बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्डबीचको खटपटले नेकपामा तरङ्ग, बन्ला त प्रचण्ड–माधव गठबन्धन ?

‘वान टु वान’ वार्तामार्फत सम्बन्ध सुधारको प्रयास
मङ्गलबार, ०५ कात्तिक २०७६, १२ : ५९
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का परस्पर विरोधी र खण्डनयुक्त अभिव्यक्ति आउन थालेपछि सिङ्गो नेकपामा तरङ्ग उत्पन्न भएको छ । 
दसैँलगत्तै गत बिहीबार चितवन पुगेर अध्यक्ष प्रचण्डले साङ्केतिक रूपमा पार्टीभित्र बेथिति मौलाएको तथा नेता–कार्यकर्तामा ग्यास्ट्रिक र अल्सरले छोएको टिप्पणी गरेलगत्तै अर्का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई ‘जवाफी फायर’ फर्काएपछि सो पार्टीका नेता कार्यकर्ताले एकता प्रक्रिया नै बिथोलिन त लागेको होइन भन्नेसम्मका आशङ्का गर्न थालेका छन् । 

प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई जवाफ दिने क्रममा लगातार दुईवटा दैनिक पत्रिका (कान्तिपुर र अन्नपूर्ण) मा अन्तरवार्ता नै दिन भ्याए । ‘अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका उक्त अन्तरवार्ता रणनीतिक छन् । जसले नेताहरुबीच मनमुटाव र टकराव छ भन्ने प्रस्ट हुन्छ,’, नाम उल्लेख गर्न नचाहने नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘दुई अध्यक्षको दोहोरी र पछिल्ला अभिव्यक्तिहरुले नेताहरुबीच कहीँ न कहीँ असमझदारी छ भन्ने सङ्केत गर्नुका साथै ती सङ्केत बाहिरै आउन थालेपछि पार्टी एकता बिग्रने त होइन भन्ने चासोसमेत प्रकट हुन पुगेका छन् । यसलाई छिटोभन्दा छिटो सकारात्मक वातावरण बनाउनतिर लाग्नुपर्छ ।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले गत भदौ ५ गते सिङ्गापुर जानुअघि दुई नेताबीच भएको सहमति कार्यान्वयनमा बेवास्ता गर्दा समस्या आएको हो । ओली सिङ्गापुर जानुअघि ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँट गरिएको थियो । त्यो सहमतिअनुसार प्रचण्डले पार्टी सञ्चालनको नेतृत्व गर्ने र ओलीले सरकार सञ्चालनको नेतृत्व गर्ने थियो । तर ओलीले त्यो सहमति कार्यान्वयन नगरेपछि प्रचण्ड सशङ्कित बन्न पुगेका थिए । सोही कुरा बुझेरै प्रचण्डले असोज ३० गते गृहजिल्ला चितवन पुगेर सहमति अनुसारको व्यवहार ओलीबाट हुन नसकेको भन्दै असन्तुष्टि पोखेका थिए । त्यसअघि सचिवालय सदस्य ईश्वर पोखरेल र माधवकुमार नेपाललाई भेट्न प्रचण्ड उनीहरुको घरमै पुगेका थिए । 

त्यसो त दुई नेताबीच टकराव बढ्नुमा प्रधानमन्त्री ओली नै बढी जिम्मेवार रहेको समेत नेकपामा चर्चा हुन थालेको छ । ‘सिङ्गापुर जानुअघिको सहमति कार्यान्वनमा बेवास्ता, अमेरिकाले दिने भनेको मिलेनियम च्यालेन्ज फन्ड अन्तर्गतको रकम संसदबाट पास हुन नसक्नु, इन्डोप्यासिफिक र बीआरआई तथा मन्त्रीमण्डल विस्तार लगायतका विषयमा ओलीले प्रचण्डदेखि महरासमेतलाई जोडेर अभिव्यक्ति दिएपछि समस्या थप बल्झिएको हो,’ नेकपाका एक सचिवालय सदस्यको भनाइ छ । 

यसरी फायर खोलेका थिए प्रचण्डले 


असोज ३० गते प्रचण्ड चितवन पुगेका थिए । कार्यक्रम थियो, पार्टीले आयोजना गरेको चियापन । सोही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा उनले पार्टीका सदस्यलाई नियन्त्रण गर्न नसक्दा जसले जे पायो त्यही बोल्ने र गर्ने अवस्था भएको भन्दै दुखेसो गरेका थिए । ‘पार्टी र नेता कार्यकर्तामा अराजकता मौलाएको छ । कम्युनिस्टका लागि देशमा कहीँ कतैबाट खतरा छ भने हामी नेता र कार्यकर्ताबाट नै छ । नेतामा महत्त्वकाङ्क्षा हाबी भएको छ ।  आफ्नो पृष्ठभूमि बिर्सने रोगले सताएको छ । यो क्रान्ति र कम्युनिस्टका लागि खतराको सङ्केत हो ।’

प्रचण्डले नेता–कार्यकर्तामा आएको बिचलन र नेताहरुमा बढ्दै गएको महत्त्वाकाङ्क्षाले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा नहुने सङ्केत पनि गरे । उनले अगाडि भने, ‘बिग्रिएर कामै नलाग्ने भएका छौँ भन्ने चाहिँ होइन, सबैमा धुलोमैलो लागेको छ । विगतमा राजनीतिमा आफू लाग्दाको अवस्था र अहिलेको अवस्था आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने समय आएको छ ।’  

उनले नेता कार्यकर्तामा उपचारै नहुने गरी क्यान्सर चाहिँ नभएको भन्दै ‘ग्यास्ट्रिक र अल्सर’सम्म भएको हुन सक्ने जनाउँदै बेलैमा उपचार गरी पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउन सबै जुट्नुपर्नेमा पनि जोड दिए । 
उनले नेता र कार्यकर्तामा गलत प्रवृत्ति हाबी भए सोभियत सङ्घ विघटन भएजस्तै गरी नेपालका कम्युनिस्टहरु सकिने चेतावनी पनि दिएका थिए ।

प्रचण्डलाई ओलीको जवाफी फायर 


दाहालको यस्तो अभिव्यक्ति आएपछि ओलीले त्यसको दुई दिनपछि दुईवटा दैनिक पत्रिकालाई अन्तरवार्ता दिँदै सोभियत सङ्घमा जस्तो नेपालमा कम्युनिस्ट शासन पतन नहुने दाबी गरे । उनले भने, ‘सोभियत सङ्घमा पार्टी र सरकार जनताबाट टाढा भयो । हामी जनतासँग नजिक भयौँ । जनताले चाहेअनुसारको व्यवहार गर्यौँ ।’

प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले थपे, ‘उहाँले के प्रसङ्गमा कसरी भन्नुभयो त्यो मलाई थाहा छैन । तर कुनै पनि नामको सरकार, शासनसत्ता उसका नीति र व्यवहारमा निर्भर गर्छ ।’ 

ओलीले प्रचण्डलाई मात्रै व्यङ्ग्य गरेरनन् उनले अर्का नेता माधवकुमार नेपाललाई पनि कडा तर व्यङ्ग्यात्मक जवाफ दिए । एक व्यक्ति एक पदको कुरा उठाउँदै आएका नेपाललाई ओलीले भने, ‘नेपालको पालामा एक व्यक्ति एक जिम्मेवारी थियो नि ? अध्यक्ष पनि उहाँकै, महासचिव पनि उहाँकै कोषाध्यक्ष र सचिव पनि उहाँकै । एक व्यक्ति एक पद ठ्याम्मै ।’

बन्छ त प्रचण्ड–माधव गठबन्धन ?
ओली प्रचण्डबीचको खटपट यो पटक मात्र देखिएको भने होइन । यसअघि पनि पार्टी एकताका विभिन्न चरणमा केन्द्रदेखि प्रदेश र जिल्लासम्मै कुन नेतालाई के जिम्मेवारी दिने भन्नेमा पटकपटक विवाद देखिएको हो । त्यही विवादका कारण डेढ वर्षसम्म पनि पार्टी एकताले पूर्णता पाएको छैन । पार्टी एकताले पूर्णता नपाएपछि नेताहरुबीच त्यही विषयसमेत झाँगिँदै जाँदा आरोप–प्रत्यारोपसम्मको अवस्था आएको नेकपाकै कतिपय नेताहरूले स्वीकार्दै आएका छन् ।

पार्टी एकताका क्रममा नेता माधवकुमार नेपालले राखेको फरक मतमा अध्यक्ष प्रचण्डसमेत केही हदसम्म लचक देखिन्छन् । त्यही क्रममा महाधिवेशन नहुँदासम्म ओलीले सरकार र दाहालले पार्टी सञ्चालन गर्ने सहमतिमा नेपालले समेत सहमति जनाएका थिए । तर त्यो विषय कार्यान्वयन नभएपछि नेपाल र प्रचण्डबीच निकटतासमेत बढ्दै गएको कुरा ओलीले थाहा नपाउने कुरै थिएन । ओली निकट एक स्थायी समिति सदस्यले भने, ‘उहाँले (ओलीले) प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आफूविरुद्ध गठबन्धन बन्न लागेको त होइन भन्ने बुझ्नु स्वाभाविक हो । त्यही भएर त्यसको डिफेन्ड गर्नुलाई अन्यथा लिन मिल्दैन ।’

गत साउनमा दुई अध्यक्षबीच नयाँ समझदारी बनेपछि पार्टीको शक्ति सन्तुलनमा नेपाल केही एक्लिएका भए पनि पछिल्ला दिनमा नेपाल र प्रचण्डबीच निकटता बढ्दै गएको छ । यद्यपि गठबन्धन नै बनाउने उद्देश्य नभएको दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । उनले दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयन भए सबै समस्या समाधान हुने पनि बताए । 

एकता प्रक्रिया बढेन अघि 
गत भदौमा ओली उपचारका लागि सिङ्गापुरमा थिए । त्यसैबेला भदौ ९ गते प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक बस्यो । त्यो बैठकले केही केन्द्रीय सदस्य थप्ने र पार्टी अनुशासनबाहिर गएका नेताविरुद्ध अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दियो । लगत्तै दाहालको एकल हस्ताक्षरमा अन्तरपार्टी निर्देशन पनि जारी गरियो । त्यसपछि भने सचिवालय बैठक बसेर कुनै ठोस निर्णय गर्न सकेको छैन ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास विशेष कमिटीको नेतृत्व  छनोट गर्न बाँकी नै छ । 

योसँगै केन्द्रीय विभागको पूर्णता दिने तथा पोलिटब्युरो गठन गर्ने विषय पनि नेकपा एकीकरण प्रक्रियाको बाँकी कामभित्रै रहेको छ । 

ओली–प्रचण्ड ‘वान टु वान’


पछिल्लो समय अध्यक्षद्वयबीच देखिएको खटपट, एक अर्काको अभिव्यक्तिमा खण्डनले समग्र पार्टीपङ्क्ति र जनतामा समेत गलत सन्देश जान थालेको भन्दै उनीहरुबीच आन्तरिक वार्ता र संवाद हुन थालेको छ ।

अध्यक्ष ओली आफैले प्रचण्डलाई फोन गरेर बालुवाटार बोलाएपछि प्रचण्ड आइतबार र सोमबार बालुवाटार पुगेका थिए । आपसमै विभाजित र एकअर्का लक्षित अभिव्यक्ति व्यक्त भइरहँदा विरोधीहरुले समेत खेल्ने मौका पाउने भएकाले उनीहरु आपसमा छलफल गर्न तयार भएको एक सचिवालय सदस्यले रातोपाटीलाई बताए । 

‘यसले राम्रो सन्देश जाँदैन भन्नेमा दुवै नेतालाई राम्ररी थाहा छ । त्यही भएर उहाँहरुबीच खुलस्त ढङ्गले छलफल हुन थालेको छ । बुधबार ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता समेत हुँदैछ । त्यो वार्तापछि यो खटपट र अविश्वास घटेर जान्छ’ ती नेताले भने । ओली निकट एक नेताका अनुसार प्रधानमन्त्री ओली अजरबैजान जानुअघि मुख्य विषयमा नेताहरु कम्प्रोमाइज गर्ने मुडमा छन् । ओली बिहीबार अजरबैजान जाँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप