शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यमा १५ हजार गुनासो, बल्ल ९ सय सम्बोधन

शुक्रबार, ०८ कात्तिक २०७६, १३ : २३
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं । अन्य प्रशासन क्षेत्र कर्मचारी समायोजनपछि आफ्नो कामको रफ्तारमा लागिसकेको बेलामा यता स्वास्थ्य क्षेत्रको समायोजन भने अझै टुङ्गिन नसक्दा देशभरको स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ ।

सामान्य प्रशासन मन्त्रालयले समायोजनको लिष्ट सार्वजनिक गर्दा स्वास्थ्य क्षेत्रका कर्मचारी र अन्य क्षेत्रको कर्मचारीलाई एउटै तरिकाबाट समायोजन भएको भन्दै कर्मचारी तथा स्वास्थ्य विज्ञहरुले स्वास्थ्यको मर्म अनुसार समायोजन हुनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन चर्काएका थिए ।

पछि सामान्य प्रशासन मन्त्रालयसँगको छलफलपछि स्वास्थ्य क्षेत्रको मर्मअनुसार स्वास्थ्यको समायोजन गर्न गुनासो बुझ्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो ।

तर अहिलेसम्म स्वास्थ्य मन्त्रालयले कर्मचारीको गुनासो सम्बोधन गर्न नसक्दा समायोजन टुङ्गिन सकेको छैन । अझैसम्म पनि स्वास्थ्यकर्मीहरु आफ्नो कार्यक्षेत्र छाडेर मन्त्रालयमा धाइरहेका छन् । 

हाल झण्डै १५ हजार कर्मचारीले मन्त्रालयमा गुनासो दर्ता गरेका छन् । गुनासो समायोजन एवं सहजीकरण समितिका एक सदस्यका अनुसार अहिलेसम्म ९ सय अर्थात २० देखि ३० प्रतिशतमात्रै गुनासो सम्बोधन भएको छ ।

अझै १४ हजार कर्मचारीको गुनासो सम्बोधन हुन बाँकी नै छ । यो कहिलेसम्म सम्बोधन हुने हो भन्ने कुराको यकिन जानकारी स्वास्थ्य मन्त्रालयलाई नै छैन ।

मन्त्रालयले समायोजनको काम ९८ प्रतिशत सम्पन्न भएको दावी गरे पनि कर्मचारीको रायअनुसार गुनासो सम्बोधन नहुँदा कर्मचारीहरु अझै कार्यक्षेत्रमा जान सकेका छैनन् ।

गुनासो परेकामध्ये धेरैले आफूलाई पायक पर्ने कार्यक्षेत्र, सुगम ठाउँ रोज्नेको संख्या धेरै भएको मन्त्रालय जनाएको छ । काठमाडौं उपत्यका, नेपालगञ्ज, पोखरा लगायको सहरी क्षेत्रमा जान चाहने स्वास्थ्यकर्मीहरुको संख्या धेरै छन् । सुगम रोज्ने, पदमा तलमाथि भएको, नामथर नमिलेको जस्ता समस्या मन्त्रालयको गुनासो समितिमा दर्ता भएका छन् ।

समायोजनपछि तराई क्षेत्रमा जान चाहने स्वास्थ्यकर्मीहरुको संख्या पनि धेरै छन् । प्रदेश नम्बर दुईको एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जाने, आफुलाई पायक पर्ने क्षेत्रलाई रोज्नेहरुको संख्या पनि धेरै छन् । गुनासो दर्ता गर्नेमा सबैभन्दा धेरै अहेव, अनमी लगायतका स्वास्थ्यकर्मी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप