शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आइपिल’ प्रयोग गर्दागर्दै पनि बच्चा बसेपछि...

शुक्रबार, १५ कात्तिक २०७६, १२ : ५५
शुक्रबार, १५ कात्तिक २०७६

बजारमा विभिन्न नामले गर्भनिरोधक चक्कीहरु पाइन्छन् । सहर, बजार र गाउँका औषधि पसलमा यस्ता चक्की बिना प्रेस्क्रिप्सन सहजै किन्न पाइन्छ ।

यस्ता गर्भनिरोधक चक्की प्रयोग गर्नेहरुको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । जसले युवा युवतीहरुलाई विकृत मात्र बनाएको छैन यस पुस्ताका हजारौँ युवतीका स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

खासमा यस्ता चक्कीहरु असुरक्षित रूपमा गरेको यौन सम्पर्कबाट गर्भ नरहोस् भनेर महिलाले ७२ घण्टाभित्र प्रयोग गर्ने गर्छन् । जसमा एक हो – ‘आइपिल’ ।

यस्तै दाङ घर भएकी एक युवती र बुटवलका एक युवकबीच २ वर्षअघि फेसबुकमार्फत चिनजान भयो । सीता (नाम परिवर्तन) र हरि (नाम परिवर्तन) को फेसबुकमार्फत नै प्रेम झाँगियो ।

कक्षा १० मा अध्ययनरत १५ वर्षीया सीता र २२ वर्षीय हरिबीच चिनजान भएको १ महिनामै बुटवलमा भेट्ने सहमति भयो । सीता बजार जान्छु भन्दै घरबाट निस्किइन् ।

घटना हो २०७४ पुस अन्तिमतिरको । बुटवलमा उनीहरुबीच भेट भयो । पहिलो भेटमै हरिले सीतालाई यौनसम्पर्कको लागि प्रस्ताव राखे ।

सीताले पनि सहमति जनाइन् । किनकि हरिसँग उनको प्रगाढ प्रेम थियो । हरिले आफूलाई बिहे गर्नेमा सीता ढुक्क पनि थिइन् । सोही कारण यौनसम्पर्कका लागि सहमति जनाइन् ।

बुटवलस्थित एक होटलमा गएर यौनसम्पर्कपछि हरिले सीतालाई गर्भनिरोधक चक्की ‘आइपिल’ किनेर खान आग्रह गरे ।

जबकि सीतालाई त्यतिबेलासम्म ‘आइपिल’ भनेको के हो राम्रोसँग थाहा पनि थिएन ।

अनि सीताले सोधिन्– आइपिल भनेको के हो ?

हरिले फकाउँदै सीतालाई भने आइपिल खायो भने पेटमा बच्चा बस्दैन । 

उनीहरु विवाह बन्धनमा बाँधिसकेका भने होइनन् । प्रेमी–प्रेमीका मात्र थिए । उनीहरुको परिवारलाई पनि थाहा थिएन ।

यसरी नै दिन बित्दै गयो । उनीहरु कम्तीमा पनि हप्तामा एक पटक भेट्ने गर्थे । भेटेको बेला उनीहरुबीच सहमतिमै यौनसम्पर्क हुन्थ्यो । यौनसम्पर्कपछि सीताले सधैँ आइपिल प्रयोग गर्थिन् ।

एक वर्षमा सीताले ३० पटकभन्दा बढी यौनसम्पर्कपछि ‘आइपिल’ प्रयोग गरिन् ।

यसैबीच, हरि रोजगारीका सिलसिलामा सीतालाई छोडेर २०७५ माघमा भारत गए । भारत गएका हरिले बेला–बेला भारतबाट फोन भने गरिरहन्थे ।

आइपिल प्रयोग गर्दागर्दै पनि बच्चा बसेपछि...

२०७६ जेठतिर सीतालाई अत्याधिक पेट दुख्न थाल्यो । बजार गएर मेडिकलमा गएर चेकजाँच गराउँदा सीता गर्भवती रहेको थाहा भयो ।

सीता ६ महिना १९ दिनको गर्भवती भएकी थिइन् । गर्भनिरोधक चक्की प्रयोग गर्दागर्दै पनि सीता गर्भवती भइन् ।

सीताले आफू गर्भवती भएको कुरा हरिलाई भन्न पाएकी थिइनन् । तर, यता सीता गर्भवती रहेको कुरा घरपरिवारले थाहा पाए । त्यसपछि सीतालाई घरपरिवारले गाली गर्न थाले ।

घरपरिवारको गाली सुन्न नसकेपछि सीता बजार जाने बहानामा बुटवल गइन् । बुटवल गएकी सीताले त्यहाँबाट हरिलाई फोन गरिन् र आफू गर्भवती भएको कुरा सुनाइन् ।

त्यसपछि हरि भारतबाट नेपाल आए । नेपाल आएपछि हरिले सीतालाई बच्चा फाल्न आग्रह गरे । सीता पनि पेटमा रहेको बच्चा फाल्न सहमति भइन् । बुटवलस्थित एक अस्पताल गएर उनीहरुले बच्चा गर्भपतन गराए ।

गर्भपतन गराएपछि सीताको अवस्था नाजुक

बच्चा गर्भपतन गराएपछि हरि फेरि रोजगारीको लागि भारत लागे ।

भारत गएका हरिले पछि सीतालाई सम्पर्क नै गर्न छाडे । यता, परिवारले पनि सीतालाई अपनाउन मानेन । घर छाडेर हाल सीता दाङस्थित एक अनाथ आश्रममा छिन् ।

सीताको स्वास्थ्यमा यति धेरै समस्या आएको छ । सीता उठ्न, बस्न र हिँड्न केही गर्न पनि सक्दिनन् । यता, प्रहरी मुद्दा गरिदिन्छ कि भन्ने डरले हरिले म आफै पाल्छु त भनेका छन् । तर, उनी बसिरहेको संस्थाले तत्कालै हरिलाई जिम्मा लगाउन पनि सकिरहेको छैन ।

१२ देखि १६ वर्ष उमेरका किशोरीलाई असर

१२ वर्षदेखि १६ वर्ष उमेरका किशोरीहरुलाई गर्भनिरोधक औषधि के हो ? किन प्रयोग गरिन्छ ?  किन प्रयोग गर्नुहुँदैन ? भन्ने कुरा पनि थाहा हुँदैन । कसैले भन्दिएको भरमा त्यस्ता औषधि प्रयोग गर्ने गरिएको इन्सेककी विमला पौडेल बताउँछिन् ।

पछिल्लो समय गर्भ रोक्ने औषधिहरु बजारमा छ्यापछ्याप्ती आएको छ । यसले विशेषगरी किशोरीहरुलाई असर गरिरहेको पौडेलको भनाइ छ । 

यस्ता कार्य रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले ठूलो महत्त्वपूर्ण भूमिका निभाउन सक्ने पौडेल बताउँछिन् ।

उनी भन्छिन्, ‘स्कुलमा कुनै पनि चेतनाको कार्यक्रम लैजाँदै गर्दा यस्ता–यस्ता औषधिहरु हुन्छन् । यसले चाहिँ यस्तो असर गर्छ । हामी यतातिर सोच्नपर्छ जस्तो लाग्छ ।’

बाँझोपनको खतरा 

नियमित यस्ता चक्कीको प्रयोग भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ । यस्ता चक्कीले हर्मोन उत्पादनमा कमी ल्याउने भएकाले बाँझोपना देखापर्ने सम्भावना अधिक हुने चिकित्सकको भनाइ छ ।

त्यस्तै, जथाभावी चक्की प्रयाग गर्दा रक्तश्राव भएर महिलाको ज्यानै जाने खतरा पनि त्यतिकै हुन्छ ।  महिलाको पाठेघरको नलीमा पुगेको गर्भलाई यस्ता चक्कीले तुहाउने गर्छ । जसका कारण रक्तश्राव हुने खतरा रहने डाक्टहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप