बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माधवको ‘फरक मत’ कि ‘गुटको प्रतिनिधित्व’ मात्र ?

'प्रचण्ड–ओली मिल्दा माधवलाई झस्का'
बुधबार, २० कात्तिक २०७६, ०९ : २२
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ– जब पार्टीले महत्त्वपूर्ण निर्णयहरु गर्ने बेला आउँछ, त्यतिबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँगै जोडिएर आउने अर्को विषय हो ‘विवाद’ । त्यो विवाद वैचारिक र सैद्धान्तिक धरातलमा भन्दा पनि व्यक्ति केन्द्रीत हुने गरेका छन् ।

कागजी रुपमा नेकपा एकता घोषणा भएपनि नेताहरुमा ‘मेरो र तेरो’ भन्ने भावना र ‘गुटगत राजनीति’ कायमै रहेकाले यस्ता विवाद निरन्तर दोहोरिदै आउने गरेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर १८ महिना अघि घोषणा भएको नेकपाभित्र साढे एक वर्षको अवधिमा दर्जन बढी विवादका शृङ्खला सार्वजनिक भइसकेका छन् ।

पार्टी एकता हुँदा दुवै दलका नेता–कार्यकर्ताहरुमा देखिएको उत्साह र उमङ्गसमेत पार्टीमा एकपछि अर्को गर्दै बल्झने विवाद, शीर्ष नेतामै मनमुटाव र असहमतिका शृङ्खलाले क्षीण बन्दै गएको आभाष स्वयम् नेकपा कै नेता कार्यकर्ताहरुले गर्न थालेका छन् । त्यतिमात्रै होइन, पार्टीमा बढेका यस्ता असन्तुष्टिहरु झाँगिदै जाने र भविष्यमा यसले ठूलो रुप लिनसक्ने खतरा कायम रहेको नेकपाकै नेताहरुले बताउने गरेका छन् ।

पार्टी एकता घोषणसँगै जिम्मेवारी दिने प्रकृयामा होस् वा सरकारले गर्ने महत्त्वपूर्ण नियुक्ती नै किन नहोस् कुनैपनि मुद्दामा नेकपा विवादरहित बन्न सकेको छैन ।

पार्टी प्रदेश इन्चार्ज, जनवर्गीय संगठन र विभागको नेतृत्व, नेताहरुमा दोहोरो जिम्मेवारी, वरियता घटुवा, सरकारले गर्ने नियुक्ती तथा प्रदेश प्रमुख नियुक्ती जस्ता विषयको निर्णयमा एक पक्षले अर्को पक्षको सल्लाह र सुझाव विपरित निर्णय हुने गरेको भन्दै विवाद जन्मने गरेको हो ।

यी विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खासै ठुलो मतान्तर नरहेपनि अर्का नेता माधव कुमार नेपालले भने पार्टी बैठकमा लिखित रुपमै फरक मत राख्न पुगेपछि नेकपाभित्रको असन्तुष्टि सतहमै आएको हो । जसको असर पार्टी केन्द्रदेखि जिल्लातहसम्मै पुगेको सो पार्टीका नेता कार्यकर्ताको बुझाइ छ । 

पछिल्लो पटक कार्तिक १८ गते सोमबार प्रदेश प्रमुख नियुक्ति गर्दा पनि नेकपा विवादरहीत बन्न सकेन । प्रदेश प्रमुखमा आफ्नो पक्षका मानिस नपरेको भन्दै नेता नेपालले फरक मत जाहेर गरेर आफ्नो असन्तुष्टि प्रकट गरे । त्यसो त नेता नेपालले प्रदेश प्रमुख नियुक्तिको विषयमा राखेको फरक र असन्तुष्टि पहिलो भने होइन । यसअघि पनि नेता नेपालले पार्टी निर्णयमा दुई पटक फरक मत राखिसकेका छन् । २०७५ असोज ५ मा प्रदेश इन्चार्ज छनोट, २०७६ भदौ ३ मा आफ्नो वरियता घटुवा र विभाग तथा जनवर्गीय संगठनको चयन हुँदै २०७६ कार्तिक १८ मा भएको प्रदेश प्रमुख नियुक्तीसम्म आउँदा नेपालको फरक मत तेस्रो पटक पुगिसकेको छ । तर नेता नेपालको फरक मतबारे सम्बोधन या छलफल गर्ने आवश्यक्ता पार्टीले पार्टीले देखेको छैन ।

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालका अनुसार कुनैपनि पार्टीभित्र फरक मत राख्नु लोकतान्त्रिक अभ्यास हो । तर ति फरक मतलाई पार्टीभित्र सम्बोधन या छलफल गरिन्छ या गरिँदैन भन्ने महत्त्वपूर्ण सवाल हो । ‘पार्टीमा राखिएका फरक मतलाई छलफल र सम्बोधन गरिएन भने त्यसले समग्र लोकतन्त्र, पार्टीको आन्तरिक लोकतन्त्र र पार्टी जीवनलाई नै प्रभावित पार्छ,’ नेता भुषाल भन्छन्, ‘छलफल र सामुहिक निर्णय नहुँदा पार्टी नीतिमा प्रभाव पर्छ । नेकपाको अहिलेको स्थिति पनि त्यो भन्दा फरक देखिँदैन ।’

विचार र सिद्धान्तमै फरक मत राख्दै आएका नेता भुषालले फरक मतहरुबारे पार्टीले अहिलेसम्म छलफल गर्ने आवश्यक्ता नै नदेखेको प्रतिकृया दिए । ‘फरक मतहरुमा अहिलेसम्म छलफल भएको छैन । फरक मत या विचार राख्दा पार्टीका नीति टेकिन्छ या टेकिँदैन भन्ने विषयमा समेत छलफल हुन नसक्नु दुर्भाग्य हो’, भुषालको भनाइ छ ।

सुध्रेन ओली–नेपाल सम्बन्ध

त्यसो त केपी ओली र माधव नेपालबीच मात्रै होइन ओली र अर्का अध्यक्ष प्रचण्डबीच पनि बेलाबेला मनमुटाव हुने गरेका छन् । तर उनीहरुबीचको मनमुटाव भने धेरै समय रहन्न । तर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भने यो शृङ्खला अलि लामै बन्ने गरेको घट्नाक्रमहरुले देखाएका छन् ।

२०७६ भदौ ५ मा बालुवाटारमा सचिवालय बैठक डाकिएको थियो । यो दिनको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच व्यक्तिगत तहमै आरोप–प्रत्यारोप चल्यो । जुन बेला प्रधानमनत्री ओली आफ्नो उपचारका लागि सिंगापुर जाने तयारीमा थिए । तर सम्बन्धमा आएको उत्तरचढावका कारण त्यस दिन ओली र नेपालबीच स्वास्थ्यलाभको आदानप्रदान नै नस्वीकार्ने अवस्थासम्म पुग्यो । जसले ओली नेपाल सम्बनधबारेका समाचार सञ्चारमाध्यमहरुका लागि राम्रै ‘मसला’ बन्न पुगेका थिए । त्यसयता ओली र नेपालबीचबको सम्बन्धमा खासै सुधार आउन सकेको छैन ।

केबाट सुरु भयो असमझदारी ?

ओली–नेपाल सम्बन्धको उत्तरचढाव तत्कालीन एमालेदेखिकै हो । तत्कालीन एमाले पार्टीमा समेत दुवै नेताले आ–आफ्नो गुट सञ्चालन गर्दै आएका थिए । पार्टी एकतापछि भने ओली–नेपाल असहमतिको शृङ्खला विगत १३ महिनायताबाटै सुरु भएको हो । २०७५ असोज ५ नेकपाले प्रदेश अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी टुङ्गो लगायो । त्यसवेला नेता नेपाल विदेश भ्रमणमा थिए । उनले आफू विदेशमा भएका बेला पार्टीको महत्त्वपूर्ण निर्णय गरिएको भन्दै फर्किएलगत्तैको बैठकमा फरक मत राखे  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी दिइएकोमा नेपालले फरकमत मात्रै राखेनन् ओलीसँग चर्को असन्तुष्ठि समेत जनाए ।

प्रचण्ड भन्छन् ‘नोट अफ डिसेन्ट’ स्वभाविक

नेता नेपालको फरक मत अर्थात नोट अफ डिसेन्टलाई सो पार्टीका एक अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले भने स्वभाविक भएको प्रतिकृया दिएका छन् । मङ्गलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको प्रतिकृया दिएका  हुन् ।

‘माधवजीले एक–दुई जनाको नाम पारौँ भनेर जोड गर्नुभएको थियो । बैठकले त्यो निर्णय गरेन । त्यसपछि उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ प्रचण्डको भनाइ थियो । यद्यपी प्रचण्डले नवनियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको दावी गर्दै प्रचण्डले भने, ‘उहाँले म मान्दिँन भन्नुभएको छैन ।’

फरक मत ‘गुट’को प्रतिनिधित्व मात्र

हुन त कम्युनिस्ट पार्टीमा फरक मत र असहमतिलाई पार्टीको सम्पतिका रुपमा बुझ्ने गरिन्छ । तर, ति फरक मतको वैचारिक र सैद्धान्तिक आधार हुन जरुरी रहेको सरोकारवालाको भनाइ छ । विश्लेषक पिताम्बर शर्मा नेकपाभित्र आउने गरेको फरक मतलाई ‘गुटको प्रतिनिधित्व’ संज्ञा दिन्छन् । ‘नेकपामा मात्रै होइन, नेपालका राजनीतिक पार्टीमा फरक मत राख्ने प्रचलन नै छ । तर ति फरक मतहरु सैद्धान्तिक र वैचारिक आधारका नभइ गुटगत रुपमा आउने गरेका छन्,’ शर्माले अगाडि भने, ‘नेकपाभित्र लगातार माधव नेपाल पक्षले राखेको फरक मत पनि त्यो भन्दा फरक छैन । किनभने पार्टीले लिएको विचार र सिद्धान्तमा नेपालको सहमति देखिन्छ ।’

विश्लेषक शर्माले विचार र सिद्धान्तलाई टेकेर राखिने फरकमतले मात्रै पार्टीलाई सही दिशा दिन सक्ने भन्दै गुटगत आधारमा राखिने फरक मतले पार्टी थप कमजोर बन्न सक्ने बताए ।

शर्माको भनाइसँग विश्लेषक राजेन्द्र महर्जन पनि सहमती राख्छन् । महर्जन भन्छन्, ‘नेकपाका नेता माधव नेपालले राखेको फरक मतको सैद्धान्तिक आधार देखिँदैन । किनभने नेता नेपालले सिद्धान्त र विचारका साथ द्वन्द्व गर्नुको साटो बरु पावर टसलका रुपमा फरक मत राख्ने गरेको पाइन्छ ।’ केही समय पहिला अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुहुँदैन भनेर नेता नेपालले भन्ने गरेको स्मरण गर्दै महर्जनले आफैले त्यो कुरा कार्यान्वयन नगरेको उदाहरण रहेको बताए । ‘पछिल्लो समय ओलीलाई कमजोर पार्दै प्रचण्डसँग मिल्न नेता नेपालले आफ्नो स्वार्थ र हितलाई विचार र सिद्धान्तमा परिणत गर्न खोजेको हो कि भन्ने जस्तो देखिन्छ । तर यसमा प्रचण्ड माधवसँग भन्दा ओलीसँगै मिलेकाले उनलाई झस्का पसेको हुनसक्छ’, महर्जनको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप