शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट सिटी बनाउने हो भने आर्किटेक्टलाई जिम्मा दिऊँ’

हामीलाई इन्जिनियरिङभित्र नराखियोस् : अन्जु मल्ल
शनिबार, ०९ कात्तिक २०७६, १० : ५२
शनिबार, ०९ कात्तिक २०७६

गत वर्षमात्रै आफ्नो व्यवसायीक जीवनको रजत महोत्सव मनाएकी छिन् आर्किटेक्ट अन्जु मल्ल प्रधानले ।

आर्किटेक्टहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना)’ की वर्तमान अध्यक्षसमेत रहेकी मल्लले जतिबेला आर्किटेक्टको अध्ययन गरिन्, त्यो बेला नेपालमा आर्किटेक्ट विषयमा अध्यापन नै सुरु भएको थिएन ।

संयुक्त परिवारमा हुर्केकी उनलाई इन्जिनियर वा डाक्टर पढ्नुपर्ने पारिवारिक ‘प्रेसर’ थियो । घरमा काका, फूपूहरु कोही डाक्टर, कोही इन्जिनियर, बुबा त्रिभुवन विश्वविद्यालयमा जियोलोजीका प्राध्यापक । अन्य परिवारमा जस्तै उनमा सानैदेखि कि डाक्टर, कि इन्जिनियर बन्नुपर्ने रटान थियो ।

डाक्टरहरुको जीवन निकै व्यस्त र तनावपूर्ण देखेकी अन्जुले पहिल्यै डाक्टर चाहिँ नपढ्ने सोच बनाएकी रहिछन् । उनलाई इन्जिनियर पढ्ने धोको भने खुब थियो ।

काठमाडौँकै ठमेलमा जन्मे हुर्केकी मल्लले ललितपुरस्थित सेन्ट मेरिज स्कूलबाट एसएलसी गरिन् । 

सन् १९९० तिरको कुरा हो आर्किटेक्ट विषयबारे अनभिज्ञ मल्लले भारतीय दूतावासमा छात्रवृत्तिका लागि आवेदन दिईन । आवेदन फारममा उनको रोजाइको विषय थियो सिभिल इन्जिनियरिङ । सिभिल पछिको दोस्रो अप्सन पनि थियो । यदी पहिलो अप्सनमा अध्ययनको स्वीकृति नपाएको खण्डमा दोस्रो अप्सनको अध्ययन गर्न पाईन्थ्यो । उनले दोस्रो अप्सनमा पनि टिक लगाइन, त्यो थियो आर्किटेक्ट । तर हचुवामै ।

नेपालमा त्यो समय सिभिल, इलेक्ट्रिक, मेकानिकललगायत इन्जिनियरिङ विषयमा मात्रै अध्यापन हुन्थ्यो । हुन् त १९८४ तिर नै पुल्चोक क्याम्पसले आर्किटेक्ट अध्यापनको लागि स्वीकृति लिएको थियो । तर १९९५ बाट मात्रै यसको अध्यापन सुरु भएको थियो ।

भारत पढ्न जानको लागि दूतावासले अन्जुलगायतको नाम प्रकाशन गर्यो । तर अन्जुको नाम सिभिलको लागि थिएन उनको नाम त आर्किटेक्ट विषय अध्ययनमा जाने विद्यार्थीको लिस्टमा पो थियो । उनले पत्र बुझिन र लागिन कलकत्ताको जादभपुर विश्वविद्यालय तिर ।

आर्किटेक्ट भनेको नै थाहा नपाएकी उनले विश्वविद्यालयमा गएर पहिला नक्सा कोर्नुपर्यो । अनि थाहा पाईन कि आर्किटेक्ट त नक्सा कोर्ने पो रहेछन् । उनले आफ्नै घर सम्झेर नक्सा कोरिदिइन् र सुरु भयो नक्सा कोर्ने अन्जु मल्लको यात्रा ।

पढाईमा अब्बल अन्जुलाई ५ वर्षे आर्किटेक्टको कोर्स सकिना साथै कलेजकै डिपार्टमेन्ट हेडले काम दिलाइदिए । कलेजको कोर्स सकिए पनि होस्टेलमै बसेर काम गर्न थालेकी थिइन अन्जु । तर उनलाई हप्ताको दुई पटक घरबाट आवा आउन थाल्यो । हरेक आवामा घर फर्केर आउ मात्रै हुन्थ्यो । परिवारले पढ्न त पठायो तर त्यही काम गर्ने स्विकृति भने दिएन र उनी नपाल फर्कन बाध्य भईन् ।

अन्जु साथीहरुसँग न्यूरोडतिर घुम्दै थिइन । त्यहिबेला वास्तुविद् राजेश श्रेष्ठ दाईसँग भेट भयो । उहाँले अन्जुलाई अफिसमा आउन आग्रह गरे । भोलिपल्ट श्रेष्ठको अफिस पुग्दा त उनलाई जागिर दिन पो बोलाएका रहेछन् । अन्जुले त्यो बेला ढुंगा खोज्दा देउता भेटिन । र सुरु गरिन् आर्किटेक्टसको यात्रा ।

काठमाडौं महानगरपालिकाले ‘राष्ट्रिय भवन निर्माण प्रतिस्पर्धा’ आयोजना गर्यो । प्रतिस्पर्धामा अन्जुले पनि भाग लिईन् । र पहिलो पुरस्कार प्राप्त गर्न सफल पनि भइन् । यो उनको पहिलो सफलता थियो ।

आर्किटेक्टस्को यात्रा

नेपालमा निकै न्यून मात्रामा थिए आर्किटेक्ट । त्यसमा पनि महिला । महिला भएर बोलेको खण्डमा पोथी बास्यो भन्ने समाजमा एउटा महिलालाई काम गर्न पक्कै कठिन नै थियो ।

अन्जु जब पेपर र पेन्सिल बोकेर साइटमा जान्थिन् त्यहाँ कार्यरत डकर्मीले जाबो नाथे आइमाईले हामीलाई सिकाउने भन्थे । महिला भएकै कारण धेरै पटक अपमान महसुस गर्नुपरेको सम्झदैं अन्जु भन्छिन्, ‘समयले कोल्टे फेरेको छ अहिले । हुन त अहिले पनि महिला र पुरुषमा विभेद कायमै छ । तर पनि पहिले भन्दा धेरै परिवर्तन भएकोमा भने केही सन्तोष लिने ठाउँ बनेको छ ।’

आर्किटेक्ट, महिला अनि त्यो बेलाको हाम्रो समाज । अहिले सम्झदा कसरी गरे हुँला जस्तो लाग्छ उनलाई । त्यो समयमा काठमाडौं, ललितपुर र भक्तपुरका डकर्मीको निकै भ्यालु थियो । उनीहरु घर बनाउन निकै सिपालु मानिन्थे । कुनै पनि घर तथा भवन निर्माणमा अग्रपंक्तिमै हुन्थे उनीहरु । तर, जब आर्किटेक्ट अनि इन्जिनियर गएर यस्तो गर्ने भन्यो भने त उनीहरु अफ्नो इज्जत नै गए जस्तो गर्दथे ।

नेवार परिवारकी सदस्य भए पनि अन्जुलाई नेवारी भाषा नआउने । यहाँका डकर्मीहरु सबै नेवाः समुदायका । उनलाई भाषाको समस्या निकै भयो । उनीहरुको भाषामा कुरा गर्दा बुझाउन सहज हुने भएकाले उनले भाषा सिकेरै भएपनि आफ्नो काम गरेरै छाड्ने अठोटसहित नेवारी भाषा सिकिन ।

अचम्म त पहिला आफ्नो कुरा नसुन्ने डकर्मीहरु नेवारी भाषामै कुरा गर्न थालेपछि भने कुरा सुन्न थाले र आफ्नो डिजाइन अनुसारको काम पनि गर्न थाले ।

लोकल कन्ट्र्याक्टर मात्रै हुने त्यो जमानामा कामको मूल्य पाउन पनि निकै कठिन थियो । एक त महिला त्यसमाथि लोकल कन्ट्र्याक्टरसँग काम गर्नुपर्ने । आफूले गरेको कामको पैसा लिन पनि निकै कठिन हुन्थ्यो ।

विस्तारै कागजी रुपमा काम हुन थाल्यो, आर्किटेक्टहरुको संख्या बढ्न थाल्यो र मानिसहरुले पनि बुझ्न थाले अनि बल्ल सहज हुँदै आएको छ ।

हुन त सुरुवाती दिनबाटै पर्दा बाहिर आएर काम गर्न सुरु गरेकी अन्जुलाई बाहिरी संसारमा संघर्ष गर्न सहज भयो । धेरै महिलाहरु त फिल्डमा नगई अफिसमै बसेर काम गर्ने फिल्डमा जान आँट नगर्ने अवस्था थियो । तर अन्जुले त्यो परम्परा तोडेरै काम गरिन् । अहिले पनि विभिन्न सभा, समारोह, तालिमलगायतमा सहभागि हुन्छिन मल्ल, जहाँ पूरुषहरुको विचमा एक्लै उनी महिला प्रतिनिधि बनेर । पहिले अलि धकाउने अनि डराउने उनलाई अहिले भने आफ्नो पेशाको प्रतिनिधित्व गरेर पूरुषहरु माझमा उभिँदा गर्व महसुस हुन्छ ।

अहिले आर्किटेक्टस्को संस्था सोनाले पहिलो पटक महिला अध्यक्ष पाएको छ । सोनामा पहिलो पटक प्रत्यक्ष चुनाव भई मनोनित भएकी हुन् मल्ल । यसपछि यसले आर्किटेक्टस् पेसा जेन्डर फ्रेन्डली रहेको भन्ने महसुस पनि सम्पूर्ण आर्किटेक्टस्ले गरेका छन् । त्यसैगरी, सोनामा आबद्ध आर्किटेक्टस्मा पनि ५० प्रतिशत त महिला नै छन् ।

हुन त मल्लले सोनाको तेस्रो कार्य समितिबाटै सदस्यको रुपमा प्रवेश गर्ने अवसर पाएकी थिइन् । त्यही समयदेखिनै मुख्य कार्य समितिमा बसेर काम गर्ने अवसर जुर्यो । 

नेपालमा आर्किटेक्टको अध्यापन सुरु हुनुपूर्व नै सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को स्थापना भएको थियो । त्यो बेला पनि सोनाको बोर्डमा ४ जना महिला थिए र हाल पनि महिला सहभागिता उल्लेख्य छ ।

आर्किटेक्टस् पढ्ने छात्र भन्दा छात्राको संख्या धेरै

कुनै समय थियो आर्किटेक्चर (वास्तुशास्त्र)लाई छात्राहरुको विषय मानिन्थ्यो र आर्किटेक्चर विधालाई महिलाहरुको विधा नै बनाइएको थियो । अझै पनि कलेजहरुमा जाने हो भने छात्र भन्दा छात्राहरुकै संख्या धेरै छ । कुनै कक्षा कोठामा गएर हेर्दा ४० जनामा २५ देखि ३० जना त छात्राहरुनै हुन्छन् ।

हुन त हाम्रो समाजले अझै पनि छोरीलाई स्वतन्त्रता दिन सकेको छैन । सुरक्षित कामको लागि नै उनीहरुलाई प्रोत्साहन गरिरहेको पाइन्छ  । सायद आर्किटेक्चर विधालाई सहज र सुरक्षित रुपमा लिएर नै होला छात्राको संख्या बढेको ।

भूकम्प पश्चात आर्किटेक्टस्को माग बढ्यो

नेपालमा भूकम्प पश्चात आर्किटेक्टस्को माग ह्वात्तै बढेको छ । त्यो भन्दा पहिला काम पाउन नै कठिन थियो । आर्किटेक्टको काम पनि कि इन्जिनियरले कि त ठेकेदार आफै गरिदिन्थे ।

नेपालमा भूकम्पले पुराना संरचना भत्काएपछि जब नयाँ संरचना निर्माण सुरु भयो तब आर्किटेक्टस्को खोजी भयो । सुरक्षित बलियो र सुन्दर वस्ती निर्माणमा सरकार तथा स्थानीय निकाय सचेत बन्यो । अहिले त आर्किटेक्टस्को माग बढेर पुर्याउन नै धौ–धौ परेको छ सोनालाई ।

अहिले नेपाल कन्स्ट्रक्सन अथोरीटीले पनि नेपालका धेरै विकास निर्माणका काममा आर्किटेक्टस्लाई लिन थालेको छ जसमा नयाँ पुस्ताले सजिलै काम पाएका छन् ।

ठूला कन्स्ट्रक्सनमा विदेशी आर्किटेक्टस्को प्रयोग, नेपालीलाई वेवास्ता

नेपालमा प्रसस्त दक्ष आर्किटेक्टस् छन् । तर विकास तथा पूर्वाधार निर्माण कार्यमा विदेशी आर्किटेक्ट ल्याएर डिजाइन गराईन्छ ।

‘नजिकको तिर्थ हेलाँ’ भने जस्तै स्वदेशी आर्किटेक्टलाई स्थान दिँइदैन तर विदेशीलाई ठूलो रकम दिएर ल्याइन्छ । यस्तो प्रविधिले आर्किटेक्टहरुको मनोबलमा असर गरिरहेको छ ।

विदेशबाट आर्किटेक्ट ल्याउँदा धेरै खर्च हुने भएपनि ठूला–ठूला पूर्वाधारमा उनीहरुलाई नै खोजी–खोजी ल्याइन्छ । नेपालमा प्रसस्त दक्ष आर्किटेक्टस् छन्, उनीहरुलाई नै काम दिने हो भने धेरै सस्तो पर्दथ्यो र नेपाली मौलिकता पनि झल्कने थियो । यस्तो अवस्थाले स्वदेशमै केही गर्छु भन्ने आर्किटेक्टस्लाई अप्रत्यक्ष रुपमा असर गरिरहेको मल्लको बुझाई छ ।

फेरी अर्को समस्या, हाम्रो संस्कार यस्तो छ कि स्वदेशी आर्किटेक्टस्को प्रयोग कतै गरिँदै छ भने तरकारी किन्न लागेको जसरी मोलतोल (बार्गेनिङ) हुन्छ । यस्तो प्रवृत्तिले साह्रै नै चित्त दुख्ने मल्ल बताउँछिन् । यहाँ पेशालाई कदर नै गरिँदैन । ‘यती लामो व्यवसायीक जीवनमा आफूले धेरै सहे पनि नयाँ पिँढीले भने त्यसरी सहन नसक्ने रहेछन् मल्ल भन्छिन्, ‘यस्तो प्रवृत्तिले गर्दा पनि धेरै युवाहरु स्नातकसम्मको पढाई सकेर विदेशीने गरेका छन् । यो देशकै लागि नराम्रो हो । तर खै कसले बुझ्ने यो कुरा ?’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आर्किटेक्ट थिए । उनी प्रधानमन्त्री भएको बेला आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत ‘सहरी विकास विभाग’ बनेको पनि हो । त्यसैगरी, काठमाडौं भ्याली डेभलपमेन्ट अथोरिटी (केभीडीए) डा. भट्टराईकै पालामा बनेको थियो । यसले आर्किटेक्टहरुलाई आफ्नो बारेमा केही हुने आशा पलाएको थियो । तर त्यसले मूर्त रुप भने लिन सकेको छैन ।

अहिले राजधानीलाई हेर्ने हो भने यहाँ निर्माण भएका केही राम्रा भवनहरु जुन आर्किटेक्टस्ले डिजाइन गरेका छन् । यहाँ दुखको कुरा जथाभावी बनेका अव्यवस्थित र मापदण्ड विपरितका भवनको दोस पनि आर्किटेक्टस्लाई नै दिने गरेकोमा भने मल्लको आपत्ती छ ।

काठमाडौं सहरलाई राम्रोसँग नियाल्ने हो भने कङ्क्रिटै कङ्क्रिटको सहर जस्तो लाग्छ । तर त्यहाँभित्र पनि केही राम्रा र आकर्षक संरचना छन् । ती संरचनालाई राम्रोसँग नियाल्ने हो भने थाहा हुन्छ कि यहाँ आर्किटेक्टको प्रयोग भएको छ ।

त्यसैले हामीले बारम्बार हरेक ठाउँमा सरकारका उच्च तहलाई भन्ने गरेका छौं काठमाडौं सहरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने आर्किटेक्टस्लाई जिम्मा दिनुस् । भवन चाहिँ आर्किटेक्टस्ले नै डिजाइन गर्नुपर्छ । तर नेपालमा भने आर्किटेक्टहरुलाई प्राथमिकता नै दिइँदैन ।

वास्तवमा आर्किटेक्टले सैद्धान्तिक पक्षलाई मात्र नभई प्रयोगात्मक र व्यावहारिक पक्षलाई विशेष महत्व दिने भएकाले उनीहरुको आवश्यकता एउटा घर तथा भवन निर्माण गर्नु पूर्वदेखि नै सुरु हुनुपर्छ । जग्गा किन्ने बेलादेखिनै आर्किटेक्टको सहयोग लिने हो भने कुनै पनि घर तथा भवन सुरक्षित मात्रै होइन आकर्षक बन्छ ।

आर्किटेक्ट र इन्जिनियर विधा नै फरक

नेपालमा आर्किटेक्टचर विधालाई इन्जिनियरिङभित्र नै राखिएको छ । वास्तवमा आर्किटेक्चर विधा फरक विधा हो । समयसँगै आर्किटेक्टहरु आफ्नो फरक पहिचानको खोजीमा छन् । यसमा आर्किटेक्टहरुको ठूलो दुखेसो पनि छ । नेपाल इन्जिनियरीङ एशोसियसनमा रहेरै काम गर्नु परेकाले पनि आफ्नो भिन्न काउन्सिल स्थापनामा आर्किटेक्टहरुले जोड दिएका छन् ।

आर्किटेक्ट तथा वास्तुविद्लाई नेपाल सरकारले नेपाल इन्जिनियरिङ काउन्सिलभित्र नै पारिदिएकाले आफ्नो पहिचान नै ओझेलमा परेको सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)का अध्यक्ष अन्जु मल्लको भनाई छ ।

मल्लकाअनुसार आर्किटेक्चर आर्ट र इन्जिनियरिङको मिलन विन्दु हो । आर्किटेक्टलाई आर्टले प्रतिनिधित्व गरिरहन्छ भने इन्जिनियरिङलाई साइन्सले । त्यसैले आर्ट र साइन्सको मिलन बिन्दु नै आर्किटेक्ट हो । 

उनी भन्छिन्, ‘आर्किटेक्टस्ले सरकारी तवरबाटै साथ पाएन ताकी अफ्नो पेशालाई एक नाम दिनको लागि इन्जिनियरीङभित्रै पस्न बाध्य भयो ।’

बल्ल आएर नेपालका केही विकास निर्माणमा आर्किटेक्टहरुको प्रयोग हुन थालेको छ । हुन त हरेक विकासका काममा आर्किटेक्टहरुको प्रयोग हुनु पर्ने हो तर यहाँ भने भवन निर्माणमा मात्र सिमित गरिएको छ ।

नेपाल पर्यटकीय दृष्टिले पनि धनी देश हो । प्राकृतिक सुन्दरतासँगै यहा निर्माण हुने पूल, गार्डेन, पार्क, वस्तीलगायतमा पनि आर्किटेक्टलाई स्थान दिइयो भने झनै सुन्दर बन्ने थियो । जसले गर्दा पर्यटकलाई आकर्षित गर्ने अर्को पाटोको पनि विकास हुन्थ्यो ।

सरकार स्मार्ट सिटी बनाउने भन्छ तर विशेषज्ञता अनुसारको काम भने दिँदैन । यदी विशेषज्ञताअनुसारको काम दिने हो भने बल्ल स्मार्ट सिटी बन्ने थियो ।  यहाँ त इन्जिनियरहरुले काम पाउँछन् तर आर्किटेक्टले पाउँदैनन् । उस्तै परे ठेकेदारले नै आर्किटेक्ट, इन्जिनियर लगायतको काम पनि आफै गरिदिन्छन् ।

एउटा भवनलाई हेर्ने हो भने आर्किटेक्टले डिजाइन गर्छ, कत्रो रुम राख्ने कहाँ कसरी रुम राख्ने, भर्याङ देखि सबै डिजाइन गर्छ । अब त्यो घरलाई बलियो बनाउन रड कत्रो राख्ने, पिलर कत्रो राख्ने, सिमेन्ट बालुवाको प्रयोग्देखि घरलाई चाहिने सामानबारे सिभिल इन्जिनियरले गर्ने गर्छन यहीबाट छुटिन्छ नी कामको विविधता ।

आर्किटेक्ट काउन्सिल स्थापना हुनु आवश्यक

नेपालका जति पनि आर्किटेक्टहरु छन् ती सबै नेपाल इन्जिनियरिङ काउन्सिलभित्र नै आबद्ध भएर काम गर्नुपर्ने बाध्यता छ । सरकारले उनीहरुलाई इन्जिनियरिङभित्रै हालिदिएको छ । त्यसैले आफ्नो भिन्न पहिचानको लागि पनि आर्किटेक्ट काउन्सिल स्थापनाको माग उनीहरुको छ ।

मल्लका अनुसार, विश्वका विभिन्न देशहरुमा सरकार मातहत आर्किटेक्ट काउन्सिलभित्र नै   आर्किटेक्टहरुलाई समेटिएको छ । तर नेपालमा भने अहिलेसम्म पनि आर्किटेक्टहरुलाई त्यती महत्व दिइएको पाइँदैन । त्यसैले नेपालमा पनि विभिन्न व्यवसाय गर्दै आएका आर्किटेक्टहरुलाई समेटेर आर्किटक्ट काउन्सिल बनाउन आवश्यक छ ।

काउन्सिल स्थापना गर्नको लागि सोनाले विगतदेखि नै पहल गरेपनि सफल नभएको मल्ल बताउँछिन् । उनको आशा छ कि छिट्टै सरकारी तहले आफ्नो पेशालाई उचित सम्मानसहित काउन्सिल स्थापनामा सहयोग गर्नेछ ।

हाल सोनामा मात्रै ३ हजार आर्किटेक्ट आबद्ध छन् । इन्जिनियरीङ काउन्सिलमा २ हजार भन्दा धेरै आर्किटेक्ट आबद्ध छन् । नेपालमा आर्किटेक्टको पढाई हुने ११ वटा कलेज छ । वार्षिक ३ देखि ४ सय आर्किटेक्टस् ग्र्याजुएट हुन्छन् । अझ कति त स्नातकको पढाई सकेर विदेशीने गरेका छन् । उनीहरुलाई रोक्नकै लागि पनि काउन्सिल स्थापना गरी कामको उचित वातावरण बनाउनुपर्छ ।

सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना)

२०४७ सालमा स्थापना भएको सोसाइटी अफ नेप्लीज आर्किटेक्टस् (सोना)ले नेपालका आकिटेक्टस्को पक्षमा काम गर्दै आइरहेको छ । करिव ३ हजार भन्दा धेरै आर्किटेक्टस्हरु आवद्ध यो संस्थामा महिलाको संख्या बढी छ । ५० प्रतिशत त महिला मात्रै रहेको अध्यक्ष मल्ला बताउँछिन् ।

नेपालमा आर्किटेक्चर विधाको अध्ययन शुरु हुनुपुर्व नै स्थापना भएको थियो सोना । तर सोनालाई बल्ल सवल रुपमा हेरिन थालिएको छ । संस्थाले आर्किटेक्ट सम्वन्धि कार्य गर्दै आएका व्यवसायीहरुलाई संगठित गर्दै आएको छ । यसले विभिन्न विकास सम्बन्धी तालिम, सचेतना जागरण, अन्तरक्रिया लगायतका कामहरु समेत गर्दै आएको अध्यक्ष्य मल्ल बताउँछिन् ।

हाल सोनाले अन्तर्राष्ट्रिय स्तरमा पनि ठाउँ बनाउन थालेको छ । अन्तर्राष्ट्रिय संस्था यूआइए (इन्टरनेशनल यूनियन अफ आर्किटेक्टस) जुन २ सय देशका आर्किटेक्टहरुको संस्था हो । र आर्किसिय, जसमा २१ वटा एशियन रिजनका आर्किटेक्टसहरुको संस्था हो । यी दुवै संस्थामा सोनाले हरेक वर्ष आफ्ना आर्किटेक्टलाई सहभागि गराउँदै सहकार्य गर्दै आएको छ । जहाँ नेपाली आर्किटेक्टले आफ्नो अनुभव साट्ने अवसर पाउँछन् । यो एउटा अन्तर्राष्ट्रिय उपलव्धि पनि हो ।

सोनाभित्र पनि पाँच वटा सब–कमिटि रहेको छ । जसले विभिन्न कार्यक्रमहरु गर्ने, सामाजिक उत्तरदायित्वसम्वन्धि कार्यहरु पनि गर्दै आएको छ । जसले भूकम्प पश्चातको अवस्थामा विभिन्न विद्यालय भवन निर्माणमा सहयोग गरेको छ ।

सोनाले वुमन इन आर्किटेक्टस् फोरम स्थापना गरी वुमन इम्पावरमेन्टलाई पनि स्थान दिँदै आएको छ । विशेष गरेर व्यवसायिक जीवनमा महिला सहभागिता र उनीहरुलाई व्यवसायिक जीवनमा सक्रिय रुपमा लाग्नको लागि प्रेरित गर्न पनि यो फोरम सक्रिय छ ।

सोनाको कार्यकारी कमिटि १० जनाको छ जहाँ ४ जना त महिला नै छन् । महिला सहभागिता बलियो देखिएको यस संस्थाले आउने पिँढीलाई पनि आफ्नो व्यवसायिक जीवनलाई प्राथमिकता दिन सघाउने छ ।  

(मल्ल सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) की अध्यक्ष हुन् । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप