बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वमै नेताहरुविरुद्ध किन बढ्दैछ आक्रोश ?

बुधबार, ०६ कात्तिक २०७६, १० : ५४
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । हालै इराकदेखि लेबनानसम्म र स्पेनदेखि चिलीसम्म सार्वजनिक विरोध प्रदर्शन भएका छन् । कारण, तरिका र लक्ष्यका हिसाबले ती सबै प्रदर्शनमा भिन्नता छ तर तिनमा केही समानता पनि छ, जसले तिनलाई एकसाथ जोडेको छ ।

एक अर्काबाट हजारौँ माइल टाढा रहेर पनि विभिन्न देशमा विरोध प्रदर्शनका कारणहरु समान छन् र प्रदर्शनलाई कसरी व्यवस्थित तुल्याउने र लक्ष्यतर्फ बढ्ने भनेर केहीले एक अर्कालाई प्रेरित पनि गरेका छन् ।

लेबनानमा प्रदर्शन

असमानता

प्रदर्शनकारीमध्ये कयौँ यस्ता छन् जो लामो समयदेखि आर्थिक रुपमा उपेक्षित महसुस गर्दै आएका छन् । अत्यावश्यकीय वस्तुको मूल्यवृद्धिले पनि कयौँको सहनशीलताले सीमा पार गरेको हो ।

इक्वेडरमा यसै महिना सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको एक सम्झौताका कारण इन्धनमा एक दशकभन्दा लामो समयदेखि दिँदै आएको अनुदान अन्त्य गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन भयो ।

इराकमा प्रदर्शन

सरकारको उक्त निर्णयपछि इन्धनको मूल्यमा नाटकीय रुपमा वृद्धि भयो । कयौँले पेट्रोल खरिद गर्नु आफ्नो क्षमताभन्दा बाहिरको विषय बनेको प्रतिक्रियासमेत जनाए ।

देशमा सक्रिय विभिन्न समूहले इन्धनमा मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको भाडा र खाद्यान्नको लागतमा समेत वृद्धि भएको भन्दै ग्रामिण भेगका बासिन्दा अत्यधिक प्रभावित भएको बताउँदै आएका छन् । प्रदर्शनकारीले राजमार्ग बन्द गरिदिए, संसदमा हमला गरे र सुरक्षाकर्मीसँग समेत भिडे । सरकारले इन्धनमा दिँदै आएको अनुदान कायम रहनुपर्ने र सरकारी खर्च कटौति गर्नुपर्ने उनीहरुको माग थियो ।

कयौँ दिनसम्म प्रदर्शन भएपछि अन्ततः सरकार झुक्यो । विरोध प्रदर्शन पनि साम्य भयो ।

चिलीमा प्रदर्शन

यातायात भाडा वृद्धिका कारण चिलीमा व्यापक विरोध प्रदर्शन भयो । सरकारले इन्धनको मूल्य वृद्धि र मुद्रा कमजोर भएको कारण जनाउँदै बस र मेट्रोको भाडा वृद्धि गरेको थियो । प्रदर्शनकारीहरुले भने सरकारको उक्त निर्णय गरिबलाई निचोर्ने नयाँ तरिका भएको आरोप लगाउँदै विरोध जनाए ।

गत शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भयो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको समय त्यहाँका राष्ट्रपति एउटा इटालियन रेस्टुरेण्टमा भोजन गरिरहेको तस्वीरसमेत सार्वजनिक भएको थियो । यो दृष्यलाई कतिपयले चिलीको राजनीतिक कुलिन र सडकमा रहने जनताबीचको भिन्नताका प्रतीकका रुपमा समेत व्याख्या गरे ।

चिली दक्षिण अमेरिकाको सबैभन्दा धनी देशमध्ये एक हो । तर त्यहाँ असमानताको उच्चतम स्तर पनि पाइन्छ । इक्वेडरले जस्तै चिलीले पनि मूल्यवृद्धि फिर्ता लियो । तर पनि विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले व्यापक मुद्दा उठाइरहेका छन् ।

रोयटर्स समाचार एजेन्सीसँग एक छात्रले प्रतिक्रिया जनाउँदै भने, ‘यो मेट्रोको भाडा वृद्धिविरुद्ध मात्र प्रदर्शन भएको होइन, यो त अत्याचारविरुद्ध कयौँ वर्षदेखि पीडित मानिसहरुको आक्रोश हो ।’

लेबनानमा पनि यस्तै प्रकारको आक्रोश देखियो । त्यहाँ ‘ह्वाट्सएप कलिङ्ग ट्याक्स’विरुद्ध प्रदर्शन सुरु भयो । अन्त्यमा विरोध प्रदर्शन आर्थिक समस्या, असमानता र भ्रष्टाचारविरुद्ध विस्तार भयो ।

लेबनानमा अन्तर्राष्ट्रिय ऋण बढ्दो छ, अन्तर्राष्ट्रिय दातृ निकायबाट रकम प्राप्त गर्नका लागि सरकारले आर्थिक सुधार लागू गर्न थालेको छ । तर आम नागरिक भने देशको आर्थिक नीतिका कारण भयावह अवस्था आएको टिप्पणी गर्दछन् । उनीहरु सरकारको ‘कुप्रवन्धन’ नै समस्याका लागि जिम्मेवार रहेको ठान्छन् ।

बेरुतमा अब्दुल्ला नामका एक प्रदर्शनकारीले भने, ‘यहाँ हामी ह्वाट्सएपका लागि होइन, हामी त इन्धन, खाना सबै कुराका लागि आएका हौँ ।’

भ्रष्टाचार

यी अलग अलग विरोध प्रदर्शनको केन्द्र सरकारी भ्रष्टाचार पनि हो । असमानतासँग यसको सोझो सम्बन्ध छ ।

लेबनानका प्रदर्शनकारीको भनाइमा उनीहरु आर्थिक संकटबाट पीडित छन्, जबकि देशका नेताहरु धनी बन्नका लागि पद र शक्तिको फाइदा उठाइरहेका छन् ।

रबाब नाम गरेका एक ५० वर्षीय प्रदर्शनकारीले भने, ‘मैले यहाँ धेरै कुरा देखेँ तर लेबनानमा यस्तो भ्रष्ट सरकार देखेको थिइनँ ।’

जलवायु परिवर्तनविरुद्ध लन्डनमा प्रदर्शन

सरकारले गत सोमबार नयाँ सुधारका कार्यक्रम लागू ग¥यो । सुधार अन्तर्गत राजनेताहरुको तलव कटौतीका प्रावधान पनि ल्याइयो ताकि जनआक्रोश शान्त पार्न सकियोस् ।

इजिप्टमा पनि सरकारी भ्रष्टाचारविरुद्ध प्रदर्शन भयो । सेप्टेम्बरमा प्रदर्शन त्यतिबेला सुरु भयो जब स्पेनमा स्वनिर्वासित व्यापारी मोहम्मद अलीले अपिल गरेका थिए । उनले राष्ट्रपति अब्देल फतहब अल सीसी र सेनामाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।

राजनीतिक स्वतन्त्रता

केही मुलुकमा विरोध प्रदर्शन त्यो राजनीतिक व्यवस्थाविरुद्ध थियो जसमा मानिस आफूलाई फसेको पाउँथे । केही अघि हङकङमा एउटा विधेयकविरुद्ध प्रदर्शन सुरु भयो जसमा केही मामलामा संदिग्ध अपराधीलाई चीनमा स्थानान्तरित गर्ने प्रावधान थियो ।

हङकङ चीनको हिस्सा हो तर त्यहाँका जनतामा विशेष स्वतन्त्रता छ । तर बेइजिङले आफूहरुमाथि अधिक नियन्त्रण हासिल गर्न चाहेको त्रास उनीहरुमा बढ्दो छ ।

चिली र लेबनानका विरोध प्रदर्शनजस्तै हङकङमा प्रदर्शनकारीहरुको व्यापक विरोधको परिणामस्वरुप उक्त विवादास्पद विधेयक फिर्ता भयो । तर विरोध प्रदर्शन जारी छ । उनीहरुले पूर्ण अभिव्यक्ति स्वतन्त्रता, प्रहरी ज्यादतिविरुद्ध स्वतन्त्र जाँच र गिरफ्तार गरिएका प्रदर्शनकारीहरुको रिहाइको माग अघि सारेका छन् । (बीबीसी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप