शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ सय रुपैयाँबाट सुरु गरेको व्यवसायले करोडौंको मालिक बनेका नरप्रसाद

बुधबार, १३ कात्तिक २०७६, १२ : ३७
बुधबार, १३ कात्तिक २०७६

 गुल्मी जिल्लाकै धनाढ्यमा गनिने ७९ वर्षीय नरप्रसाद श्रेष्ठको व्यापार–व्यवसायको इतिहास डेढ सय रुपैयाँबाट सुरु भएको हो । डेढ सय रुपैयाँदेखि लिएर करोडौंको मालिक बनुन्जेलसम्म उनले निकै दुःख, मेहनत, उतारचढाव व्यहोरेका छन् । आफूले भोगेको दुःख सन्तानले भोग्नु नपरोस् भनेर उनले छोराहरुको भविष्य सुरक्षित गर्न उत्तिकै मेहनत गरे । परिणामस्वरुप उनका दुवै छोरा आ–आफ्नो क्षेत्रमा प्रतिष्ठित छन् ।

७९ वर्षको उमेरमा नरप्रसाद बेलाबखत आफ्नै इतिहास स्मरण गर्छन् । इतिहासका अनेक पानामा आफूले भोगेका दुःख सम्झिन्छन्, तर वर्तमानले उनलाई सन्तोष दिन्छ । त्यतिबेला गरेको दुःखको परिणामस्वरुप उनी अहिले आर्थिक रुपमा सम्पन्नमात्र होइन, सामाजिक प्रतिष्ठा पनि आर्जन गर्न सफल भएका छन् । तम्घासका पुराना व्यवसायी उनी पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

‘पिता’को अर्थ नबुझ्दै उनले पितालाई गुमाए । सानै छँदा पिताको मृत्यु भएकाले उनको पालनपोषणमा आमाकै महत्वपूर्ण भूमिका रह्यो । घरमा त्यति बेलाको आर्थिक अवस्था निकै नाजुक रहेको उनी सम्झन्छन् । ‘आमाले गाउँमा मजदुरीका अलवा गाई पालेर बाच्छा बेच्दै घर चलाउनु भएको थियो,’ उनले भने, ‘दुई दिदीबहिनी र पाँच दाजुभाइलाई हुर्काउन आमाले धेरै दुःख गर्नुभयो ।’

२०१९ सालमा आमाले बाच्छा बेचेर जुटाएको ढेढ सय रुपैयाँ लिएर नरप्रसादले तम्घासमा चिया पसल सुरु गरेका थिए । ‘आमाले दिएको त्यो डेढ सयमध्येका केही मोहर दाम अहिले पनि सुरक्षित छन्,’ उनले भने, ‘मेरोलागि त्यो नै सुरुवात थियो ।’

१४ वर्षसम्म चिया पसल गरेपछि उनले व्यापार विस्तार गर्ने क्रममा कपडा पसल खोले । नरप्रसादलाई उनकी पत्नी शान्ता श्रेष्ठले कदम कदममा साथ दिइन् । 

ती दिन सम्झदै शान्ता भन्छिन्, ‘असाध्धै दुःख पाइएको थियो । २०१८ सालमा पाल्पाको भैरवस्थानबाट मलाई विवाह गरेर ल्याउनु भयो । त्यस पछि अर्को वर्ष तम्घास आएर चिया पसल खोलेर जुठा भाँडा माझ्न थाल्यौँ ।’ उनको विचारमा त्यतिबेला तम्घासमा आफूलेजस्तो दुःख कसैले गरेको थिएन होला । ‘तर अहिले आफूलाई जस्तो सन्तोष कसैलाई छैन कि जस्तो लाग्छ,’ उनले भनिन् ।

२०२३ सालमा तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायतको वडाध्यक्ष भएका उनले वडाध्यक्षकै रुपमा पाँच वर्ष बिताए । गाउँ फर्क अभियानपछि २०३७ सालसम्म उनी प्रधानपञ्च रहे । २०४६ सालसम्म ईलाका सदस्य हुँदै जिल्ला पञ्चायतको सदस्य समेत रहेका उनले जिल्लामा शैक्षिक संस्था, यज्ञशाला, अस्पताल निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरे । 

पछि आफूलाई राजनीति ठिक नलागेर समाजसेवामै बढी सक्रिय हुन थालेको नरप्रसाद बताउँछन् । 

व्यापार व्यवसाय गरेर अलग्गै बस्न थालेका नरप्रसाद २०२२ सालसम्म भाडामा बस्दै आएका थिए । २२ सालमा उनले आफ्नै घर निर्माण सुरु गरे । तर घर बनाउन पैसाको जोहो भइसकेको थिएन । पैसा नहुँदा २०२३ सालमा अगाडिको मोहडामात्र तयार भयो ।

‘मैले पाँच हजार ऋण लिएर घर बनाउन सुरु गरेको थिएँ,’ उनले भने, ‘त्यो ऋण तिर्न नसकेर सयकडा १० का दरले ब्याज दिनेगरी एक जना साहुसँग ऋण काढेर पुरानो ऋण तिरिएको थियो ।’

तीन बर्ष अघिसम्म कपडा पसल सञ्चालन गर्दै आएका उनले बुढेसकालका कारण उक्त पसल भाडामा दिएका छन् । ‘दिनभरी पसलमा बस्न सकिँदैन,’ उनले भने, ‘उमेर पनि गयो, अहिले पसल भाडामा दिएका छौं ।’ 
राजनीतिमा लागेर कयौंले मनग्य कमाएको भए पनि आफूले त्यस्तो सोच कहिल्यै नलिएको उनको भनाइ छ । ‘मैले राजनीतिमा लागेर कमाउनु पर्छ भन्ने सोचिनँ,’ उनले भने, ‘बरु आफुले पढ्न नपाएका कारण छोराछोरी पढाउनु पर्छ भन्ने मै लागेँ । जसको परिणाम हो अहिलेको घर र सम्पत्ति ।’

उनका जेठा छोरा राजेन्द्रले सुरुमा राष्ट्र बैंकमा जागिरे भए । पछि जागिर छाडेर उनी ब्यवसाय गर्न थाले । उनी साईन रेसुंगा डेभलभमेन्ट बैंकका अध्यक्षसमेत हुन् । उनले पहिलो पटक तम्घासमा निजी श्रोतबाट बैंक स्थापना गरेका हुन् । राजेन्द्रले नै पहिलो पटक गुल्मीमा सञ्चार माध्यमको विकास गर्दै रेडियो रेसुंगा सञ्चालनमा ल्याएका हुन् ।

कान्छा छोरा वीरेन्द्र सडक विभागमा इन्जिनियर भए । उनलाई पछि बेलायत सरकारले पढायो र उतै जागिरे बनायो ।

आफूले छोराहरुलाई दक्ष बनाइदिएको र अहिले छोराहरुले राम्रै कमाइ गरेर आफूहरुसहित परिवारको हेरचाह गर्दै आएको नरप्रसाद बताउँछन् । ‘हामीले तम्घासमा जगमात्रै बनाएका हौं,’ उनले भने, ‘छोराहरुले बढाउने काम गरे । अहिले हाम्रो तम्घासमा दुई वटा घर, बुटवल र काठमाडौंसहित चार वटा घर छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप