केन्द्रीय संस्करण
बालनाटक

साहित्यगोष्ठी

(बालनाटक)

person explore access_timeकात्तिक १३, २०७६ chat_bubble_outline0

 

(विद्यालयको विशेष कक्ष । कक्षको उत्तरपश्चिमी  केन्द्रमा बालानुकूल बनावटको मन्च । मन्चका तल मिलाएर राखेका मेचहरु । दायाँ बायाँ भित्ताका माथिल्लो भागमा नेपाली साहित्यकारहरुका आकर्षक चित्रहरु । कक्षाकक्षाबाट छानिएका विद्यार्थीहरु भोलिको साहित्य गोष्ठीमा रचना सुनाउँने सम्बन्धमा श्रोतादीर्घाका मेचमै बसेर आपसमा छलपः ल गरिरहेका देखिन्छन् ।)

सुभाष : २५ वटा विद्यालयबाट विद्यार्थी जम्मा हुने रे ! गोष्ठी निकै रमाइलो हुन्छ होला हगि ?

(सुषमातिर हेर्छ)

सुषमा : मैले पोहोर सालको गोष्ठीमा पनि भाग लिएकी हुँ । कुनै कुनै कथा कविता साह्रै राम्रो थियो । मलाई त धेरै नै रमाइलो लाग्यो । यसपाली पनि रमाइलै हुन्छ होला !

सुभाष : साहित्य गोष्ठीमा रचना सुनाउनेहरु रमाइला भए भने गोष्ठी रमाइलो हुने त हो नि !

रोशन : त्यो त हो ! कविता वाचन गर्दा कविताको भावअनुसारको हाउभाउ पनि हुनुपर्ने रै’छ । स्वरमा पनि उतारचढाव चाहिन्छ । जोशिलो कविता पढ्दा जोश निकाल्न सक्नुपर्छ । दुः खको कविता पढ्दा श्रोताहरुलाई रुवाउन सक्नुपर्छ । तब न कविता वाचन ! यस्तो भएन भने कविताको स्वादै हुँदैन ।

निशान्त : हामी एकछिन अब भोलि बाचन गर्ने कविताको अभ्यास गरौं न त हुन्न ? (स्वीकृति पाउन सबैका अनुहारतिर आँखा घुमाउँछ ।)

लिली : मैले भोलि सुनाउने कविता ल्याएको छैन । (अनकनाउँदै) अँ अर्को एउटा कविता कण्ठै छ । अहिले त्यही सुनाउँदा हुन्न ? (सुभाषतिर हेर्छिन्)

सुभाष  हुन्छ । किन नहुने ? सुनाउनुस् न ! (मुस्कुराउँदै) गोष्ठीमा पनि कविता कण्ठै सुनाउन सके झन् राम्रो ! कण्ठै भएपछि निर्धक्कसित दर्शकतिर हेरेर हाउभाउका साथ सुनाउन सकिन्छ । (सबैका अनुहारतिर आँखा छर्दै) आजको यो अभ्यास गोष्ठी पनि कण्ठै सुनाउनेबाट शुरु गर्ने कि ?

रोशन : हुन्छ । आजको गोष्ठीचाहिँ सुषमाको कविताबाट शुरु गरौं, हुन्न ?(सुषमातिर हेर्छ र साथीहरुतिर हेरेर स्वीकृति खोज्छ ।)

लीली : (मुस्कुराउँदै) हुन्छ हुन्छ, ल सुषमा, तिमी के सुनाउँछ्यौ ? कविता कि कथा ? तिमी त कथा पनि चिटिक्क पारेर लेख्छ्यौ नि !

सुषमा : (उठेर, मुस्कानसाथ सबैतिर आँखा घुमाउँदै) म एउटा कविता सुनाउँछु ।

मेरो कविताको शीर्षक छ ‘हाम्रा नयाँ गुरु !’

(सबै आपसमा मुखामुख गरेर, कविता सुन्न उत्सुक बन्दै सुषमातिर हेर्छन् ।)

सुषमा : (लय र भावभाव साथ)

हाँसे हुन्थ्यो जस्तो लाग्छ

नयाँ गुरु हाँस्नु हुन्न !

बोले हुन्थ्यो जस्तो लाग्छ

नयाँ गुरु बोल्नु हुन्न !

 

पढाउँदा जहिले पनि

गाली मात्रै गर्नुहुन्छ !

एक जनाले विराउँछ

अर्कालाई पिट्नु हुन्छ !

 

लेख्नुपर्दा अक्षरचाहिँ

साह्रै राम्रो लेख्नुहुन्छ !

साँच्चै हाम्रा नयाँ गुरु

अचम्मकै हुनुहुन्छ !

धन्यवाद !

(सबैले ताली पिट्छन् ।)

निशान्त : (मुस्कुराउँदै) कविता कलिलो छ, तर मीठो छ । (मुसुक्क हाँस्छ)

सुभाष :  (मुस्कान साथ) छिप्पिएको कविता लेख्न हामी आफू छिप्पिएका पनि त छैनौं नि ! कविता भनेको आफ्नै खुशीको र आफ्नै मर्काको आवाज न हो । जस्तो जानिन्छ, त्यस्तै भाषामा आफ्ना कुरा मिलाएर भन्ने त हो नि कविता ! अरु के हो र ?

निशान्त : अब रोशनजी सुनाउनुहोस् !

रोशन : मसँग कथा छ, निबन्ध छ र कविता पनि छ, कुनचाहिँ सुनाउँः  ?

सुभाष : अहिले कविता नै सुनाउनुहोस् !

रोशन : (बगलीबाट कागत झिकेर फुकाउँदै) मेरो कविता छन्दमा छ । यसको शीर्षक हो – ‘देश !’  (लय हालेर वाचन गर्छ ।)

यो देश मेरो म यहीं भुलेको

मेरो छ आकाश यहीँ खुलेको

पिएर माया ममता मिठास

फेरिरहेको छु यहीँ म सास ।

 

माटो यहींको छ मलाई प्यारो

ढुंगो यहींको छ मलाई सारो

चीसो मिठो अमृततुल्य पानी

अहा यहीँको हँसिलो बिहानी ।

धन्यवाद !

(सबैले ताली दिन्छन् ।)

सुभाष : (मुस्कुराउँदै) तपाईंको कविता अलि छिप्पिएको जस्तो लाग्यो !

(सबै हाँस्छन् ।) अब निशान्तजी आफ्नो कविता सुनाउनुहुन्छ ।

(निशान्ततिर हेरेर मुस्कुराउँछ)

निशान्त : (उठेर आँखा छर्दै र मुस्कुराउँदै) म आज कविता होइन, एउटा कथा सुनाउँछु । मेरो कथाको शीर्षक छ ‘खाने दाउ !’

(स्वाभाविक  भावभङ्गिमाका साथ कथा शुरु गर्छ) बिरालो बेस्सरी भोकाएको थियो । बिहानै उठेर खेततिर लाग्यो । धान काटेर बिस्कुन सुकाएको खेतमा मुसा बग्रेल्ती भेटिएलान् भन्ने सोचेको थियो । खेतमा एउटै मुसा भेटिएन । सोच्दै चारैतिर हेर्‍यो । पर कान्लाको फेदमा एउटा दुलो देख्यो । लुसुक्क गएर दुलोको मुखमा आफ्नो मुख सोझ्याउँदै उभियो । मुसाको चालचुल थिएन ।

“मुसाजी, अझै सुतिराख्नुभाछ कि कसो ?” बिरालाले विनम्र आवाजमा भन्यो । एक छिनपछि दुलाबाट चुइँक्क आवाज त आयो तर मुसो बोलेन ।

“मुसाजी, बाहिर आउनुस् मंसिर लागेको छ, खेतभरी  धान सुकाइएका छन् । बडो रमाइलो छ । आउँनोस् ! छिटो आउँनोस् !!”

“अहिले सुनसान छ, खेतमा कोही पनि छैन !” बिरालाले बडो उत्साहित भएर बयान गर्‍यो ।

“म दुलोभित्र छैन !” भित्रबाट मुसाको आवाज आयो । “म दुलो छोडेर अन्तै कतै गएको छु ।”

“म पनि अहिले दुलोबाहिर छैन ! मैले त तपाईंलाई धेरै टाढाबाट तार खबर पठाएको ! नपत्याए बाहिर निस्केर हेर्नुस् !” –बिरालाले नम्र भएर भन्यो ।

ठीक यसै बेला त्यहींनिरको एउटा रुखको हाँगाबाट लाटो कोसेरोले लय हालेर गीत गायो ।

“खाने दाउ, यो खाने दाउ

अहिले तिमी बाहिर नआऊ

मेरो सल्लाह मान साथी

धान खान त राती जाती !”

“मेरो कथा सकियो !” निशान्तले भन्यो । 

!

सुषमा : (हाँस्दै) निशान्तजीको लाटोकोसेरो पनि खाने दाउ गर्न त कति बाठो ?

(सबै हाँस्छन् )

सुभाष : कथाको शैली त अलि छिप्पिएजस्तो छ, हैन र ?

(फेरि सबै हास्छन्) अब साथी लिलीको पालो !

लिली : (उठेर मुस्कुराउँदै) मेरो कविता पनि छन्दमा छ । ठीक रोशनजीको जस्तै ।

(सबैका अनुहारमा आँखा छर्दै) यस कविताको शीर्षक छ :  “यी नक्कली दाह्री जुँघा लगा’को” (लय हालेर वाचन)

‘जुत्ता लगाएर हजूरबाको

म आज काँडाहरु टेक्न गा’को

चश्मा लगाएर हजूरबाको

म आज अड्डा पनि घुम्न गा’को !

लौरो समातेर हजूरबाको

कुकुर् लखेट्ने सुरले मगा’को

जताततै देखिनलाई पाको

यी नक्कली दाह्री जुँघा लगा’को !’

धन्यवाद !

सुभाष : राम्रो ! धेरै राम्रो !!

निशान्त :  (हास्दै) मलाईचाहिँ यो कविताको कुरा कलिलो, छन्द छिप्पिएको जस्तो लाग्यो !

(हाँसो)

सुभाष : (हाँस्दै) अब मेरो पालो आयो हैन त ? (सुनाउने मुद्रामा उभिएर बगलीका कागत भिः क्दै) मैले यसपटक आफैले कविता लेख्न भ्याइनँ । मलाई भन्ने वित्तिकै कविता लेख्न पनि आउँदैन । मसँग अहिले मलाई मन परेका कविको एउटा कविता छ ।त्यही सुनाउँछु, है त !

रोशन : (जिल्ल पर्दै) अरुको रचना सुनाउने ?

सुभाष : हो, अरुको रचना । म भोलि गोष्ठीमा अरुको रचना सुनाउँछु । श्रोताहरुको अनुमति लिएर सुनाउँछु । हाम्रो यो गोष्ठी प्रतियोगितात्मक होइन क्यारे ! यस्तो गोष्ठीमा प्रकाशनमा आएका अरुका रचना आफूलाई राम्रो लागेको छ भने सुनाउन नहुने किन ? म लेखकको नाम भन्छु, रचना सुनाउँछु !

सुषमा : अरुको रचनालाई आफ्नो भनेर सुनाउनुचाहिँ राम्रो होइन । जसको रचना हो, उसैको नाम दिएर सुनाउनु त राम्रो कुरा हो । आफूलाई राम्रो लागेको रचना राम्रो लाग्नुको कारणसमेत खुलाएर सुनाउनु त झन् राम्रो । हाम्रो काका आफू कवि होइन तर गोष्ठीमा अरुका कविता कति राम्रोसित सुनाइ दिनुहुन्छ । त्यत्तिको लागि उहाँहरुलाई ठाउँ ठाउँबाट निम्ता आइरहन्छ । काका के भन्नुहुन्छ थाहा छ ? यसरी कविता सुनाउँदा कविताको प्रचार हुन्छ, कविताको सम्मान हुन्छ अनि सुन्नेलाई पनि रमाइलो लाग्छ !

निशान्त :  हाम्रा बाबा  पनि त्यसै भन्नुहुन्छ । मलाई पनि यो कुरा चित्त बुझ्छ । सुभाषजी, सुनाउनुस् ! सुनाउनुस् !!

सुभाष : यो कविताको शीर्षक हो– “हाम्रो भैंसी बुबु दिन्छ !” यसका रचयिता कविको नाम हो “युद्धप्रसाद मिश्र !” मैले ‘बालकोसेली’बाट लिएको हुँ ।

‘हाम्रो भैंसी बुबु दिन्छ

बुबुचाहिँ अरुले किन्छ

अनि पछि ढिंडो निस्तै हुन्छ

बहिनी रुन्छे, भाइ रुन्छ ।’

(ताली)

सुषमा : राम्रो ! सुभाषजीको बाचनशैली अति नै राम्रो ! (हाँस्दै) रोशनजीलाई कस्तो लाग्यो ?

रोशन : (लज्जित हुँदै) वास्तवमा अघि मैले सुनाएको कविता पनि मैले आफैंले लेखेको होइन । मैले एउटा पुस्तकबाट निकालेको । मैले लेखकको नाम नभनेर गल्ती गरें । यसरी अरुको कविता पनि सुनाउँनुहुन्छ भन्ने मलाई थाहै थिएन ।

सुभाष : (हाँस्दै) शंका लागेर नै मैले तपाईंको कवितालाई छिप्पिएको भनेको हुँ ! सुन्दै जाँदा मलाई त्यस्तै लाग्यो ।

(हाँसो)

रोशन : कविताको विषय छिप्पिएको जस्तो छैन । भाषा पनि मलाई त मीठो लागेको छ । भोलिको गोष्ठीमा म यही कविता सुनाउँछु । लेखकको नाम पनि सुनाउँछु । हुन्न त ?

सुभाष : हुन्छ, किन नहुनु ? मेरो विचारमा त यसो गर्नु राम्रो कुरा हो !

सुषमा : अर्काको कवितालाई आफ्नो भनेर सुनाउनुभन्दा त यो कति राम्रो !

रोशन : ठीक हो !

सुषमा : यो कुरा मलाई पनि चित्त बुझ्यो ।

लीली : मेरो कविताको पनि विचार त मेरै हो, छन्दचाहिँ काकाले मिलाई दिनुभएको ! यो कवितालाई के भन्ने ? मेरो भन्ने कि काकाको भन्ने ?

सुभाष : यस्तो कवितालाई साझा कविता भन्ने ! साझा कविता झन् राम्रो !

सुषमा : त्यसोभए भोलि हामी ५ जनामध्ये २ जनाले आफ्नो रचना, २ जनाले अरुको रचना र १ जनाले साझा रचना सुनाउने भयौं हैन त ?

सबै : हो !

सुभाष  ल, आजको छलफल यहीँ टुङ्ग्याउँ, हुन्छ ?

सबै   (एकै स्वरमा) : हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...