बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकभित्र भेटिएका ३९ शवमध्ये ६ भियतनामी नागरिक पनि ?

शनिबार, ०९ कात्तिक २०७६, ११ : १७
शनिबार, ०९ कात्तिक २०७६

ब्रिटेनको एसेक्समा एक ट्रकभित्र भेटिएका ३९ शवमध्ये कम्तीमा ६ भियतनामी नागरिक हुनसक्ने आशंका गरिएको छ ।

बीबीसीलाई प्राप्त जानकारी अनुसार भियतनामका ६ यस्ता परिवार छन् जसले मृत्यु हुनेमा उनीहरुका आफन्त पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

यीमध्ये २६ वर्षकी फाम थी ट्रे पनि समावेश छिन् । उनले मंगलबार अन्तिम पटक मेसेज पठाउँदै आफूले सास फेर्न नसिकिरहेको बताएकी थिइन् । त्यसपछि उनीबारे केही पनि सूचना प्राप्त छैन ।

२० वर्षकी वियन लिन लुओंगका  आफन्तले ३९ मृतकमध्ये उनी पनि एक हुनसक्ने शंका गरेका छन् ।

उता अनुसन्धानको क्रममा स्टेन्स्टेड एयरपोर्टबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ । उनलाई हत्या र मानव तस्करीको षड्यन्त्र रचेको शंकामा पक्राउ गरिएको छ । ४८ वर्षका यी व्यक्ति उत्तरी आयरल्याण्डमा बस्छन् । अनुसन्धानको क्रममा पक्राउ परेका उनी चौथो व्यक्ति हुन् ।

यस्तै शंकाको आधारमा वारिङ्गनका दुई व्यक्तिलाई पक्राउ गरिएको छ । यो मामलामा ट्रक ड्राइभरलाई पनि पक्राउ गरिएको छ ।

फाम ट्रे मीका भाइ फाम नोक त्वानका अनुुसार उनकी बहिनीलाई ब्रिटेन लैजानका लागि मानव तस्करलाई ३० हजार पाउन्ड दिइएको थियो । उनकी बहिनी अन्तिम पटक बेल्जियममा भएको जानकारी पाइएको थियो ।

मानव तस्करले केही परिवारको पैसा फिर्ता दिएको पनि रिपोर्ट सार्वजनिक भएका छन् ।

फाम ट्रे मीका भाइले बीबीसीलाई भने, ‘भियतनामबाट युके जाने बेला मेरी बहिनी २३ अक्टोबरमा हराएकी थिइन् र हामीले उनलाई सम्पर्क गर्न सकिरहेका छैनौं । हामीलाई चिन्ता छ कि उनी त्यो ट्रकमा हुन सक्छिन् ।’

उनले थपे, ‘हामी ब्रिटेनको पुलिसलाई मद्दत गर्न आग्रह गरिरहेका छौं ।’

फाम ट्रे मीको अन्तिम सन्देश ब्रिटेनको समय अनुसार मंगलबार राती साढे १० बजे पाइएको थियो । त्यसको दुई घण्टापछि यो ट्रक बेल्जियमको जेब्रुगबाट परफ्लीट टर्मिनल पुगेको थियो ।

उनले आफ्नो आमा–बुवालाई सन्देश पठाएकी थिइन् । जसमा लेखिएको थियो, ‘म माफी चाहन्छु आमा बुवा, विदेशी जमिनको मेरो यात्रा असफल रह्यो ।’

उनले थपेकी थिइन्, ‘म मरिरहेकी छु । म सास फेर्न सकिरहेकी छैन । आमा–बुवा म तपाईंहरुलाई असाध्यै माया गर्छु । म माफी चाहन्छु आमा ।’

Photo: FAMILY HANDOUT OF PHAM TRA MY

उनका भाइले बीबीसीसँगको कुराकानीमा भने, ‘मेरी दिदीको ब्रिटेनको यात्रा तीन अक्टोबरमा सुरु भयो । उनले परिवारलाई सम्पर्क नगर्न भनेकी थिइन् किनभने यात्राको प्रबन्ध गर्नेहरुले उनलाई फोन उठाउन अनुमती दिनेछैनन् ।’

फाम ट्रे मीका भाइले भने, ‘उनले चीनका लागि उडान भरिन् र केही दिनसम्म त्यहाँ बसिन् र फ्रान्सका लागि यात्रामा गइन् ।’

उनले थपे, ‘जतिबेला उनी नयाँ स्थानमा पुग्थिन् तब उनी हामीलाई फोन गर्थिन् । उनीहरुले अक्टोबर १९ मा पहिलो पटक ब्रिटेनको सीमा पार गर्ने कोसिस गरिन् तर उनी पक्राउ परेपछि फिर्ता पठाइयो । उनीहरुलाई कुन पोर्टबाट फिर्ता पठाइयो भनेर यकिनका साथ भन्न सक्दिनँ ।’

बीबीसीले फाम ट्रे मीसँग जोडिएका जानकारी एसेक्स पुलिसलाई दिएको छ । साथै जानकारी भएको दाबी गर्ने अन्य व्यक्तिबाट पाइएको जानकारी पनि साझा गरेको  छ ।


बीबीसीले भियतनामका अन्य दुई व्यक्ति हराइरहेको जानकारी पाएको छ । यीमध्ये एक २६ वर्षका पुरुष हुन् भने अर्की १९ वर्षे महिला हुन् ।

१९ वर्षकी महिलाका भाइले दिएको जानकारी अनुसार उनकी दिदीले मंगलबार बेल्जियमको स्थानीय समय अनुसार ७ बजेर २० मिनेटमा फोन गरेर आफूहरु एक कन्टेनरमा सवार हुन लागेको जानकारी दिएकी थिइन् । कसैले खोज्न नसकोस् भनेर आफूले फोन स्विच अफ गर्न लागेको पनि जानकारी दिएको उनले बताए । त्यसपछि उनीबारे कुनै सूचना पाउन सकिएको छैन ।

 उनका अनुसार मानव तस्करी गर्ने एक व्यक्तिले रातारात परिवारलाई पैसा फिर्ता दिए । उनकी दिदी जुन २६ वर्षका व्यक्तिसँग यात्रा गरिरहेकी थिइन् उनको परिवारले पनि पैसा फिर्ता पाएको छ ।

लण्डनस्थित भियतनाम दूतावासका एक प्रवक्ताले आफू बिहिबारदेखि एसेक्स पुलिसको सम्पर्कमा भएको पुष्टि गरेको छ ।

ट्रकबाट ३१ पुरुष र आठ महिलाको शव भेटिएको थियो । एसेक्स पुलिसले सुरुमा सबैजना चीनियाँ नागरिक भएको जानकारी दिएको थियो । उनीहरुको शव बुधबार ग्रेजको वाटरग्लेन्ड इन्डष्ट्रियल पार्क इलाकामा भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप