शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकारको तिहार योजना : किताब पढ्नेदेखि देउसीभौलोमा रमाउनेसम्म

शनिबार, ०९ कात्तिक २०७६, ११ : ३३
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौँ । हामी नेपालीको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजा गरेर देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थापेर आशीर्वाद तथा शुभकामना लिने गरिन्छ ।

तिहार दाजुभाइ र दिदीबहिनी बीचको आत्मीयता बढाउने एक महत्त्वपूर्ण पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती, धेरै थरीका फूलले सिगार्ने गरिन्छ । सहर बजार पनि  बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ ।

गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आआफ्नो योजना हुन्छ । सधैँ अरूलाई मनोरञ्जन दिलाउन दिनरात व्यस्त रहने कलाकारको यो तिहार मनाउने योजना कस्तो छ । कलाकारको तिहार योजना उनकै शब्दमा :-

कोमल वली (गायिका/सांसद)

अहिले मेरो घरमा सेलरोटी पाकिसकेको छ । रोटी पकाएको फोटो आमा, बहिनी र भाउजुले फेसबुकमा हाल्नु भएकोले थाहा पाएकी हुँ ।

म भने राजनीतिको कामले दाङमा व्यस्त छु । भाइटीका भने काठमाडौँमै लगाउँछु । म र मेरो भाइ दाङबाट टीकाका लागि काठमाडौँ सँगै फर्किदैछौं । 

तिहारको मनपर्ने देउसी भैलो गीत, लक्ष्मी पूजा, झिलिमिली बत्ती र सेलरोटी नै हो । फूलमाला र दिदीभाइ, दाजुबहिनी बीच आत्मीयताको पर्व पनि हो यो ।

संचिता लुइटेल (अभिनेत्री)

मेरो मनपर्ने चाडमध्ये तिहार पनि एक हो । तिहारको सबै दिनको आआफ्नो महत्त्व भएकोले सबै दिन मानपर्छ । लक्ष्मीपूजा विशेष लाग्छ । यो दिनका लागि आफ्नै हातले रङ्गोली बनाउन मनपर्छ ।

मेरो दाइभाइ नभएकाले भाइटीका सारै बोर लाग्छ । हामी दिदीबहिनीले एकअर्काेलाई लगाउँछौ । अहिले मेरा श्रीमान् निखिल उप्रेती बिमारी हुनुहुन्छ । टेन्सन भएको छ ।

रजनी केसी (अभिनेत्री)

तिहार उज्यालो पर्व हो । यो मलाई धेरै मनपर्छ । यो पटकको तिहारका लागि मेरो त्यस्तो केही योजना छैन । विगतका वर्षझैँ सामान्य तवरले मनाउँछु ।

कागदेखि दाजुभाइसम्मको पूजा गर्ने यो अरूभन्दा अलि बेग्लैखालको पर्व हो । देउसीभैलो खेल्न, खेलेको हेर्न, देउसी भैलोलाई दक्षिणा दिने, सेल पकाउने यस्तै यस्तै छ मेरो योजना ।

म दाजुभाइलाई टीका लगाउँछु । आफूले सकेको उपहार दिन्छु । उनीहरुबाट आशीर्वाद लिन्छु ।

सुपुष्पा भट्ट (अभिनेत्री)

तिहारमा जन्म गाउँ जाँदैछु । म आफ्नो भाइसहित अन्य दुई भाइ गरेर तीन जनालाई भाइटीका लगाउँछु । लक्ष्मीपूजा र झिझिमिली बत्ती तिहारको मनपर्ने पक्ष लाग्छ ।

योजना पुरी (गायिका)

यो पटकको तिहारमा म जन्मथलो मोरङको उर्लाबारी जाँदैछु । घर नजिक एक सांस्कृतिक कार्यक्रम छ । त्यसमा सहभागी हुने योजना छ । मेरा दुई भाइ छन् । एउटा विदेशमा छ ।

घरमा भएको भाइलाई भाइटीका लगाउँछु । हरेक वर्ष मसँग टीका लगाउने काठमाडौँ धेरै दाजुहरु हुन्थे । यो पटक गाउँमा जाने भएकाले उहाँहरुलाई मिस गर्छु ।

मलाई झिलिमिली बत्ती, पिङ र देउसीभैलो एकदमै मनपर्छ । साथीसँगी मिलेर देउसीभैलो पनि खेल्छु । भाइका लागि टिसर्ट, गलबन्दीर ढाकाको टोपी किनेकी छु ।

सवनम मुखिया (चलचित्र निर्देशक)

तिहारको योजना सामान्य छ । लक्ष्मीपूजा, सामान्य किनमेल र पारिवारिक जमघटमा तिहार बिताउँछु । यो तिहारमा बढी समय आमासँग बिताउँछु । दाइलाई टीका लगाउँछु । तिहारको राम्रो पक्ष भनेको पारिवारिक जमघट हुन्छ ।

सारिका घिमिरे (अभिनेत्री/गायिका)

यसपालिको तिहारमा म विदेशमा हुन्छु । एक कार्यक्रमका लागि कोरिया जाँदैछु । घरमा जुठो भएकाले भाइटीका लगाउन मिल्दैन । त्यसैले विदेश कार्यक्रममा जान लागेकी हुँ । तिहारको पाँचै दिन मलाई स्पेसल दिन लाग्छ । यस पटकको लक्ष्मीपूजा र देउसी भैलो धेरै मिस गर्नेछु ।

निकिता पौडेल (चलचित्र निर्माता)

हरेक वर्षको तिहार म रमाइलोसँग मनाउने गर्छु । परिवारसँग भेटघाट, खानपिन र घुमघाममै तिहार बित्छ । यो पटकको तिहार पनि त्यस्तै हुन्छ । मेरा दुइ भाइहरु निरज र निरक पौडेल छन् ।

भाइटीका उनीहरुलाई नै लगाउँछु । तीबाहेक दिदी भनेर माया र सम्मान दिने शुभचिन्तक भाइहरुलाई पनि भाइटीका लगाएर उपहार दिन्छु । तिहारको मनपर्ने पक्ष लक्ष्मी पूजा हो । झिलिमिली बत्ती, देउसीभैलोले गर्दा तिहार विशेष लाग्छ ।

खुस्बु खड्का (अभिनेत्री)

यो वर्षको तिहार म काठमाडौँमै मनाउँछु । मेरो ४ जना दाइहरु हुनुहुन्छ । उहाँहरुलाई भाइटीका लगाउँछु । तिहार मेरो सानैदेखि मनपर्ने चाड हो । आफ्नो दाजुभाइको दीर्घायुको कामना तिहारमा गर्दा पुग्छ भन्ने मान्यता रहँदै आएको छ ।

सिलु भट्टराई (गायिका)

तिहारका लागि आफ्नो गाउँ गुल्मी जाँदैछु । भाइटीका लगाउने, परिवारसँग देउसीभैलो खेलेर तिहार मनाउने विचार छ ।

नेपालमा मनाइने प्रायः चाड सबै मनपर्छ । तर मेरो विशेष चाड तिहार हो । सानोमा तिहारमा देउसीभैलो खेल्दै निकै रमाइलो गरिन्थ्यो । अहिले सो अवसर मिल्दैन । त्यसैले पहिलेको धेरै यादले सताउँछ ।

दिपिका प्रसाईं (अभिनेत्री)

अहिलेसम्म तिहारको योजना खासै केही बनाएकी छैन । मेरो भाइ केही वर्षदेखि अस्ट्रेलियामा छ । त्यसैले भाइटीका लगाउन नपाएको यो तेस्रो वर्ष हुनेछ । आफ्नो भाइ भएकाले पनि अन्य भाइ बनाएको छैन । त्यसैले यो पटक पनि भाइटीका कसैलाई लगाउदिन होला । जताततै झिलिझिली बत्ती र आफन्त भेटघाट, सेलरोटीका परिकार, देउसीभैलो यो नै तिहारको विशेष पक्ष हो । यी सबैमा सहभागी हुन्छु ।

निरु खड्का (कलाकार)

यो तिहारमा किताब पढ्ने र परिवारसँग बसेर मिठाइ बनाउने योजना छ । यो पटक हाम्रो तिहार मनाउन मिल्दैन । भाइटीका लगाउन नमिले पनि दाजुभाइसँग समय भने बिताउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप