शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर किन्न ब्रोकरले दिने मार्जिन कर्जामा बैङ्कको भन्दा महङ्गो ब्याज

कर्जा लिन लगानीकर्ता गएनन्
बिहीबार, १४ कात्तिक २०७६, १२ : ५६
बिहीबार, १४ कात्तिक २०७६

धितोपत्र दलाल मार्फत् मार्जिन कर्जा सुविधा (मार्जिन कर्जा ) भएपनि  ब्रोकरहरुले बढी ब्याजदर लिएकाले आफूहरुले सेयर कर्जा लिन नसकेको गुनासो लगानीकर्ताले लगाएका छन् ।

लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका उपध्यक्ष छोटेलाल रौनियार सेयर बजार सुस्ताउँदा लगानीकर्ता ऋण प्रति आकर्षित नभएको बताउँछन् ।

यद्यपि ब्रोकरले लिने ऋणको ब्याज पनि उच्च भएकाले लगानीकर्ताहरुले मार्जिन कर्जाको सुविधा नलिएको हुनसक्ने उनले बताए । उनले भने, ‘ब्रोकरले लिने मार्जिन कर्जाको ब्याजदर स्वभाविक रुपले बैङ्कको भन्दा बढी हुन्छ । साढे २ प्रतिशतसम्म बढी लिनु ठिकै हो तर त्यो भन्दामाथि ब्याजदर लिनुचाहिँ लगानीकर्ता माथिको अत्याचार हो ।’

सबैभन्दा पहिला क्रिस्टल कञ्जनजङ्घा सेक्यूरीटी (ब्रोकर नम्बर ५०) ले मार्जिन कर्जा शुरु गरेको भएतापनि हालसम्म कसैले पनि कर्जा लगेका छैनन्  । ब्रोकर नम्बर ५० का कार्यकारी अध्यक्ष प्रियराज रेग्मी कर्जाका बारेमा बुझ्न आउने धेरै भएपनि हालसम्म कसैले नलगेको बताउँछन् । उनका अनुसार सो ब्रोकरमा मार्जिन कर्जाको ब्याजदर १४–१५ प्रतिशत छ । ब्रोकरहरुले बैङ्कबाटै ऋण लिएर लगानीकर्तालाई दिने भएकाल बैङ्कको भन्दा स्वभाविक रुपले महंगो पर्न जाने उनको भनाइ छ । रेग्मीका अनुसार ब्रोकरले बैङ्कको ब्याजदरमा ३ देखि ६ प्रतिशतसम्म थप गरेर मार्जिन कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । मार्जिन कर्जाका लागि लाग्ने सेवा शुल्क क्रिस्टलमा ०.१ प्रतिशतदेखि ०.२५ प्रतिशत सम्म छ ।

*****

‘दीर्घकालिन कारोबारीका लागि भने बैङ्कबाट कर्जा लिनु नै उपयूक्त हुन्छ । ब्रोकर निक्षेप संकलन गर्ने संस्था होइन । यसकारण उसले पनि बैङ्कबाट नै ऋण लिनुपर्छ । बैङ्कको लागत अनुसार त्यसमा केही थप गरेर ब्रोकरले कर्जा प्रवाह गर्ने हुन् ।’ 

*****

अहिले बैङ्कमा नै उच्च ब्याजदर भएको अवस्थामा अझ बढी ब्याज लिने ब्रोकरको कर्जालाई लगानीकर्ताले बेवास्ता गरेको बुझिन्छ ।

ब्रोकर नम्बर ३४ (भिजन सेक्युरीटीज), ब्रोकर नम्बर ३३ (दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरीटीज),  ब्रोकर नम्बर ३६ (सेक्यूअर्ड सेक्यूरीटीज), ब्रोकर नम्बर ५७ (आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरीटिज) लगायत  हालसम्म २१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि स्वीकृती पाइसकेका छन्  । गत असोज १४ बाट यो शुरु भएको हो ।

कात्तिक १ गतेबाट मार्जिन कारोबार कार्यान्वयनमा ल्याएको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरीटिजबाट पनि हालसम्म कुनै कर्जा गएको छैन । आर्यताराका निर्देशक रामचन्द्र भट्टराई बुझ्न आउनेहरु धेरै भएको तर ऋण लैजाने नभएको बताउँछन् । यसो हुनुमा बजारप्रति लगानीकर्तामा आत्मविश्वास नहुनु उनको तर्क छ ।

आर्यताराले ब्याजदर भने निर्धारण गरेको छैन । भट्टराईले भने, ‘हामीले एक÷दुइ बैङ्कसँग कुरा गरिरहेका छौ । उनीहरुले लिने ब्याजदर अनुसार हाम्रो ब्याजदर निर्धारण हुन्छ । हाम्रो नेटवर्थ धेरै भएकाले धेरै ब्याज थप गर्दैनौँ ।’

मार्जिन कर्जा नयाँ पद्दति हुँदा कसरी लिने अन्यौलता भएको, बैङ्कको शेयर कर्जाभन्दा महङ्गो ब्याजदर, केवल ३ महिनाको अल्पकालीन कर्जा, आफूले चाहेको भन्दा तोकिएका निश्चित कम्पनीमा मात्र उपलब्ध हुने मार्जिन कर्जा र हालको दलालबाट दिने मार्जिन कर्जा नयाँ हुँदा उनीहरूले सोचेको शेयरधितो कर्जाजस्तो सहज र सरल नहुने भएकाले लगानीकर्ताको आकर्षण मार्जिन कर्जामा नगएको केही लगानीकर्ता बताउँछन् ।

मार्जिन कर्जा छोटो समयका लागि हो, दीर्घकालिन कारोबारीलाई घाटा हुन्छ

ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष प्रियराज रेग्मी मार्जिन कर्जा छोटो समयका लागि मात्र उपयुक्त भएको बताउँछन् । ‘दीर्घकालिन कारोबारीका लागि भने बैङ्कबाट कर्जा लिनु नै उपयूक्त हुन्छ । ब्रोकर निक्षेप संकलन गर्ने संस्था होइन । यसकारण उसले पनि बैङ्कबाट नै ऋण लिनुपर्छ । बैङ्कको लागत अनुसार त्यसमा केही थप गरेर ब्रोकरले कर्जा प्रवाह गर्ने हुन्,’ उनले भने ।

रेग्मी भन्छन्, ‘बैङ्कले एक÷दुई हप्ताका लागि ऋण दिन मान्दैन । कम्तीमा एक वर्षका लागि कर्जा लैजान भन्छ । त्यसमा पनि प्रोसेसिङ लामो हुन्छ । बजारमा आएको अवसर तत्काल छोप्न ब्रोकरमार्फत तत्काल कर्जा लिन सक्ने सुविधा हुन्छ । छोटो समयका कारोबारीले यसबाट लाभ लिन सक्छन् ।’

नेपालमा शेयर धितोकर्जा प्रचलनमा छ । तर, हालको दलालबाट दिने मार्जिन कर्जा नयाँ अवधारणा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप