बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सराङ्कोटमा एक घर एक धारा अभियान सुरु

मङ्गलबार, ०५ कात्तिक २०७६, १३ : ३४
मङ्गलबार, ०५ कात्तिक २०७६

कास्की– खानेपानीको अभाव झेल्दै आएको पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ ।  देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो ।

सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव हुँदा पर्यटकलाईसमेत असुविधा भएको अवस्थामा समस्या समाधानका लागि गत वर्ष तीन योजना शुरु गरिएको थियो । त्यसमध्ये एक सम्पन्न भएको र बाँकी दुई यसै वर्षभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन्छ ।

प्रदेश सरकारको रु एक करोडको लागतमा स्याउदे लिफ्टिङ योजना सम्पन्न भएर ९२ घरधुरीमा गत साउनदेखि धारामा पानी आउन शुरु भएको र तोरीपानी बोरिङ योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष रणबहादुर थापाले बताए । 

तोरीपानीका लागि प्रदेश सरकारले रु दुई करोड लगानी गरेको बताइन्छ । यस योजना सम्पन्न भएपछि १९२ धरधुरी लाभान्वित हुनेछन् ।   त्यसैगरि सराङकोटको सबैभन्दा ठूलो बूढीमूल लिफ्टिङ खानेपानी योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन भएको र योजना सकिएपछि ४०० घरधुरीमा धारा पुग्ने बताइएको छ । 

पानीको स्रोत रहेको बूढीमूलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर  एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा रिजर्भ वायर ट्याङ्की र वितरण च्याम्बरमार्फत घरघरमा पिउने पानी पु¥याउने रहेको सो खानेपानी योजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताए ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ ।  त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की निर्माण सम्पन्न भएको छ । घर घरमा पानी वितरणका लागि दुई वटा ३० हजार लिटर क्षमता वितरण ट्याङकी निर्माण गर्न बाँकी रहेको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताए । 

उनले हालसम्म २५० घरमा धारा जडान गरिसकिएको बताउँदै यसै वर्षभित्रमा योजनाले समेट्ने सबै घरमा धारा जडान गरेर पानी वितरण गर्ने योजना रहेको जानकारी दिए । बूढीमूल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु ९९ लाख ७० हजार तथा चालू वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

 त्यसैगरी महानगरले गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकार स्थापनापछि खानेपानी योजनामार्फत सराङकोटले लाभ लिएको बताउँदै वडाध्यक्ष थापाले भने, ‘प्रदेश सरकार यहाँका जनताका लागि बरदान सावित भएको छ । सरकार स्थापनाको पहिलो वर्षमानै यहाँका सांसद रामजी बरालमार्फत तीन वटा योजना पेश गरिएकोमा सबै योजना बजेटमा परेर यसैवर्ष काम सम्पन्न हुने चरणमा छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप