शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाड नेपाली, मसला विदेशी

डेढ अर्बको भाइमसला आयात, एउटै मसलाको मूल्य २५ सयसम्म बढ्यो
शुक्रबार, ०८ कात्तिक २०७६, १३ : १२
शुक्रबार, ०८ कात्तिक २०७६

हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भोलि (कात्तिक ९ बाट) शुरु हुँदैछ । बजारमा तिहारका लागि सामान किन्नेहरुको भीड उत्तिकै बढेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने मसलाको माग यतिबेला बढी हुन्छ । माग बढेकै कारण व्यवसायीहरूले महँगो मूल्यमा तिहारको मसला बेचिरहेका छन् । पसल नै पिच्छे आ–आफ्नै खालका मूल्य निर्धारण भएको पाइन्छ ।

एउटै मसलामा गत वर्षको तुलनामा प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्मले बढेको छ । यद्यपि, एक÷दुई आइटम बाहेक अन्य मसलामा खासै मूल्य नबढेको खुद्रा ब्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

गत वर्ष ३ हजार रुपैयाँ प्रतिकेजीमा पाइने सुकुमेल अहिले बढेर ५ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । यता मखना पनि केजीमा २ सय रुपैयाँसम्मले बढेको छ । गत वर्ष एक हजार ५० रुपैयाँ प्रतिकेजीमा पाइने मखना १ हजार २ सय ५० रुपैयाँसम्म पुगेको छ ।

ल्वाङमा पनि मूल्य बढेको छ । यो आइटम केजीमा २ सय रुपैयाँसम्मले बढेर १ हजार ८ सय रुपैयाँसम्म पुगेको छ । सुपारी केजीको ६ देखि सात सय रुपैयाँसम्ममा पाइन्छ । अन्जिर २ हजार सम्म, दालचिनी ५ सय २० रुपैयाँसम्म, मिश्री १ सय ८० रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म, अलैँची १५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यता, काजु किसमिसमा भने मूल्य धेरै बढेको छैन । काजु १५ देखि १७ सय रुपैयाँ प्रतिकेजीमा पाइन्छ । किसिमिस ५ सयदेखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्ममा बजारमा उपलब्ध रहेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पेस्ता र नरिवलको मूल्य भने घटेको छ । पहिले २ हजार रुपैयाँ प्रतिकेजी पर्ने पेस्ता अहिले १ हजार सातसय सम्ममा बिक्रि भइरहेको छ ।

नरिवलमा पनि मूल्य थोरै घटेको छ । ५ सय रुपैयाँसम्ममा पाइने नरिवल अहिले ४८० सम्ममा पाइन्छ । बदाम प्रतिकेजी १ हजार ३ सय देखि १ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ । छोकडा २ सय देखि २ सय ५० को आसपासमा छ ।

खुद्रा ब्यापार संघका अध्यक्ष श्रेष्ठ सुकुमेल र मखनाको मूल्य बढ्नुमा उत्पादन कम अथवा आयात नै कम भएको कारण हुनसक्ने बताउँछन् ।

यद्यपि, खुद्रा व्यापार संघले भनेकोभन्दा फरक मूल्यमा पनि बजारमा मसला बिक्रि भइरहेको छ । यसलाई श्रेष्ठ खुला प्रतिस्पर्धी बजारमा २/४ रुपैयाँ फरक पर्नु स्वाभाविक मान्छन् ।

डेढ अर्बको मसला आयात

हिन्दु धर्मावलम्बीहरु धुमधामका साथ तिहार मनाउँछन् । दशैं, तिहारजस्ता चाड नेपालको मौलिक पर्व भनिए पनि यी पर्व मनाउनका लागि आवश्यक सामानमा भने हामी परनिर्भर हुनु परिरहेको छ । 

तिहारमा अत्यधिक माग हुने भाइमसला धेरैजसो भारतबाट आयात हुन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको भाइमसला आयात भएको जनाएको छ ।

गत आर्थिक वर्षमा (एक वर्षमा) ४ अर्बको भाइमसला आयात भएको थियो । नेपाल खुद्रा व्यापार संघका अनुसार तिहारको बेलामा भाइ मसलाको कारोबार उच्च हुन्छ । विवाहको मौसममा पनि मसलाको माग हुने गरेको छ ।

फोटो : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप