बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात वर्षे बालबालिका जत्तिकै बाठो हुन्छ काग

प्रतिशोध साँध्छ, शोक मनाउँछ र चकचकेलाई दण्डित पनि गर्छ
शनिबार, ०९ कात्तिक २०७६, ०८ : ०४
शनिबार, ०९ कात्तिक २०७६

पूर्वेली नीतिकथाको कुरा गर्दा पण्डित विष्णु शर्माले रचना गरेका हितोपदेशदेखि पश्चिमेली समाजका विश्वप्रख्यात नीतिकथा फेबल्स अफ एसप’ले समेत स्वीकारेको र स्थापित गरेको तथ्य हो : काग अत्यन्तै बाठो जीव हो । हितोपदेशमा यत्रतत्र कागलाई एउटा प्रमुख र बाठो पात्रको रुपमा चित्रित गरिएको पाइन्छ । अर्कोतिर, एसपको कथामा ‘एउटा घैलामा ढुंगा हालेर पानी पिएको’ कागको बुद्धिमत्ताको कथा पनि विश्वविख्यात नै छ ।

त्यसो त हितोपदेश र एसपका कथाले मात्रै हैन, आधुनिक विज्ञानले समेत के स्वीकारिसकेको छ भने काग वास्तवमै अत्यन्तै बाठो र चलाख जीव हो ।

आउनुहोस्, हितोपदेशका नीतिकथाहरु, अनि एसपका कथाहरुले उहिल्यै मान्दै आएको र अहिले विज्ञानले पनि स्वीकारेको कागको बठ्याइँबारे आज काग तिहारको अवसरमा हामी पनि केही चर्चा गरौं ।

कागको बथानको अनौठो नामः ‘हत्या’

https://s3.amazonaws.com

काग कोरभिडे परिवारमा पर्ने चरा हो । इतिहासकालदेखि नै मानिसहरुले कागको बुद्धिमत्तालाई मानेका छन् र चर्चा पनि गरेका छन् । अत्यन्तै चलाख हुने यो चरा धूर्त पनि हुन्छ । हिन्दू विश्वासमा कागलाई मृत्युको देउता यमराजको सन्देशवाहक पनि मान्ने गरिन्छ । त्यसो  रमाइलो कुरा के छ भने कागको समूहलाई अंग्रेजीमा चाहिँ मृत्य अर्थात् murder भन्ने गरिन्छ । सम्भवतः यो नामकरणको पछाडि पनि त्यही हिन्दू मिथकले काम गरेको हुन सक्छ । जेहोस्, सबैले मानेको र जानेको कुरा चाहिँ के हो भने काग अत्यन्तै चलाख जीव हो ।

सात वर्षे वच्चा जत्तिकै चलाख

मानव मस्तिष्कसँग तुलना गर्ने हो भने कागको मस्तिष्क अत्यन्तै सानो हुन्छ । चराहरुमा चलाख मध्येका पनि चलाख मानिने कागको मस्तिष्क चाहिँ औसत रुपमा हाम्रो बुढी औला जत्रो मात्रै हुन्छ । मानिसको तुलनामा त्यति सानो मस्तिक हुने कागको बुद्धिको कुरा गर्ने हो भने त्यो एउटा सात वर्षे बालक जत्तिकै चलाख हुने कुरा वैज्ञानिकहरु बताउँछन् ।

तर बुझ्नु पर्ने कुरा के हो भने मस्तिष्कको कार्यक्षमताको कुरा गर्दा त्यसले धारण गरिरहेको शरीरको आकारले पनि फरक पार्ने गर्छ । अर्थात् कुनै पनि जीवको मस्तिष्कको तुलना मानिससँगको मस्तिष्कको आकारको आधारमा होइन, त्यही प्राणीको शरीरको आकारको सापेक्षतामा तुलना गरिनुपर्छ । यस अर्थमा शरीरको आकारसँग तुलना गर्दा कागको मस्तिष्क र एउटा स्तनधारी जीव, जसमा मानिस पनि पर्दछ, उस्तै उस्तै हुन आउँछ ।युनिभर्सिटी अफ वाशिंगटन्स एभिएसन कन्जर्भेसन ल्याबका प्रोफेसर जोन माज्र्लुफका अनुसार, वास्तवमा काग उड्ने बाँदर जस्तै हो । चाहे त्यो मैत्रीपूर्ण वा फिल्ममा देखाइने दुष्ट बाँदर किन नहोस्, त्यसको तपाईंप्रतिको व्यवहार तपाईंले त्यो काग वा त्यसका साथीलाई कस्तो व्यवहार गर्नुभएको छ भन्ने कुरामा भरपर्छ ।

कागले मानिसको अनुहार चिन्छ, प्रतिशोध साँध्छ

कागलाई देखेर तपाईं एउटा अर्कोसँग भिन्नता छुट्याउन सक्नुहुन्छ ? अर्थात् कागहरुको बथानबाट कुन काग कुन हो भनेर तपाईं चिन्न सक्नुहुन्छ ? अहँ त्यो गाह्रो कुरा हो । तर यो मामिलामा काग मानिसभन्दा बाठो हुन्छ । त्यो कसरी भने कागले मानिसको अलग अलग अनुहारलाई चिन्न सक्छ । प्रोफेसर माज्र्लुफको टीमले कागहरुलाई समात्यो, त्यसलाई चिन्ह लगायो र छोडिदियो । उनका टीमका सदस्यहरुले भिन्नभिन्न खालका मास्कहरु लगाएका थिए । पछि कागको समूहले त्यस्ता मास्क लगाएका मानिसहरुमाथि आक्रमण गरेका थिए । रोचक कुरा चाहिँ के थियो भने, कागले ती मास्कधारीहरुमाथि मात्रै आक्रमण गरेका थिए, जसले उक्त टीमका सदस्यले कागलाई पक्रने, चिन्हित गर्ने र छोड्ने क्रममा ती मास्कहरु प्रयोग गरेका थिए ।

https://www.thoughtco.com/

यसले के साबित भयो भने, कागले मानिसको अनुहार याद गर्छ र प्रतिशोध साँध्छ ।

त्यसो त कागले आफूलाई माया गर्ने मानिसलाई पनि चिन्ने गर्छ ।

कागले एकापसमा मासिनका बारेमा पनि कुरा गर्छ

https://www.thoughtco.com

दुईवटा कागसँगै बसेर तपाईंतिर हेरिरहेको छ र एकअर्कासँग केही कुरा भनिरहेको छ भने हुनसक्छ, उनीहरुले तपाईंकै बारेमा कुराकानी गरिरहेको पनि हुन सक्छ । प्रो. माज्र्लुफको अध्ययनको दौरानमा के देखियो भने उनको टीमले पक्राउनै नगरेको कागले पनि टीमका सदस्यहरुमाथि आक्रमण गरेका थिए । तर कागहरुले एकअर्कालाई आफूहरुलाई दुःखदिने व्यक्तिका बारेमा कसरी बताउँछन् भन्ने कुरा चाहिँ अहिलेसम्म कमै मात्र बुझिएको छ । तर उक्त टीमको निष्कर्षअनुसार, कागले कराउँदा पैदा हुने घनत्व, त्यसको लय र समयमा उनीहरुको भाषा आधारित रहेको हुन्छ ।

कागले औजार प्रयोग गर्छ

त्यसो त थुप्रै प्राणीहरुले औजारको प्रयोग गर्ने गर्छन् तर काग मात्रै त्यस्तो गैर स्तनधारी जीव हो, जसले आफ्ना काम सम्पन्न गर्नको लागि नयाँ औजार पनि बताउन र प्रयोग गर्न सक्छ । लठ्ठीको छेस्कोलाई भाला वा अंकुशेको रुपमा कागले प्रयोग गर्ने कुरा सामान्य भइसक्यो । कतिसम्म भने कागले तारको टुक्रालाई समेत मोडेर औजारको रुपमा प्रयोग गर्ने गर्छन् चाहे उसले त्यसभन्दा अघि कहिल्यै तारको टुक्रा नदेखेको नै किन नहोस् ।

https://www.thoughtco.com

विश्वप्रसिद्ध एसपको कथामा काग र घैलाको कथा छ । त्यसमा तिर्खाएको एउटा कागले घैलाबाट पानी पिउनको लागि घैलामा ढुंगा हालिहाली पानीको सतह बढाएको र पानी पिएको कथा छ ।

त्यो कथामा उल्लेख गरिएजस्तै गरी काग बाठो हुन्छ कि हुँदैन त भनेर जाँच्नका लागि वैज्ञानिकहरुले एउटा प्रयोग गरेर हेरे । उनीहरुले एउटा गहिरो ट्युबमा एउटा तैरिने बस्तु हालिदिए । त्यस प्रयोगमा उपयोग गरिएका कागहरुले घनत्व बढी भएका वस्तुहरु ट्यूबमा ल्याउँदै त्यो तैरिने वस्तु उनीहरुले नभेटेसम्म खसाल्दै गए । त्यसक्रममा कागहरुले पानीमा तैरिने वस्तुलाई रोजेनन्, उनीहरुले खालि पानीमा डुब्ने बस्तुमात्रै छाने । उनीहरुले त्यो ट्यूबको मुखमा नअटाउने वस्तु पनि छानेनन् ।

हेक्का राख्नुपर्ने कुरा के छ भने गह्रौं वस्तुले पानीलाई विस्थापन गर्छ भन्ने ज्ञान ती कागहरुमा रहेको देखियो । यो ज्ञान सामान्यतः ६–७ वर्षको उमेरमा बच्चाहरुले सिक्ने गर्छन् ।

कागले भविष्यको योजना बनाउँछ

मानिसले भविष्यको योजना बनाउने कुरा सामान्य हो । तर त्यसरी भविष्यको योजना बनाउने प्राणीमा मान्छे मात्रै पर्दैन । मानिस बाहेकका थुप्रै प्राणीहरुले भविष्यको योजना बनाउने गर्छ । उदाहरणको लागि, लोथर्के, कमिला, मौरी लगायतका जीवजन्तुको नाम लिन सकिन्छ । त्यसैगरी, कागले पनि भविष्यको योजना बनाउने गर्छ । उसले त्यसरी भविष्यको योजना बनाउँदा आफ्ना लागि मात्रै सोच्दैन, अरु कागहरुका बारेमा पनि सोचविचार गरिरहेको हुन्छ ।

https://www.thoughtco.com

उदाहरणको लागि, कागले खाना फेला पारेपछि वरिपरिका अरु जनावरहरुले देखिरहेका छन् कि छैनन् भनेर चनाखो भई यताउति हेर्ने र खाना त्यतै वरपर लुकाएको जस्तो गर्ने गर्छ । तर वास्तवमै कागले खाना जमीनमा वरपर हैन, आफ्नो पखेटामुनि लुकाएको हुन्छ । त्यसपछि काग उडेर अरु कसैले नदेखेको गोप्य ठाउँ खोज्न जान्छ र आफूले खोजेको खानेकुरा लुकाउँछ । एउटा कागले अर्को कागले खानेकुरा लुकाइरहेको देख्यो वा फेला पर्यो भने खानेकुरा पखेटामुनि लुकाएर झुक्याउने खेललाई उसले बुझिसकेको हुन्छ र त्यो क्रियाले उसलाई मुर्ख बनाउन सकिँदैन । त्यस अवस्थामा त्यो कागले आफूले केही नदेखेको जस्तो अभिनय गर्दै खानेकुरा लुकाउने कागलाई पछ्याएर उसको नयाँ ठाउँ पत्ता लगाउने गर्छ ।

कागले नयाँ परिस्थितिलाई ग्रहण गर्छ

कागले मानिसको प्रभुत्व रहेको संसारमा बाँच्ने कला ग्रहण गरेको छ । उनीहरुले हामी मानिले के गर्छौं भन्ने कुरालाई राम्ररी नियालिरहेको हुन्छ र त्यसबाट सिक्ने काम पनि गर्छ ।

https://www.thoughtco.com

कागले ट्राफिक लेनमा ओखरहरु खसाउने गरेको पनि पाइएको छ ताकि त्यहाँ गुड्ने गाडीको चक्काले त्यसलाई फुटाइदियोस् । कतिसम्म भने कागले कतिखेर ट्राफिक लाइट हरियो, रातो वा पहेंलो बल्छ भन्ने कुराको समेत हेक्का राख्छ र त्यहीअनुसार उनीहरुले रातो बत्ती बलेपछि मात्रै गाडीले फुटाएको ओखर टिप्न जान्छ । यसबाट के देखिन्छ भने काग ऊजस्तै बुद्धिराख्ने अरु प्राणीहरुभन्दा टाठो पनि हुन्छ । कागले रेष्टुराँको समयतालिका समेत याद गर्ने गरेको पाइएको छ ताकि फोहोर फ्याँक्ने दिन सबैभन्दा पहिले गरेर खानेकुरा टिप्न सकियोस् ।

अनौठो स्मरणशक्ति

कागको बथान खानेकुराको खोजीमा यत्रतत्र उड्ने गर्छन् । यस दौरानमा कतिपय कागहरु मौसमअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइ गर्ने र पछि पुनः पहिलेको ठाउँमा फर्केन पनि गर्छन् । यस क्रममा कागको बथानले त्यस्तो स्थानलाई पन्छाउने गर्छ वा त्यस क्षेत्रबाट जाँदैन, जुन ठाउँमा उनीहरुमाथि पहिले कुनै बेला आक्रमण भएको वा आफ्ना कुनै साथीलाई मारिएको होस् ।

https://www.abc.net.au

रोचक त के छ भने, त्यो क्रम कागको बथानको कैयौं पुस्तासम्म पनि कायमै रहन्छ । यसको अर्थ के हो भने कागले आफ्ना शाखा सन्तानलाई समेत कुनै पनि कुरा वा घटनाक्रमहरुको जानकारी हस्तान्तरण गर्ने गर्छ । कदाचित त्यस्तो पहिले आफूमाथि आक्रमण भएको वा क्षति भएको ठाउँबाट पार गर्नुपर्यो भने पनि कागको त्यो बथान त्यस्तो क्षेत्रमा अत्यन्तै माथिल्लो उचाईमा गएर उठ्ने गर्छन् ताकि उनीहरु मानिसले गर्न सक्ने हमलाबाट बच्न सकून् ।

कागले पनि शोक मनाउँछ

हामी हाम्रा प्रियजनहरुको मृत्युमा भेला भएर शोक मनाउने गर्छौं । कागले पनि आफ्ना समूहको कुनै काग मर्यो भने त्यसरी नै शोक मनाउने गर्छ । उनीहरु मृतकको वरिपरि जम्मा भएर ठूलो स्वरमा एकहोरो कर्कश आवाज निकाल्ने गर्छन् । अनुसन्धानकर्ताहरुका अनुसार त्यसरी कागले भेला भएर कराउनुको अर्थ उनीहरुले शोक मनाएको नै हो । त्यसका साथसाथै, उनीहरुले त्यो शवको बारेमा बताएर अरु कागहरुलाई सम्भावित खतराका बारेमा पनि सचेत गराउने काम गरिरहेको हुन्छ ।

चकचकेलाई दण्डित गर्छ

हामी मानिसहरु आफ्नो समूहका कुनै व्यक्तिले गलत व्यवहार गर्यौं भने उसलाई दण्डित गर्छौं, समूहबाट बाहिर गर्छौं । कागले पनि ठीक त्यसरी नै आफ्नो समूहका खराब व्यवहार गर्ने, स्वार्थी व्यवहार देखाउने कागलाई दण्डित गर्छ, समूहबाट बहिष्कार गर्ने गर्छ ।

सन् २०१५ गरिएको एक प्रयोगात्मक अध्ययनमा खानेकुरा चोर्ने कागलाई समूहका अन्य कागहरुले असहयोग गर्ने गरेको, त्यसलाई समूहबाट बहिष्कार गरेको देखिएको थियो ।

यस्तो खालको विशिष्ट व्यवहार मानिस, चिम्पान्जीहरुमा मात्र हुने गरेको पाइन्थ्यो ।

(यो आलेख पुन: प्रकाशन गरिएको हो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप