शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ मा नेकपाले टुंगो लगायो विद्या भट्टराईको नाम

शनिबार, १६ कात्तिक २०७६, २० : १८
शनिबार, १६ कात्तिक २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार फाइनल गरेको छ । नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो । 

प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो । तर नेकपाले विद्याकै नाममा सहमति जुटाएको हो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको आफूहरुलाई जानकारी गराइएको बताए । 

उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए । 

स्रोतका अनुसार कास्की–२ बाहेक अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । शनिबारको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने उम्मेदवारको टुंगो आइतबार लगाइने बताएका थिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने श्रेष्ठको भनाइ थियो । 

उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफल भएको छ भने  आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ । 

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । 

कास्कीमा जिल्ला कमिटीकै सिफारिस सदर

कात्तिक ८ गते नेकपा कास्कीले विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको थियो । 

तर, कात्तिक १३ गते नेकपा गण्डकी प्रदेशले  भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको थियो । अन्ततः केन्द्रले कास्की जिल्ला कमिटीकै नाम सदर गरेको छ । 

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ । 


सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप