‘बाबाले पढ्न दिनुभएन ।’

‘बाबाले किन पढ्न दिनुभएन त ?’ हाम्रो अर्को प्रश्नमा सलमाले भनिन्, ‘दिदीले पढ्नुभएको थिएन, त्यसकारण मलाई पनि पढ्न दिनुभएन ।’

‘तपाईंलाई पढ्न मन थिएन त ?’ अर्को प्रश्नमा उनी केही निराश देखिइन् । भनिन्, ‘पढ्न त अहिले पनि मलाई मन छ । पहिले पढ्न मन हुँदाहुँदै पनि पढ्न नदिएका हुन्, मेरो पढाइ छुटाइदिएका हुन् ।’

सलमाको परिवारमा १० जना सदस्य छन् । एक जना दिदी, सलमा, तीनजना बहिनी, ३ जना भाइ, बुबा र आमा ।

बुबा ट्रान्सपोर्टको गाडी चलाउने काम गर्थे । बुबाको त्यही कमाइले नै परिवारको दैनिकी चलिरहेको थियो ।

घरमा बुबाको कान्छी बहिनी अर्थात् फुपू पनि बस्ने गर्थिन् । उमेरले सलमाभन्दा जम्मा २ वर्ष जेठी थिइन् उनकी फुपू । तर पनि सलमा र फुपूबीच राम्रो सम्बन्ध थिएन ।

सलमा रुढीवादी मुस्लिम समाज र संस्कारबाट बाहिर निस्कन चाहन्थिन् । पढ्न चाहन्थिन्, स्वतन्त्र भएर साथीभाइसँग खेल्न चाहन्थिन् । बुर्का लगाएर अनुहार ढाक्ने मन पनि थिएन ।

तर उनको परिवार पुरातनवादी धार्मिक आस्थाप्रति कट्टर थिए । महिला तथा छोरीहरु घरबाट बाहिर निस्कन हुँदैन भन्ने मानसिकता बोकेका । छोरीहरु घरबाट बाहिर निस्कन हुँदैन भन्ने सोच थियो सलमाका बुबा र फुपूको । यद्यपि फुपू भने लखनउमै आफन्तको घरमा बसेर राम्रो शिक्षा लिएकी व्यक्ति थिइन् । फुपूले कति पढेकी छिन् भन्ने चाहिँ सलमालाई थाहा छैन । उनलाई यत्ति थाहा छ कि फुपूले राम्रै शिक्षा लिएकी छिन् ।

उमेरले १९ लागेपछि फुपूको विवाहको कुरा चल्यो । विवाहको कुरा चलेपछि फुपू कपिलवस्तु आएकी थिइन् । विवाहको तयारी हुँदै गर्दा फुपू काका वा दादा (हजुरबुबा)को घरमा नबसी सलमाको घरमा नै बस्न आएकी थिइन् । त्यसपछि सलमा र फुपूबीचको सम्बन्ध राम्रो हुन सकेन ।

*****

सलमालाई घरबाट बाहिर निस्किएर साथीभाइसँग खेल्न मन पथ्र्यो । बुर्का फुकालेर निस्फिक्री हिँड्न र डुल्न मन थियो । बजार जाँदा वा आफन्तको जाँदा बुर्का खोल्न मन पथ्र्यो । तर उनको धर्म र संस्कार र समाजले उनलाई त्यसो गर्ने स्वीकृति दिएको थिएन । त्योभन्दा ठूलो बाधा उनकै परिवारबाट थियो । सलमालाई उनका बुबाले घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । सलमा आफ्नै घरमा बन्दी जीवन बिताइरहेकी थिइन् ।

*****

सलमाकै कुरा पत्याउने हो भने फुपूले सलमाको बारेमा नराम्रो नराम्रो कुरा सलमाकी बुबालाई सुनाउने गर्थिन् । जसका कारण सलमाले प्रत्येक दिन बुबाबाट पिटाइ खानुपथ्र्यो ।

सलमालाई बुबाले मात्रै होइन, फुपूले पनि बेलाबेलामा पिट्ने गर्थिन् । प्रत्येक कोही न कोहीबाट पिटाइ खाने सलमाको दैनिकीको नै बनेको थियो ।

‘किन पिट्थे नि ?’ रातोपाटीको प्रश्नमा सलमाले पिटाइ खानुपर्नाको कारण सुनाइन् । ‘घरमा तीनजना भाइहरु थिए । मेरो काम उनीहरुको हेरचाह गर्नुहुन्थ्यो । त्योबाहेक घरको काम पनि मैले गर्नु नै पथ्र्यो । कहिलेकाहीँ घरको काम गर्न सकिन वा भाइहरुलाई राम्रोसँग हेर्न सकिने भने पनि मैले पिटाइ खानुपथ्र्यो ।’

जब बाहिर निस्कन प्रतिबन्ध लाग्यो...

सलमालाई घरबाट बाहिर निस्किएर साथीभाइसँग खेल्न मन पथ्र्यो । बुर्का फुकालेर निस्फिक्री हिँड्न र डुल्न मन थियो । बजार जाँदा वा आफन्तको जाँदा बुर्का खोल्न मन पथ्र्यो । तर उनको धर्म र संस्कार र समाजले उनलाई त्यसो गर्ने स्वीकृति दिएको थिएन । त्योभन्दा ठूलो बाधा उनकै परिवारबाट थियो । सलमालाई उनका बुबाले घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । सलमा आफ्नै घरमा बन्दी जीवन बिताइरहेकी थिइन् ।

सलमा जब घरबाट बाहिर निस्कन्थिन्, फुपूले त्यो कुरा हतार हतारमै सलमाको बुबालाई लगाइदिन्थिन् । अनि बुबा आएलगत्तै उनी कुटाइ खानका लागि तयारी अवस्थामा रहनुपथ्र्यो ।

पिटाइकै कारण विषसमेत खाइन् सलमाले

आफ्नै घरमा बन्दी जीवन बिताउनु परेको र सधैँ पिटाइ खानुपर्ने बाध्यता भएपछि सलमाले एक दिन विषसमेत सेवन गरिन् । घरमा फुपूले पिट्दै खानासमेत नदिएपछि सलमाले विष खाइदिएकी थिइन् ।

तर उनको भाग्य ठूलो रहेछ, समयमै उनको उपचार भयो र उनी बाँच्न सफल भइन् । यद्यपि त्यसपछि पनि सलमालाई हेर्ने परिवारको नजरमा कुनै परिवर्तन आएन । बरु उनीमाथिको निगरानी झन् झन् बढ्न थाल्यो ।

जब ‘आजादी’ रोजिन्

१४ अप्रिल २०१९ । सलमा त्यस दिन पनि घरमै थिइन् । बुबा कामका लागि बाहिर निस्किएका थिए । दिदी सिलाइ कटाइको काम गर्ने भएकाले कहिले घरमा त कहिले पसलमा हुन्थिन् । फुपू भने घरमै बस्थिन्  । भाइहरु खेल्नका लागि साथीभाइसँग छिमेकमा थिए ।

फुपूले सलमालाई भाइहरुलाई लिएर आउन भनिन् । तर बुबाले घरबाट बाहिर जान ‘प्रतिबन्ध’ लगाएकाले सलमाले बाहिर नजाने बताइन् । तर फुपूले ‘भनेको काम नमान्ने’ भन्दै सलमालाई धेरै पिटिन् ।

त्यस दिन सलमालाई निकै चित्त दुख्यो । सधैँको कुटपिट र बन्दी जीवन बिताउनुभन्दा ‘आजादी’ खोज्ने सलमाले निधो गरिन् । अनि घर छाडेर हिँड्ने निर्णय लिइन् ।

आफूलाई सधैँ पिट्ने फुपूको विवाहको कुरा चल्दा फुपूलाई हेर्न आएका केटाले सलमालाई ५ सय भारतीय रुपैयाँ दिएर गएका थिए । सलमाले त्यो पैसा आफूसँग सुरक्षित राखेकी थिइन् ।

अनि आफूसँग भएको त्यही ५ सय भारतीय रुपैयाँ बोकेर उनी कपिलवस्तुबाट उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लामा पर्ने बर्नी भन्ने स्थानतर्फ लागिन् ।

हजुरआमा बिरामी भएकाले सलमाको आमा पनि मामाको घरमै गएकी थिइन् । त्यसकारण सलमा कसैलाई केही नभनी घरबाट निस्किइन् ।

उनी कपिलवस्तुबाट उत्तरप्रदेशको बर्नी भन्ने स्थानमा पुगिन् । अनि त्यहाँबाट दिल्लीका लागि रेल चढिन् ।

‘अनि टिकट ?’ हाम्रो प्रश्नमा मुस्कुराउँदै उनले भनिन्, ‘टिकटबारे थाहा नै थिएन, म टिकट नकाटी ट्रेन चढेकी थिएँ ।’

*****

आश्रममा पुगेपछि सलमालाई सम्झाउन थालियो । यदि सलमालाई उनीहरुले त्यहाँ नभेटेर अरू कोही बदमास मानिसले भेटेको भए के हुनसक्थ्यो भनेर सम्झाए ।

‘के हुनसक्ने रहेछ त ?’ हाम्रो प्रश्नमा मुस्कुराउँदै सलमाले भनिन्, ‘बहुत बुरा हो सक्ता था, में बालबाल बची ।’

*****

१५ अप्रिलको बिहान सलमा पुरानो दिल्लीको आनन्द बिहार स्टेसनमा ओर्लिइन् ।

त्यहाँबाट कहाँ जाने, के गर्ने, के खाने, कहाँ बस्ने कुनै योजना थिएन । सलमा अलमलमै परिरहेकी थिइन् । करिब आधा घण्टा सलमा रेलवे स्टेसनमै टोलाइरहिन् ।

‘अनि कहाँ जान्छु र के गर्छु भनेर दिल्ली पुगेको त ?’ हाम्रो प्रश्नमा सलमा केही समय चुपचाप बसिन् । धेरैपछि सलमाले भनिन्, ‘मलाई घरबाट जसरी पनि बाहिर निस्कनु थियो । कहाँ जाने, के गर्ने, के खाने भन्ने केही कुरा थाहा थिएन । मैले टिभीमा देखेको थिएँ, दुःखमा परेपछि पुलिसले अनाथ आश्रममा लगेर राखिदिन्छ । केही नभए अनाथ आश्रममा पुग्छु भन्ने सोच थियो । त्यही भएर म हिँडेको थिए ।’

स्टेसनमा टोलाइरहेको बेला भारतकै बाल कल्याण समितिका ‘रेस्क्यु टिम’ले सलमालाई भेट्यो । टोलीले सलमालाई कहाँ जान आएको ? कोसँग आएको ? किन आएको लगायतका प्रश्नहरु सोधे ।

सलमाले आफ्नोबारे सबै कुरा बताइन् । त्यसपछि त्यो टोलीले सलमालाई लिएर पहिले प्रहरी कार्यालय गयो । त्यहाँ सबै कुरा टिपाएपछि त्यो टोली सलमालाई लिएर सेल्टर (आश्रम)मा गयो । सेल्टरमा सलमाजस्तै अन्य धेरै किशोरीहरु राखिएका थिए ।

आश्रममा पुगेपछि सलमालाई सम्झाउन थालियो । यदि सलमालाई उनीहरुले त्यहाँ नभेटेर अरू कोही बदमास मानिसले भेटेको भए के हुनसक्थ्यो भनेर सम्झाए ।

‘के हुनसक्ने रहेछ त ?’ हाम्रो प्रश्नमा मुस्कुराउँदै सलमाले भनिन्, ‘बहुत बुरा हो सक्ता था, में बालबाल बची ।’

आश्रममा बेचबिखनमा परी वेश्यालयबाट उद्धार गरिएका किशोरी र युवतीसमेत थिए । उनीहरुको कथा पनि सलमाले सुनिन् । त्यसपछि आफू ठूलो दुर्घटनाबाट बचेको महसुस सलमाले गरिन् ।

नेपाली नागरिकलाई लामो समय भारतको आश्रममा बस्न दिइँदैन । कानुनले पनि त्यस्तो गर्न दिँदैन । सलमा १ सय ६५ दिन अर्थात् साढे ५ महिना दिल्लीको आश्रममा बसिसकेकी थिइन् ।

त्यसपछि दिल्लीको बाल कल्याण समितिले नेपाली दूतावास दिल्लीमा सम्पर्क गरी आफ्नो नागरिक लैजान पत्र लेख्यो । दूतावासमा पत्र आएपछि दूतावासले दिल्लीमा रही नेपाली युवती र किशोरीको उद्धार तथा घरफिर्तीमा सहयोग पुर्याउँदै आएको संस्था आफन्त नेपाललाई सम्पर्क गरी किशोरीलाई नेपाल पुर्याउन आग्रह गरेको थियो । त्यसपछि सलमा अक्टोबर ३ अर्थात् असोजको १६ गते दिल्लीबाट चितवन आइपुगिन् ।

घर जान मन छैन

नेपाल आए पनि सलमालाई आफ्नो घर जान भने मन छैन । संस्थाबाटै एक दुई पटक उनले फोनमार्फत् परिवारसँग कुराकानी गरेकी छिन् । तर घर जाने सोच सलमालाई आएको छैन ।

अध्ययन छाडेको ६ वर्ष भइसकेकाले अध्ययनलाई फेरि अगाडि बढाउने सम्भावना ज्यादै कम छ । त्यसमाथि नियमित शिक्षाभन्दा पनि मदरसा शिक्षा लिएकीले अब फेरि नियमित विद्यालयमा पढ्न सक्ने अवस्था छैन ।

त्यसकारण सलमा यतिबेला सेल्टरमै सिलाइ कटाइको तालिम लिइरहेकी छिन् । सलमाको दिदी पनि सिलाइ कटाइको काम गर्ने भएकाले सलमालाई पनि त्यही काम सिकेर काम गर्न मन लागेको छ ।

आफन्त नेपालकी जिल्ला संयोजक केमिका घिमिरेका अनुसार अहिले सलमाले राम्रोसँग सिलाइ कटाइको तालिम लिइरहेकी छिन् । उनले सिलाइ कटाइ सिक्ने विषयमा ज्यादै रुचि राखेकी छिन् र उनले चाँडै नै राम्रो ज्ञान लिने सम्भावना देखिएको छ ।


विवाह गर्न मन छैन

सलमाको परिवारमा १९–२० वर्ष लागेपछि विवाहको कुरा हुन थाल्छ । तर सलमालाई अहिले नै विवाह गर्न मन छैन । आफूले राम्रोसँग काम सिकेर काम गर्ने र आत्मनिर्भर बन्ने सलमाले सपना देखेकी छिन् । सलमाले भनिन्, ‘म त विवाह नगर्ने ।’

‘अभी नहीँ और कभी नहीँ ?,’ हाम्रो प्रश्नमा उनी थोरै मुस्कुराइन् तर कुनै जवाफ नदिई चुपचाप बसिन् ।

बुर्का लगाउन मन छैन, जिन्सको पाइन्ट मन पर्छ

रातोपाटीको टोली उनी रहेको आश्रममा पुग्दा उनी साधारण कुर्ता र सलवारमा भेटिएकी थिइन् । मुस्लिम परिवारकी छोरी भएका कारण बुर्का उनको धर्म, संस्कार, संस्कृति र परिवारमा अनिवार्य नै थियो ।

तर उनी साधारण कुर्ता र सलवारमा थिइन् । यद्यपि उनको मनमा कुनै धक भने थिएन । 

कुराकानीको अन्त्यमा हामीले सोध्यौँ, ‘तपाईंलाई कस्तो ड्रेस लगाउन मन पर्छ ।’

मुस्कुराएर उनले जवाफ दिइन्, ‘मलाई जिन्सको पाइन्ट र टिसर्ट लगाउन मन पर्छ । तर बाबा, ममीले लगाउन दिनुहुन्न । त्यही भएर लगाउन पाउँदिनँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप