बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानबाट ४६ जुवाडे पक्राउ

बुधबार, ०६ कात्तिक २०७६, १६ : १७
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट ४६ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ वर्षीय वीरबहादुर तामाङ समेत ६ जनालाई ३ बुक तास र नगद ३९ हजार ४ सय ७५ रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ६ सय लिटर र तयारी मदिरा ५ सय लिटरसमेत प्रहरीले बरामद गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–२८, पुरानो बसपार्कमा बा२ख ६४३७ नम्बरको बसभित्र तास खेलिरहेका रामेछाप दोरम्बा गाउँपालिका–६ बस्ने १९ वर्षीय हिरालाल तमारसमेत ४ जनालाई नगद १३ हजार ६ सय ९० रुपैयाँ र एक बुक ताससहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–४ भेटघाट चोक बस्ने ६० वर्षीया लक्ष्मी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत १२ जनालाई ४ बुक तास र नगद १ लाख ७८ हजार ५ सय रुपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, सुनसरी, ईनरुवा नगरपालिका–१ स्थित नम्रता होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय प्रदिपकुमार साह समेत ७ जनालाई ८१ हजार ५ सय ७० रुपैयाँ र ६ हजार ६ सय ८० भारतीय रुपैयाँ, ७ थान मोबाइल र ताससहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ तेजनगर बस्ने कालीबहादुर पुनको घरमा जुवातास खेलिरहेका सुर्खेत बीरेन्द्रनगर नगरपालिका–३ बस्ने ४१ वर्षीय हरि थापासमेत ११ जनालाई नगद ६२ हजार रुपैयाँ र ३ बुक ताससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, मोरङको कटहरी गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश मण्डलको घरमा जुवातास खेलिरहेका मण्डलसमेत ६ जनालाई एक बुक तास र नगद ६८ हजार ९ सय ६० रुपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप