बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईओएफटीसी अमेरिकाको मिचिगनमा हुने

आइतबार, १७ कात्तिक २०७६, २१ : ५८
आइतबार, १७ कात्तिक २०७६

   काठमाडौं । १३औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा सन् २०२० को मे महिनामा हुने भएको छ ।            

ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा सञ्चालन हुने च्याम्पियनसिपमा विभिन्न २५ देशका सातसय खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियनसिपका संयोजक लवप्रसाद गोर्खालीले जानकारी दिए । च्याम्पियनसिपमा नेपाल, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, दक्षिण कोरिया, मेक्सिको सहभागिता पक्का भइसकेको छ । सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ । च्याम्पियनसिपमा कूल ६५ स्वर्ण, ६५ रजत र एक सय ३० कांश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ । नेपालबाट पाँच खेलाडी इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुनेछन् । कात्तिक १ र २ गते चितवनको रत्ननगरमा सम्पन्न तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो ।

उक्त प्रतियोगिताबाट सितापाइला तेक्वान्दो डोजाङका शैलेशराज गिरी, कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद, मैत्री तेक्वान्दो डोजाङका दिनेश सुनार, सितापाइला तेक्वान्दो डोजाङकी आयशा तामाङ र कोटेश्वर तेक्वान्दो डोजाङकी सुष्मिता मोक्तान छनोट भएका छन् । छनोट भएका खेलाडीलाई पोखरामा एक महिना बन्द प्रशिक्षणमा राखेर अमेरिका लगिने आइओएफटिसीका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप