बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन र विभाग थप्ने प्रस्तावले काँग्रेस तरङ्गित !

बिहीबार, १४ कात्तिक २०७६, ०९ : ५८
बिहीबार, १४ कात्तिक २०७६

नेपाली काँग्रेसमा गुटगत विवादसँगै उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियासमेत लम्बिँदै गएको छ ।

उम्मेदवार छनोटकै बीचमा सभापति शेरबहादुर देउवाले पार्टी विभाग गठनको विषय घुसाएपछि पदाधिकारी बैठक विवादमा रुमल्लिएको छ ।

कार्तिक पहिलो र दोस्रो साता गरी ४ पटक पदाधिकारी बैठक बसिसक्दा समेत विवाद निवारण हुन सकेको छैन ।

पार्टीका प्रभावशाली विभागमा आफूनिकट मान्छे ल्याउन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको होडबाजी विवादको मुख्य कारण बनेको छ । सह–महामन्त्री प्रकाशशरण महतले पनि यसकै संकेत गरे ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘वरिष्ठ नेताज्यू कहिले यो बेला विभाग गठन नगरौँ भन्नु हुन्छ । कहिले केही प्रभावभाली विभाग आफूलाई नपाए मान्य हुँदैन भन्नु हुन्छ । सभापतिज्यूले सहमतिबाटै निर्णय गर्न खोज्दा सबै कुरामा ढिलो भइरहेको छ ।’

विभाग गठनको विवादले कार्तिक ७ गतेको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो । वरिष्ठ नेता पौडेल पक्षका नेताहरु बैठक हलमै जान नमानेपछि ७ गतेको बैठक कार्तिक १४ गतेलाई सारिएको थियो ।

तर गत सोमबार पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीको छलफलबाट १४ गते बोलाइएकोकेन्द्रीय समिति बैठकलाई १५ गते सारिएको छ । स्रोतका अनुसार उक्त बैठकमा गत बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गर्नु परेकोबारे देउवा र पौडेलबीच केही समय चर्काचर्की परेको थियो । उपनिर्वाचनका विषयमा बिहीबार बिहान फेरि पदाधिकारी बैठक बस्न लागेको उपसभापति विमलेन्द्र निधिले रातोपाटीलाई जानकारी दिए ।

बैठकमा पार्टी पदाधिकारीसहित उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिलाई पनि बोलाइएको छ ।

उपसभापति निधिले भने, ‘उपनिर्वाचनमा साझा र क्षमतावान उम्मेदवार छनोट गर्नेबारेसोमबार हामीले छलफल गरेका थियौँ । त्यसमा कुनै सहमति हुन सकेन । बिहीबार थप छलफलका लागि बैठक बस्दैछ ।’

शुक्रबारको केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकबाट हुने निर्णय अनुमोदन गर्ने उनले बताए ।

यतिबेला काँग्रेसमा उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति छैन । त्यसैलेपदाधिकारी बैठकबाटै उम्मेदवार टुंगो लगाउने काँग्रेसको तयारी छ ।विवादका कारण गत निर्वाचनपछि विघटन भएको संसदीय समिति पुनः गठन हुन सकेको छैन ।

सह–महामन्त्री महतका अनुसार केन्द्रीय कार्यसमितिबाट अधिकार प्रत्यायोजन गराई पदाधिकारी बैठकबाट उम्मेदवार छनोट गरिने छ ।जसमा ८ जना पदाधिकारीका साथै वरिष्ठ नेता पौडेल र पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला पनि रहने छन् । उनीहरुले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

‘पार्टी विभाग गठनसँगै उम्मेदवारी छनोट प्रक्रियामा पनि तपाइँहरुको विवाद हो?’ भन्ने रातोपाटीको प्रश्नमा नेता पौडलले उम्मेदवारी छनोट प्रक्रियामा खासै विवाद नभएको बताए ।

उनले भने, ‘पहिले विधानविपरित संसदीय समिति गठन गरिएको थियो । त्यो विघटन गरियो । त्यसपछि अहिलेसम्म पुनः गठन गर्ने काम हुन सकेन । अब यतिबेला पदाधिकारी बैठकबाहेक उम्मेदवारछनोट प्रक्रियाको विकल्प तत्काल छैन । यसमा विवाद होइन । टावर पर्सनालिटीको व्यक्तिलाई उम्मेदवार बनाउनु पर्छ भन्ने हाम्रो जोड हो ।’

काँग्रेसले अहिलेसम्म उपनिर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको एजेण्डा र नाराका विषयको पनि टुंगो लगाउने सकेको छैन ।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको थियो ।

तर गत काँग्रेसले बिहीबार फेरि सम्बन्धित पार्टी कमिटीलाई बढीमा ३ जनाको नाममात्र पढाउन निर्देशन गरेका थियो । त्यसमा पनि तीन जना (देउवा, पौडेल र सिटौला) नेता आफू निकटलाई टिकट थमाउन भगिरथ प्रयासमा छन् ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

विभाग गठन विवादको चुरो

सभापति देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्तावअघिसारेपछि विवाद उब्जिएको देखिन्छ । विधान अनुसार विभाग गठनका लागि सभापति देउवाले केन्द्रीय समिति बैठक कुर्नुपर्ने थिएन । तर विभागको संख्या थप्ने प्रस्ताव ल्याएसँगै केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नु पर्ने बाध्यता निम्तिएको हो ।

तर महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता पौडेल पक्षले अस्वीकार गरेको बुझिएको छ ।तर यस विषयमा पौडेलले केही बताउन चाहेनन् ।

विभाग गठनका विषयमा उत्पन्न विवादबारे सहमति हुन नसकेको उनको भनाइ थियो । पौडेलले भने, ‘यसलाई अहिले विवादका रुपमा लिनु आवश्यक नै छैन ।कार्यकाल सकिन ३ महिना जतिमात्र छ ।अब अहिले विभाग–विभाग भनेर हुन्छ? समयमा चासो दिनु पर्दैन ? कुरा यत्ति हो ।’

यता उपसभापति निधिले भने शुक्रबारको केन्द्रीय समिति बैठकमा पनि विभाग गठनको एजेण्डा रहने संकेत गरे ।उनले भने, ‘उपनिर्वाचनका बेला पार्टीको आन्तरिक संरचना निर्माणको काम गर्नु हुँदैन भन्ने होइन । विभागको संख्या बनाउने कुरामा उहाँहरुको विमति हो । विभागलाई व्यवहारिक र काममा प्रभावकारिता ल्याउनकै लागि संख्या बढाउन खोजिएको हो ।’

गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकबाट पारित नयाँ विधानले केन्द्रीय विभाग २८ वटा हुने व्यवस्था गरेको छ । तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा विभाग थपेर ४२ वटा पु¥याइएको थियो । त्यतिबेला विभाग बढी भन्दै त्यतिबेलादेउवा पक्षका नेताहरुले नै चर्को आलोचना गरेका थिए ।

तर सभापति देउवालेपक्षका केन्द्रीय सदस्यको व्यवस्थापनमा कठिनाइ भएपछि विधान संशोधन भएको १० महिनामै विभाग बढाउने प्रस्ताव गरेको पौडेल पक्षको आरोप छ ।

केन्द्रीय समिति बैठकले सभापति देउवालाई नेविसंघको नयाँ नेतृत्व चयनको जिम्मेवारी सुम्पेको छ ।८ महिनादेखि नेतृत्वविहीन अवस्थाबाट गुज्रिएको नेविसंघको तदर्थसमितिको संयोजकमा बल्ल सभापति देउवाले सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेका छन् । नेविसंघको नेतृत्व आफू निकट विद्यार्थीले पाउनु पर्ने भन्दै पौडेलले ढुंगानाको नामस्वीकारेका छैनन् ।तर उपनिर्वाचन पहिले नै नेविसंघमा नयाँ नेतृत्व ल्याउने सहमहामन्त्री महतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप