शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सिडिओलाई भाइटीका खल्लो

सोमबार, ११ कात्तिक २०७६, ०९ : २०
सोमबार, ११ कात्तिक २०७६

बुटवल । दिदीभाइ तथा दाजुबहिनीबीचको आत्मीयता उजागर गर्ने पर्व तिहार । तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्दछन् ।

भाइटीकामा दाजुभाइलाई विभिन्न कारणले टीका लगाउन जान नपाउने महिलाका लागि सिङ्गो तिहार नै खल्लो हुन्छ । दिदीबहिनी विभिन्न कारणले टीका लगाइदिन नआउँदा दाजुभाइलाई पनि उत्तिकै खल्लो हुन्छ तिहार ।

भाइटीका मनाउन दाजुभाइ तथा दिदीबहिनीहरु टाढा–टाढाबाट धाएर भए पनि आउने–जाने गर्दछन् । तर, सबैले यस्तो अवसर भने पाउँदैनन् । कोही कामको सिलसिलामा बाँधिएका हुन्छन् भने कोही घर–परिवारका अन्य समस्यामा जेलिएर भाइटीका मनाउन पाउँदैनन् ।

निजामती प्रशासनमा रहेर प्रमुख जिल्ला अधिकारी (सिडिओ)को भूमिका निर्वाह गरिरहेकी दुर्गा बञ्जाडेका लागि पनि यो भाइटीका खल्लो बनेको छ । उनी कर्णाली प्रदेशको जुम्लामा कार्यरत छिन् । जिल्ला प्रशासन कार्यालय अन्य सरकारी कार्यालयको महत्वपूर्ण मानिन्छ । प्रशासनिक तथा शान्ति सुव्यवस्थाका दृष्टिले दैनिक चनाखो र सक्रिय रहनुपर्ने भएकैले प्रमुख जिल्ला अधिकारी दुर्गाले तिहारमा बिदाको अनुभूति गर्न नपाएकी हुन् ।

अर्घाखाँचीकी चेली दुर्गाले कर्णाली प्रदेश मै पहिलो महिला सिडिओ हुने इतिहास रचेकीमात्र होइन, अवसर पाए पुरुषको तुलनामा महिला कमजोर हुँदैनन् भन्ने उदाहरण पनि दिएकी छन् । जुम्लाको जिल्ला प्रशासन कार्यालयमा २०७५ साल फागुन १७ गतेदेखि सिडिओको जिम्मेवारी सम्हाल्दै आएकी उनले तिहारका लागि केही विशेष योजना नरहेको बताइन् ।

उनीसहित तीन दिदीबहिनी, एउटा भाइ । भाइ टंक बन्जाडे विदेशमा भएकाले उनले भाइलाई तिहारमा टीका लगादिन नपाउने भएकी हुन् । उनले २०६९ साल यता भाइलाई टीका लगाइदिन पाएकी छैनन् ।

उनकी एक दिदी र एक बहिनी पनि विदेशमै छन् । दिदी गिता क्यानाडामा र बहिनी नमुना अमेरिकामा बस्छिन् । आफू सरकारी सेवामा र दिदीबहिनी र भाइ विदेशमा रहेका कारण चाडपर्वमा पारिवारिक जमघट नहुने उनले बताइन् ।

‘यसपालीको तीज र दसैँ पनि जुम्ला मै मनाइयो,’ प्रमुख जिल्ला अधिकारी दुर्गाले भनिन्, ‘तिहार पनि यहीँ मनाउँदै छु । चाड पर्वमा शान्ति सुरक्षा  चुस्त राख्नु पर्ने भएकोले घर जाने कुरा पनि भएन ।’

२०६८ सालमा शाखा अधिकृतमा नाम निकालेकी उनले शाखा अधिकृत हुनुअघि पनि दुर्गम क्षेत्रमा बसेर काम गरिसकेकी थिइन् । निजामती सेवामा रहँदा सञ्चार मन्त्रालय अन्तर्गत ललितपुर जिल्ला हुलाक र इमाडोल ईलाका हुलाकमा काम गरेकी बञ्जाडे शाखा अधिकृत भएपछि गृहमन्त्रालय हुँदै सिन्धुली जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर जुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेकी हुन् ।

सिन्धुलीमा छँदा २०७० सालको निर्वाचनमा सम्पूर्ण जिम्मेवारी महिलाले नै सम्हालेको ‘नमुना मतदान केन्द्र’मा केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेकी उनले भनिन्, ‘यसअघि मतदानमा महिला सहभागिता न्यून हुने गरेकोमा त्यो बेला ९९ प्रतिशत मतदान भएको थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप