केन्द्रीय संस्करण
संस्मरण

त्यो बेलाको काठमाडौं : मुत्र विसर्जन गर्नेहरुको लर्को र कवि प्यासीको क्रोध’

कवि–करेसोमा उष्णोदक सिन्चन

person explore access_timeकात्तिक १७, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

संस्मरण

पुराना घरका बलेँसीमा खुला नाली, नयाँ घरका छाप्रामा कोपरावाल चर्पी र बाटो कुइनेटोमा उष्णोदक सिन्चन कुनै समयको काठमाडौमा सामान्य नै थियो । त्यसै सामान्यको विभिन्न सम्झनामध्ये एउटा सम्झना यस्तो पनि छ ।

 मैले नीरविक्रम प्यासी देखेको थिएँ । पढेको थिएँ । उनका अनुष्टुप्छन्दका कविता जोसिला हुन्थे । कविताभन्दा पनि उनको प्रस्तुति जोसिलो हुन्थ्यो । शारीरिक रुपले पनि हट्ठाकट्ठा फुर्तिला जोसिला थिए प्यासी । हाउभाउ र आरोह अवरोह साथ कविता पाठ गरिरहेका, श्रोताप्रिय कवि प्यासीलाई यदाकदा कवि गोष्ठीहरुमा सुशोभित देख्नपाइन्थ्यो । हातमा ढुङ्गाका टुक्रा लिएर घरको छतमा बुरुक्क बुरुक्क उफ्रँदै र कराउँदै गल्लीका मुत्र–बिसर्जक धपाउन प्रयत्नशील रहेका कवि प्यासीलाई देख्नपाएको थिइनँ । एक दिन त्यो पनि जुर्‍यो ।

तस्बिर स्रोतः नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार–कलाकार परिचय कोश’

त्यसताका काठमाडौंमा सार्वजनिक शौचालय त्यति थिएनन् । यात्रीहरु प्राय सडक गल्लीको कुइनेटो सिन्चन गर्थे । भित्तातिर फर्केर उभिँदै मूत्रविसर्जन गर्नु शहरका पुरुषहरुका लागि लज्जाको विषय थिएन । मौका परे पल्याक् पुलुक् हेरेर थ्याच्च बस्दै मलोत्सर्जन पनि गर्थे । एकान्त गल्ली, रुखको फेद, पर्खालको फेद, घरकै पनि दायाँ बायाँ एवम् पृष्ठभाग, सडक गल्लीको कुनो कुइनेटो भेग मूत्रसिन्चनका सार्वजनिक स्थल हुने गर्थे । युवाहरु हिँड्दाहिँड्दै उभिएर पल्याक पुलुक हेर्थे र मूत्रणधारो खोल्थे ।

ठमेलमा प्यासीको घर अगाडि गल्लीमा भारतीय सैनिक छात्रावासको बायाँ पर्खाल तेर्सिएर ठडिएको थियो । नवीकृत पर्खाल अहिले पनि छ । त्यसताका त्यो गल्ली अहिलेजस्तो चहलपहलको थिएन । सामान्य र धेरैजसो सुनसान नै हुन्थ्यो । त्यहीँनेर आइपुगेपछि बटुवाहरु प्रायः पर्खालसिन्चनमा उद्यत हुन्थे । मेरो डेरा ठमेल भगवतीवहालमा  थियो । यदाकदा त्यो बाटो पनि हिँडिन्थ्यो । एक पटक म पनि हिँड्दै त्यहाँ आइपुगेको थिएँ । त्यहाँ पर्खालतिर फर्किएर उभिएका तीन जना युवाहरुलाई देखें । वातावरणमा पिसाबको उग्र गन्ध सर्सराएको थियो ।

पर्खालको फेदमा बनेको सिमसार देखेर सिन्चनआतुर भएका मुत्रणआकांक्षी युवाहरु कुनै धाराप्रवाहमा थिए त कुनै पर्खालतिर फर्किएर साँचो खोल्दै थिए । “ए ए लौ त त्यहाँ मुत् त तेरो टाउकोमा टुटिल्को उठाइदिन्छु ।” आक्रोशपूर्ण आवाज आयो । आवाजतिर फर्केर हेरेँ । गल्ली किनारको घरको छतमा उफ्रिरहेका थिए प्यासी । मैले प्यासीका कविता पढेको थिएँ । गोष्टीमा फुर्तिसाथ लय हालेर अनुष्टुप्र भट्ट्याएको पनि सुनेको थिएँ । उनको घर यहाँ यही भन्ने थाहा थिएन । आवाजले चिनेँ कवि प्यासी । घरै अगाडि अनपेक्षित दुर्गन्धोदक सिंचन कसलाई पो मन पर्छ र ? त्यसमा पनि पर्खालमुनिको जमावटमा नअटाएर सडक पार गर्दै प्यासीको घरतिर ओर्लिरहेको थियो मूत्रनदी । यस्तो यो मूत्रमय दुर्गन्धित वातावरण कसैलाई मनपर्ने कुरै थिएन । कवि प्यासीलाई पनि मन परेन । त्यति वेला संयोगवस कवि प्यासी घरै रहेछन् । मूत्रवीरहरुको तैयारी चाल पाएछन् । छतमा उक्लेर सिंन्चक बिरुद्ध उफ्रन थाले ।

*******

 

पर्खालको फेदमा बनेको सिमसार देखेर सिन्चनआतुर भएका मुत्रणआकांक्षी युवाहरु कुनै धाराप्रवाहमा थिए त कुनै पर्खालतिर फर्किएर साँचो खोल्दै थिए । “ए ए लौ त त्यहाँ मुत् त तेरो टाउकोमा टुटिल्को उठाइदिन्छु ।” आक्रोशपूर्ण आवाज आयो । आवाजतिर फर्केर हेरेँ । गल्ली किनारको घरको छतमा उफ्रिरहेका थिए प्यासी ।

 

*******

हेरे सिंन्चकमध्येको एक सिन्चक त गाउँले जस्तो पनि छ । धनाढ्य शहरिया होइन । छिमेकी मुलुकको साहेब पनि होइन । नत्र पर्खाल उसकै छात्रवासको । प्यासी तर्कशील हुन्थे कि ? हुन त जमीन सार्वजनिक हो । पर्खाल बाहिर परेको जमिनमाथि पर्खालको के अधिकार ? बरु नाक भएको मान्छे प्यासी । राष्ट्रिय स्तरका कवि । जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि । यो पिसाब गल्लीमा अग्लो र पुरानो भारतीय पर्खालमुनि रवि त सायद कहिले आइपुगेका होलान् र ? पूर्वबाट आउन पर्खालले छेक्छ । पश्चिमबाट आउन प्यासीका घरहरुले छेक्छन् । त्यसैले रवि सुसूचित हुन पाएका थिएनन् । मिडिया पनि सक्षम थिएनन् त्यस ताका । टेलिभिजन थिएन । अहिलेको जस्तो सामाजिक मिडिया कहाँ पाउनु ? भएको भए सिंचन बेलाकै पनि फोटो खिचेर भाइरल गर्दा हुन् । समाचार छापाहरु थिए । सबै छापासँग क्यामेरा थिएनन् । गोरखापत्र थियो । उसको लागि यो चल्तीको गल्ली थिएन । यहाँनिर महापन्च र दरबारिया सचिवका महल पनि थिएनन् । कवि भूपी शेरचनको घर थियो । त्यति वेला भूपी जल्दाबल्दा प्रगतिशील कवि थिए । उनीमाथि पन्चायत प्रसन्न थिएन । भारतीय सैनिक छात्रावास थियो त त्यसको ढोका यस गल्लीपट्टि फर्केको थिएन । यिनै कारणले हुनुपर्छ गल्ली उपेक्षित थियो । ‘पव्लिक मुत्रण’जस्ता सानातिना कुरामा ध्यान दिन गोरखापत्रलाई फुर्सद नै पनि थिएन । छन त पञ्च महापञ्च र तिनका बिरोधी राजनेता कार्यकर्ता पनि थिए । ती पनि यी यस्ता चलनचल्तीका झिनामसिना कुरामा थिएनन् । यो नाक विरोधी दुर्गन्ध संस्कृतिका विरुद्ध उफ्रने जिम्मा थियो तत्कालीन राजनीतिक व्यवस्थामा भिजेका बोल्न सक्ने लेख्न सक्ने र उफ्रन सक्ने क्षमताशील कवि प्यासीको । आफ्नो घर अगाडि र आँखै अगाडिको अचाक्ली सर्वसाधारण भए सहँदा हुन् । सैनिक जोसजाँगरका कविले कसरी सहने ? दायाँ बायाँ हेरेँ । कुनापट्टि लहरै थिए सिंचन कर्ताहरु । मुत्रणआतुर म पनि आँट बटुलेर उभिएँ । लामबद्ध सिंचन सन्नद्धहरुले कविलाई टेरेको देखिनँ । उता छतमा कवि ढुङ्गाको टुक्रा ताक्दै कराउँदै थिए । यता गल्लीमा बालाजुका बाईस धारा प्रवाहमान थिए । अजबको थियो दृश्य ।

*******

जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि । यो पिसाब गल्लीमा अग्लो र पुरानो भारतीय पर्खालमुनि रवि त सायद कहिले आइपुगेका होलान् र ? पूर्वबाट आउन पर्खालले छेक्छ । पश्चिमबाट आउन प्यासीका घरहरुले छेक्छन् । त्यसैले रवि सुसूचित हुन पाएका थिएनन् । मिडिया पनि सक्षम थिएनन् त्यस ताका । टेलिभिजन थिएन । अहिलेको जस्तो सामाजिक मिडिया कहाँ पाउनु ? भएको भए सिंचन बेलाकै पनि फोटो खिचेर भाइरल गर्दा हुन् । समाचार छापाहरु थिए । सबै छापासँग क्यामेरा थिएनन् । गोरखापत्र थियो । उसको लागि यो चल्तीको गल्ली थिएन । यहाँनिर महापन्च र दरबारिया सचिवका महल पनि थिएनन् ।

*******

नाकै अगाडीको दुर्गन्ध सिंन्चनविरुद्ध एक शक्तिशाली  कवि भएजति सामर्थ्यका साथ छतमा  उफ्रिरहेका थिए । कराइरहेका थिए । उनको घर यही दुर्गन्ध फेदी पर्खालको सामुन्ने थियो । हुल बाँधेर पञ्चर्‍यालीकै रुपमा दुर्गन्धहरु कविका घरतिर दगुरिरहेका थिए । आँगनबाट, ढोकाबाट झयालबाट र छतबाट । पिसाबको यो बाफिलो मानवीय गन्ध अमानवीय र आक्रामक बनेर ओइरिइरहेको थियो । भावविह्वल हुँदा हुन् कवि । यस्तो बेला कविता लेख्न र सुनाउन पनि मन लाग्दो हो । मन मारेर फुरेका कविताका फाँकी बिर्संदै गाली बक्न तम्सेका हुन सक्छन् कवि । कविको त गाली पनि सशक्त कविता बनिन सक्छ । रौद्ररसको कविता । वीभत्स रस त गल्लीको पर्खाल फेदीबाट उम्लेर यत्रतत्र पोखिएकै छ । यो सबै सोच्दै सिंचन रोकेर हेरेँ । कविले भने “ए गाउँले त्यहाँ मुत्छस् ? जा, तेरा गाउँको मुखियाको मुखमा गएर मुत् ! सक्छस् ? फोर्दिउँ टाउको ?” मलाई रमाइलो लाग्यो कविको यो मुखियाको मुखवाला कविता । भावाक्रान्त अभिव्यक्ति । अनायास उत्पन्न ।

त्यस युगमा सडकमा यस्तो कविता सुन्न पाउनु पनि सजिलो थिएन । गल्लीको त्यस भेगमा पुग्नुपर्थ्यो । पिसाब लागेको मौका पर्नुपर्थ्यो । अनि कविजी पनि घरमै हुनुभएको समय हुनुपर्थ्यो । यति धेरै संजोग सितिमिति कसरी मिल्नु ? यो अवसर पाएर कति बटुवा धन्य भए, म अडकल काट्न सक्दिनँ ।   पर्खालको फेदमा लम्पसार लम्बपुस्करणी देख्दा  अकवि पनि भावविह्वल हुन सक्थ्यो भने कविजी त विदाका क्षणमा कदाचित् मात्र भावविह्वल हुन् र धारा प्रवाह अभिव्यक्त हुनपाउनुहुन्थ्यो भन्ने अनुमान गर्न सकिन्थ्यो ।

यो बीस एकाइस साल तिरको कुरो हो । त्यति बेला काठमाडौमा ढलको व्यवस्था थिएन । संस्कृति र सभ्यताको धनी कान्तिपुरको आमपरम्परामा घरका बलेँसीहरुले फोहोर प्रवाहक नालीको काममा पनि सहभागी बन्नु पर्थ्यो । कति घरमा चर्पी हुन्थ्यो । कति घरमा हुन्थेन । चर्पी पनी भुइँखनेर टाँसेको बाटाजस्तो । दिसा त्यसैमा जम्मा हुन्थ्यो र शहरकै कुनै एक जातिका नारी पुरुष बुढा बुढी बालबालिका कसैले कनस्टरमा उठाएर खर्पनमा बोक्दै स्थानीय किसानका खेतमा लगेर उर्बरकका रुपमा बिसाइदिनुपर्थ्यो । यस बापत नाम मात्रको मूल्य पाउँथे तिनीहरु । शहरको फोहोर उठाएर शहरलाई जीवन प्रदान गर्ने यी महानतम आत्माहरु नै सबैका आँखामा निकृस्टतम गनिन्थे । कवि भिक्षुले यसैमा ‘भुतुचा’ कविता लेखेका थिए । बाँकी कति विद्धान् विवेकी ज्ञानी ध्यानी र भक्तजनहरुले आजीवन यो अन्याय हेरे, विषमता हेरे तर देखेनन्, लेखेनन् । यिनीहरुको विवेक वुद्धिमा चेतनाको बतास लागेन ।

*******

त्यति बेला काठमाडौमा ढलको व्यवस्था थिएन । संस्कृति र सभ्यताको धनी कान्तिपुरको आमपरम्परामा घरका बलेँसीहरुले फोहोर प्रवाहक नालीको काममा पनि सहभागी बन्नु पर्थ्यो । कति घरमा चर्पी हुन्थ्यो । कति घरमा हुन्थेन । चर्पी पनी भुइँखनेर टाँसेको बाटाजस्तो । दिसा त्यसैमा जम्मा हुन्थ्यो र शहरकै कुनै एक जातिका नारी पुरुष बुढा बुढी बालबालिका कसैले कनस्टरमा उठाएर खर्पनमा बोक्दै स्थानीय किसानका खेतमा लगेर उर्बरकका रुपमा बिसाइदिनुपर्थ्यो ।

*******

गाउँ बस्तीका डहरहरुमा बरु थोरै त्यस्ता खुला चर्पी भेटिन्थे । धेरै त दिसा जङ्गल जाने भन्थे । नजिक भए जङ्गल  र नभए बारीका कुनातिर मल्न पुग्थे । शहरमा यसका लागि एकान्त गल्ली र बाग्मती  बिष्णुमती लगायत खोलाका किनार थिए । ती खोला किनारहरुमा बिहान नरनारीहरु लहरै बसेर दिसा गरिरहेका देख्न सकिन्थ्यो । पुरुषहरु पुरुष प्रधानताका मिचाहापनको टोपी र निर्लज्जताको पारदर्शी खास्टो ओढेर नाङ्गिएका हुनुका कारण दिउँसै पनि आवश्यकता पर्दा खोला किनारको खुल्ला ठाउमा बसेर दिसा पिसाप गर्न सक्थे । महिलाहरुलाई गाह्रो थियो । दिउँसो दिसा पिसाब लाग्यो भने कहाँ जाने ? अझ त्यो बेग्लै गन्ध र प्रकृतिको काठमाडौमा झाडापखाला नै लाग्यो भने घरका महिलाले कहाँ जाने ? समस्या विकराल थियो । खै कसरी समाधान हुन्थो चर्पीविहीन नारीहरुका समस्या ? थाहा भएन ।

     काठमाडौ शहरमा ढल नहुनुको एउटा फाइदा थियो । बिष्णुमती, बाग्मती र धोवीखोलाहरु आफ्नो बाटो पानी लिएर बग्न पाएका थिए । मानिसहरु त्यहाँ गएर बगेको पानीमा मुख धुन्थे, नुहाउँथे । धर्म गरेँ भन्ने ठानेर मख्ख पर्थे । नदीकिनार भेगका महिलाहरु त्यसै पानीमा भाँडा माझ्थे, लुगा धुन्थे । बगरमा लुगा सुकाउन भने बिहान झारेका दिसाका लहर र अतीत तथा jर्तमानसँग तिनका सम्मिलनले गर्दा धोवीहरुलाई समेत सजिलो थिएन ।

काठमाडौमा अहिले जस्तो जताततै घर थिएनन् । जताततै खेत थियो । घण्टाघर रानीपोखरीको पाकशाला पछाडि पनि तलसम्म खेत थियो । पाकशालाका विद्यार्थी बिहान दिसा जङ्गल भनेर तिनै खेतमा ओर्लन्थे । खेत धनीहरु प्राङ्गारिक मलका विरुद्ध थिएनन् । एउटा सुविधा जस्तै थियो यो पनि ।

त्यस्तो समयमा कवि प्यासीको घर अगाडि भारतीय सैनिक छात्रावासको पर्खालको फेदमा सार्वजनिक पिसाब सिन्चन सर्वदा अस्वाभाविक चाहिँ थिएन । त्यहाँबाट अलि पर देब्रेतिर पसेर ठमेल भगवतीबहाल निस्कने गल्लीमा त बिहान दिशा गर्नेको लाइन नै हुन सक्थ्यो । यिनै यस्तै सार्वजनिक  शौचालय घरघरको दिशा भरिएका चलायमान कनस्टर, भित्ता–कुइनेटामुनिका मुत्रपुष्करिणी र एकाध मोटर बसबाट उड्ने पेट्रोल डिजलको गन्ध मिसिएको त्यतिबेलाको काठमाडौको हावामा एउटा विशिष्ट पहिचानपरक गन्ध निर्माण भएको थियो । हावामा निरन्तर यात्रा गर्थ्यो त्यो गन्ध । गाउँ बस्तीको सफा वातावरणबाट शहर पसेका हाम्रा बिचरा नाकहरु त्यो गन्धलाई यत्र तत्र भेट्न र स्वागत गर्न बाध्य हुन्थे । यी नाकहरु ठान्थे— ‘यो शहर हो र यहाँको गन्ध यस्तै हुन्छ । हामी यहाँ बसेर सधैँ यो बेहोरिरहनु पर्ने होइन क्यारे ।’

*******

त्यस्तो समयमा कवि प्यासीको घर अगाडि भारतीय सैनिक छात्रावासको पर्खालको फेदमा सार्वजनिक पिसाब सिन्चन सर्वदा अस्वाभाविक चाहिँ थिएन । त्यहाँबाट अलि पर देब्रेतिर पसेर ठमेल भगवतीबहाल निस्कने गल्लीमा त बिहान दिशा गर्नेको लाइन नै हुन सक्थ्यो । यिनै यस्तै सार्वजनिक  शौचालय घरघरको दिशा भरिएका चलायमान कनस्टर, भित्ता–कुइनेटामुनिका मुत्रपुष्करिणी र एकाध मोटर बसबाट उड्ने पेट्रोल डिजलको गन्ध मिसिएको त्यतिबेलाको काठमाडौको हावामा एउटा विशिष्ट पहिचानपरक गन्ध निर्माण भएको थियो ।

*******

त्यसताका गाउँमा पनि ‘हग न बाटो छोड’ को उखान सर्वविदित थियो । बाटो हग्ने संस्कृतिमा हाम्रो राजधानी शहर मात्र एक्लो, बेग्लो थिएन । गाउँहरु पनि सहभागी थिए । पाखापखेराव्यापी लामो बाटो हिँड्दा कतै मानव मलमूत्र गनायो भने अब गाउँ नजिकै आइपुगिएछ भन्ने ज्ञान अन्धकार रातमा  पनि उपलव्ध रहन्थ्यो । बिहान बिहान नुहाउने र पाठपूजा गर्ने परम्परागत संस्कृति बोकेकाहरु धोती रुमाल र लोटा लिएर व्रह्ममुहूर्ततिरै पँधेरातिर दगुर्थे । त्यतैहुँदो जङ्गल, खोल्चाखोल्ची, पाखापखेरा र बारीतिर मलमूत्र घोप्ट्याउन पुग्थे । बाँकी सवैको सार्वजनिक शौचस्थान गाउँको मुलबाटो नै हुन्थ्यो । गाउँमा घर थोरै खेतबारी बनपाखो धेरै थिए । म जुन गाउँमा जन्मेँ हुर्केँ त्यहाँ प्रातः स्नान र सन्ध्यावन्दन गर्नेहरुका घरहरु थिए । गुहूमाथि चिप्लेर बाटोमा पछारिनुपर्ने सम्भावना त्यहाँ थिएन । गाउँका घरहरु विभिन्न दूरीमा हुनुले पनि मलमूत्रहरुको विशिष्ट सङ्गमस्थल बन्न पाएको थिएन । काम विशेषले अन्यत्र जाँदा विशेष गरेर झुरुम्म गाउँका बाटोमा गुहूबाट बल्ल बल्ल जोगिँदै ठाउँ ठाउँमा टेकेर गल्ली पार  गर्नु परेका अनुभवहरु प्रसस्तै थिए । गाउँमा कतै पिसाप गर्न लाग्दा ढुंगा हान्न मान्छे अघिसरेको स्थिति भने भोग्नुपरेको थिएन र  यो अनुभव थिएन । ठमेल गल्लीको अनुभव ताजा मात्र थिएन नितान्त नयाँ पनि थियो ।

*******

काम विशेषले अन्यत्र जाँदा विशेष गरेर झुरुम्म गाउँका बाटोमा गुहूबाट बल्ल बल्ल जोगिँदै ठाउँ ठाउँमा टेकेर गल्ली पार  गर्नु परेका अनुभवहरु प्रसस्तै थिए । गाउँमा कतै पिसाप गर्न लाग्दा ढुंगा हान्न मान्छे अघिसरेको स्थिति भने भोग्नुपरेको थिएन र  यो अनुभव थिएन । ठमेल गल्लीको अनुभव ताजा मात्र थिएन नितान्त नयाँ पनि थियो ।

*******

 दिनभरि विभिन्न काममा रुमल्लिएर बेलुका डेरामा पुगेपछि मैले ठमेलगल्लीको सार्वजनिक मूत्रविसर्जन समारोहको रोमान्चकारी घटना सम्झेँ, कवि प्यासी सम्झेँ, वहाँको काव्यशैली सम्झेँ । मलाई वहाँको शैलीमा वहाँ नै बनेर एउटा कविता लेख्न मन लाग्यो । नोटबुक निकालेर लेखेँ ।

पुराना कितापकापी निकालेर हेर्ने क्रममा धेरै वर्षपछि त्यो नोटबुक मेरा हातमा पल्टिन आयो । त्यति बेला लेखेको कविता त्यति वेलाकै वातावरणमा पुगेर पढेँ । आजको काठमाडौका लागि यो पनि उल्लेखनीय रमाइलो सम्झना होला जस्तो लाग्यो । आफ्नो संस्कृति र सभ्यतामा गौरव गर्ने हाम्रो काठमाडौं विगतमा कस्तो थियो आगतमा कस्तो छ अनागतमा कस्तो होला ? यी आजका विमर्शहरु हुन सक्छन् । त्यति बेला लिखित कविता चाहिँ यस्तो रहेछ ।

मेरो घरकै सामुन्नेमा ठिङ्ग उभिएर

पर्खालनिर पर्खालझैँ टक्क अडिएर ।

मूत्रधाराप्रवाहमा भावमग्न तिमी

त्यताबाट यता बग्दै भिज्ने हाम्रो जिमी ?

++

बेला बेला दुर्गन्धको ह्वास्स जुलुस आउँछ

सिङ्गै परिवारको नाकमा आतङ्क नै छाउँछ

शान्तिभूमि नेपालमा अशान्ति यो किन ?

लबर्चट्टा तँलाई देख्दा लाग्छ मलाई घिन

++

जता मुते पनि हुने यो जङ्गली गाउँ हो ?

मेरो आफ्नो करेसो यो, तेरो मुत्नेठाउँ हो   ?

खुरुक्क रोक् मूत्रनली, नत्र फोर्छु टाउको

ठमेलगल्ली बिर्ता हो कि तेरो पाखे बाउको ?

++

कुनै वेला म ‘पाखे’को गुण गाउने कवि

जनक बुद्ध पृथ्वीनारान् मेरा काव्यछवि

‘पाखे’ हुनु कि त त्यस्तो विभूतिचाहिँ हुनु

करेसामा मुतिहिँड्ने ‘पाखे’ किन हुनु ?

++

कविकरेसामा मुत्न लाज पनि छैन !

टाउको फुट्न सक्छ भन्नेडर पनि छैन !

ए पाखे तँ मान्छे होस् कि काशी जाने कुत्ता ?

रणजागृत भयो कवि तैंले पर्खाल मुत्दा !

++

भानुभक्त बनाउने मोतीरामको घाँसी

तँ ‘पाखे’ले बनाको होस् नीरविक्रम प्यासी ?

देशको पहरेदार हूँ म देशभक्ति गाउने

तँ यो मेरै करेसामा किन मुत्न आउने ?

++

हिजो आज पनि ठमेल गल्ली छ । पर्खाल छ । बाह्रै मास मूत्रवर्षाको त्यो मनसुन आज त्यहाँ छैन । कवि प्यासीको घर त्यहाँ छ कि छैन मलाई थाहा छैन । त्यस भेगमा अहिले धेरैजसो होटलहरु छन् । ठमेल हाम्रो आजको काठमाडौको अन्तर्राष्ट्रिय गल्ली बनेको छ । त्यहाँ त्यति वेलाको त्यो मूत्रणको भन्दा चर्का र विषाक्त दुर्गन्धहरु पनि हुन सक्छन् । ती सार्वजनिक छैनन् । विभिन्न चारदिबारभित्र  छन् । समय फेरिएको छ । प्रवृत्तिगत विशेषताहरु कति तिनै छन् । कति फेरिएका छन् । सवै कुरा त भुक्तभोगीहरु नै जानुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...