शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ बुँदे सहमतिपछि कृष्णनगर शान्त बन्दै, कर्फ्यू भने कायमै

मध्यरातमा मूर्ति विर्सजन, शव उठाइयो
शुक्रबार, १५ कात्तिक २०७६, ११ : २१
शुक्रबार, १५ कात्तिक २०७६

बुटवल । बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि निषेधाज्ञाभने  अझै पनि कायमै छ ।

कर्फ्यूका बीच लक्ष्मी माताको मुर्ति गतराति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ । सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गत राति करिव २ बजे दुवै पक्षबीच सहमति गरि कडा सुरक्षाका बीच मुर्ति विसर्जन गरिएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली चलाउँदा २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताए ।

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको दुई पक्षको विवाद हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको थियो ।

यतिवेला भने अवस्था विस्तारै सामान्य बन्दै गइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेलले जानकारी दिएका छन् । प्रशासन स्थितिलाई हरेर दिउँसो कर्फ्यू हटाउने सम्भावना देखिएको छ ।

यस्ता छन् सहमति

प्रहरी प्रमुख राणाका अनुसार १२ बुँदे सहमति भएको छ । सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ । दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, प्रदेश सभा सदस्य वीरेन्द्र कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ । 

अहिले मृतकको शव पोष्टमार्टमका लागि तौलिहवा ल्याइएको छ । पोष्टमार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने बताइएको छ । प्रमुख राणाले कर्फ्यू हटाउने विषय अझै निर्णय नभएको बताए । उनले दिउँसोसम्म अवस्था हरेर कर्फ्यूको विषयमा निर्णय हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप