बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ बागलुङमा उपनिर्वाचन अंक–गणित

शनिबार, १६ कात्तिक २०७६, ०९ : ४०
शनिबार, १६ कात्तिक २०७६

बुटवल । बागलुङको निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (ख) मा उपनिर्वाचनको  तयारीमा प्रमुख सबै दल जुटेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा भएको यो प्रदेशमा बाम गठबन्धनले जित हासिल गरेको थियो । बागलुङ निर्वाचन क्षेत्र २ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको कलेजोको समस्याका कारण ४७ वर्षको उमेरमा २०७५ मङ्सिर २७ गते भारतको नयाँ दिल्लीको  एपोलो अस्पतालमा निधन भएको थियो ।

बामपन्थी गठबन्धनसँग विगतमा चुनाव लडेको कांग्रेसको मत पनि राम्रै आएकोले उपनिर्वाचन पेचिलो बन्ने र शक्ति परीक्षण हुने त्यहाँका नेताहरुको तर्क छ ।

३२०० मतान्तरले जित

२०७४ साल १० मंसिरमा सम्पन्न भएको निर्वाचनमा बागलुङ–२ (ख) मा कुल मतदाता संख्या ३३ हजार २ सय ४० रहेकोमा २२ हजार ६९ मत खसेको थियो । बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती मगरले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३ हजार २ सय ६० मतले पराजित गरेका थिए । घर्तीले ११ हजार ८ सय ८४ मत पाएका थिए भने निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।

२ हजार मतदाता थपिए

जिल्ला निर्वाचन कार्यालय बाग्लुङका अनुसार उपनिर्वाचनमा विगतको निर्वाचनमा भन्दा २ हजार भन्दा बढी मतदाता थपिएका छन् । बागलुङ–२ (ख) मा हाल ३५ हजार ६ सय ३४ मतदाता सूचीकृत छन् । गत श्रावण १६ गते निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि श्रावण १६ पछि उमेर पुगेका बालिग मतदाताले भने उपनिर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

सो कार्यालयको तथ्याङ्क अनुसार गएको निर्वाचनको तुलनामा २ हजार ३ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका भित्रका  जनता बागलुङ–२ (ख) प्रदेशसभा सिटका मतदाता हुन् ।

विगतमा मत परिणाम यस्तो थियो 

२०७४ सालको प्रदेशसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतपरिणाम हेर्दा सबैभन्दा बढी मत नेपाली काँग्रेसले पाएको  देखिन्छ । काँग्रेसले उक्त सिटबाट त्यतिबेला कुल ७ हजार ४ सय १८ मत पाएको थियो ।

काँग्रेस पाएको समानुपातिक मतभन्दा १ हजार २ सय ६ मत बढी काँग्रेसका प्रत्यक्ष उममेदवार जीत बहादुर शेरचनले ल्याएका थिए । प्रत्यक्षतर्फ शेरचनको मत ८ हजार ६ सय २४ थियो ।

यता, तत्कालीन नेकपा एमालेले त्यहाँ ४ हजार ५६ मत प्राप्त गरेको थियो भने तत्कालिन माओवादी केन्द्रले ३ हजार ३ सय ६५ मत प्राप्त गरेको  थियो ।  दुबै पार्टी एकीकरण भएकाले दुवैको मत जोड्दा नेकपाको ७ हजार ४ सय २१ मत हुन्छ ।

नेकपाको मत त्यसबेला काँगे्रसले लिएको समानुपातिक मत भन्दा ३ मत बढी छ । यस्तै, बाम गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले ४ हजार १ सय ४५ मत प्राप्त गरेको थियो ।

बाम गठबन्धनको यी सबै मत जोड्दा ११ हजार ५ सय ७५ मत हुन्छ । तर विजयी उम्मेदवार घर्तीले प्रत्यक्षतर्फ ११ हजार ८ सय ८४ मत प्राप्त गरेका थिए । बाम गठबन्धनको कुल समानुपातिक मतको तुलनामा उनले प्रत्यक्षतर्फ ३ सय ९ मत बढी प्राप्त गरेका थिए ।

स्थानीय तहमा मतपरिणाम यस्तो थियो

प्रत्यक्ष निर्वाचनमा आएको मत परिणाम

 समानुपातिक मत परिणाम यस्तो थियो

नेकपाबाट कसले बाजी मार्ला ?

उक्त प्रदेशसभा सिटमा हुने निर्वाचनको लागि नेकपाले पूर्व एमाले र पूर्व माओवादीबाट गरी ३–३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस भएकाहरुमा तुल्सी अर्याल, मोहनलाल शर्मा, सिता कँडेल, शेरमान घर्ति, टंक पौड्याल र केशव छन्त्याल लगायतको नाम केन्द्रले टुङ्गो लगाउने गरि सिफारिस गरि पठाएको नेकपा बाग्लुङका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले जानकारी दिए । यीमध्ये केन्द्रबाट कसले बाजी मार्ला ? भन्ने कौतुहलतामा कार्यकार्ताहरु छन् ।

‘जनमोर्चासहित हामी वामपन्थी तालमेल गरि चुनाव जित्ने तयारीमा छौं, अघिल्लो पटक हामी पूर्वएमाले र माओवादीले जनमोर्चालाई सघाएका थियौं, यसपाली जनमोर्चाले हामीलाई सघाउने छ र जनमोर्चाका साथीहरुलाई अन्य स्थान र पदबाट चित्त बुझाउने गरि तालमेल गर्न केन्द्र मै पुगेर सुझाएर फर्केका छौं,’ अध्यक्ष सापकोटाले भने ।

‘अघिल्लो निर्वाचनमा हामीहरु काँग्रेस भन्दा ३२ सय मतको अग्रता लिएर विजयी भएका थियौं,’ उनले भने, ‘यसपाली पार्टी एकतासँगै हाम्रा १५ सय बढी मतदाता थपिएका छन्, यसपाली हामी ६ हजार मतको अग्रताले विजयी हुन्छौं ।’

काँग्रेसबाट सिफारिस यी उम्मेदवार

नेपाली कांग्रेस बाग्लुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापाका अनुसार प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । क्षेत्रीय सभापति द्रोणकुमार कुँवर, महाधिवेशन प्रतिनिधिहरु जीतबहादुर शेरचन, (विगतका पनि उमेदवार), टेकराज पौडेल, चुलासिंह घर्तीको नाम जिल्लाबाट सिफारिस गरि पठाइएको उनले बताए । 

‘उहाँहरु (वामपन्थीहरु) विगतको सहमति अनुसार गठबन्धन गरेर चुनावमा लड्नु हुन्छ होला, हामी  एक्लै पनि चुनाव जित्नेगरी लड्दै छौं,’ सभापति थापाले भने, ‘एकदुई दिनभित्र केन्द्रले टुंग्याएर पठाउँछ होला ।’

राष्ट्रिय जनमोर्चाबाट तीन जना सिफारिस

प्र्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले  तीन जनाको नाम सिफारिस गरेको बताईएको छ । पूर्वसांसद स्वर्गीय टेकबहादुर घर्तीकी श्रीमती सुनमाया घर्ती, धर्म कुँवर, खिमविक्रम शाहीलाई जनमोर्चाले सिफारिस गरि पठाएको हो । 

राप्रपाले भने गणेश कुँवरको एकल नाम सिफारिस गरेको छ ।

बडिगाड–२ नेकपाको गढ

विगतको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका वडा नम्वर २ मा तत्कालिन एमालेबाट चुनाव लडेका  विष्णुप्रसाद भुसालले कांग्रेस उम्मेदवार होशियार सिंह थापालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । उनी वडाध्यक्षमा विजयी भए पनि जिल्ला समन्वय उपप्रमुख भएर गएपछि वडाध्यक्षको पद रिक्त छ । प्रदेशसभासँगै उक्त वडामा वडाध्यक्षको निर्वाचन पनि हुन गईरहेको छ ।

त्यस वडामा  विगतको निर्वाचनमा कांग्रेस, तत्कालिन एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एक्लाएक्लै लड्दा पनि एमाले उम्मेदवार भुसालले ६ सय २३ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिश्पर्धी कांग्रेसका थापाले ३ सय २९ मत ल्याएका थिए ।

त्यतिबेला जनमोर्चाले वडाबाट ७० मत र माओवादी केन्द्रले १० मत ल्याएका थिए । नेकपाका नेता तथा  बडिगाड गाउँपालिका अध्यक्ष मेयर सिंह पाईजाले भने, ‘अहिले ३० जना मतदाता बढेका छन्, अहिले पनि नेकपाका उम्मेदवार दोब्बर मतले विजयी हुने हाम्रो आंकलन छ ।’

यसपाली कांग्रेसबाट दिलबहादुर राना कुमाल र नेकपाबाट वडाध्यक्षको उम्मेदवार ढालप्रसाद शेरचन उम्मेदवार हुने लगभग निश्चित भइसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप