शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको अनशन : अरु नै स्वरुपमा राष्ट्रिय अभियान सुरु गर्न सुझाव

बुधबार, २० कात्तिक २०७६, ११ : ५१
बुधबार, २० कात्तिक २०७६

प्रा. डा. गोविन्द केसीले कात्तिक १८ गते सोमबारबाट १७ औँ अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै बारम्बार सत्याग्रहमा सामेल हुँदै आएका डा. केसीको समग्रमा यो १७ औँ अनशन हो । यद्यपि सरकारी सेवाबाट अवकास पाएपछि उनको यो पहिलो अनशन हो । उनी हालै सेवानिवृत्त भएका हुन् ।

डा. केसीले १६ औँ पटकसम्म अनशन बस्दा सरकारले विभिन्न चरणमा गरेका सम्झौता कार्यान्वयन नभएपछि अनशन बस्न बाध्य भएको भन्दै १७ औँ अनशन थालेका हुन् । २०६९ असार २१ गते त्रिवि शिक्षण अस्पतालबाट पहिलो अनशन सुरु गरेका उनले १७ औँ अनशन डडेल्धुरामा एक व्यक्तिको घरमा सुरु गरेका हुन् ।

१६ औँ अनशनसम्म केसीलाई साथ दिदै आएका स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले १७ औँ अनशनसम्म आईपुग्दा फरक धारणा राख्न थालेका छन् । नेपालको चिकित्सा शिक्षा सुधारको लागि अब केसीले अनशनभन्दा पनि अन्य विकल्प लिनुपर्ने बताउँदै आइरहेका छन् । डा. केसीको उमेर पनि अब अनशन बस्न सक्ने अवस्थामा नभएको भन्दै चिकित्सा शिक्षा सुधारको लागि केसीले अरु नै स्वरुपमा राष्ट्रिय अभियान सुरु गर्नुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

हामीले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिलाई डा. केसीले थालेको १७ औँ अनशनको औचित्य छ कि छैन भनेर प्रश्न गरेका छौँ । उहाँहरुकै शब्दमा यस्तो छ जवाफ–

अनशन ठिक, समय बेठिक : डा. सुशीलनाथ प्याकुरेल

संघीयताको मर्मभित्र राज्यले नागरिकलाई सबै प्रकारको सेवा सुविधा दिनुपर्छ भन्ने माग जायज हो र आवश्यक पनि हो । तर उहाँको अनशन बस्ने समय गलत हो । यो समय चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी भर्ना हुने समय हो । उहाँको अनशनले विद्यार्थी भर्नामा समस्या पनि ल्याउन सक्छ । मैले स्वास्थ्य मन्त्रालयमा हुँदा उहाँलाई भनेको पनि छु । उहाँको सबै माग जायज हुँदा हुँदै पनि विद्यार्थी भर्ना हुने बेलामा अनशन बस्दा कतै उहाँ विद्यार्थी विदेश पठाउन पो बस्नु भएको होकि भनेर मान्छेले गलत पनि त सोच्ने भए ।

नेपाली विद्यार्थीले आफ्नै मकै, पिठो बोकेर चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु पर्छ ।   काठमाडौँ केन्द्रित मात्रै होइन, सबै ठाउँमा मेडिकल कलेज संचालन गर्नुपर्छ । पैसा नभएका राम्रा विद्यार्थीले छात्रावृत्तिबिना पढ्न सक्ने अवस्था छैन, उहाँको माग सबै ठिक भए पनि अनशन बस्ने समय मलाई चित्त बुझेन ।

यो समयमा चिकित्सा शिक्षा अध्ययनको लागि नेपाल होस् या विदेशबाट विद्यार्थीहरुको लगानी भईसकेको हुन्छ । भर्ना हुनुभन्दा दुई÷चार महिना अघिनै अनशन बस्ने हो भने राज्यको ध्यान जाने थियो । यो भर्नाको समयमा अनशन बस्दा विद्यार्थी रनभुल्लमा पर्छन् ।

डा. केसीको अनशनले भारतलाई समेत प्रभाव पा-यो : प्रा.डा. ढुण्डीराज पौडेल

डा. गोविन्द केसीले अनशनले नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा धेरै परिवर्तन भएको छ । चिकित्सक शिक्षा आयोग गठन डा. केसीको अनशनकै उपलब्धी हो । नेपालमा स्वास्थ्य शिक्षामा धेरै समस्या भएपछि चिकित्सक शिक्षा आयोगले देखिएका विभिन्न समस्यालाई सामाधानको लागि आयोग हुनु पर्ने डा. केसीको माग थियो । अहिले आयोग स्थापना भईसकेको छ ।

नेपालमा चिकित्सक शिक्षा अध्ययनका लागि शुल्क र सिट संख्या निर्धारणको काम पनि डा. केसीको अनशनकै अर्काे उपलब्धी हो । यतिसम्म कि डा. केसीको अनशनले भारतमा समेत समेत प्रभाव पारेको छ । मेडिकल शिक्षाको सवालमा भारतमा पनि नेपालको जस्तै आन्दोलन भएपछि अहिले मेडिकल काउन्सिल खारेज गरेर मेडिकल कमिशन लागू गरिएको छ । नेपालको मेडिकल स्वास्थ्य शिक्षामा डा. केसीले अनशनले धेरै कुरामा परिवर्तन ल्याएको छ ।

तर डा. केसीले अब अनशनभन्दा पनि यो अभियानलाई राष्ट्रिय अभियानको रुपमा लानुपर्ने हो । उहाँको उमेर र स्वास्थ्य अवस्थाको कारणले पनि अब पहिलाको जसरी अनशन बस्न सक्ने अवस्था छैन । मैले अनशन बस्नु गलत भनेको होइन तर अब आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर राष्ट्रिय अभियानमा लाग्नु पर्ने हो र यो समयमा पनि देशको स्वास्थ्य शिक्षाको बारेमा चासो दिएर अनशन बस्नु भएको छ, दु.ख लाग्दो कुरा हो ।

अनशन बस्नु भएको छ । उहाँको उमेरले अनशन धान्न सक्ने अवस्था छैन । बिस्तारै स्वास्थ्यमा समस्या आउने छ । उहाँको अनशनलाई समर्थन गर्ने व्यक्तिहरु आन्दोलनमा उत्रिने छन् । फेरि स्वास्थ्य संस्था ठप्प नहोला भन्न सकिन्न । यो भनेको नागरिकलाई दु.ख दिने काम हो । त्यसैले अनशनभन्दा पनि राष्ट्रिय अभियानको रुपमा अन्य विकल्प अपनाउनु भएको भए राम्रो हुन्थ्यो ।

अनशन बस्नु जायज हो : नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ

डा. केसीले १६ औँ अनशनसम्म सरकारसँग भएको सहमति कार्यान्वयनको लागि दवाब स्वरुप १७ औँ अनशनमा बस्नु भएको हो । उहाँले अघि सार्नु भएको मागहरु नेपालको चिकित्सा शिक्षाको लागि आवश्यक छन् । जुन माग सरकारले सम्बोधन गर्न सक्ने र गर्नुपर्ने खालका छन् । तर अहिलेको सरकारको अवस्था हेर्दा सम्बोधन होला जस्तो मलाई लाग्दैन । प्रधानमन्त्रीको नियत हेर्दा पनि सम्झौता भएका मागहरु सम्बोधन नहुने छाँट देखेरनै डा. केसीले १७ औँ अनशन बस्नु भएको हो । यो अनशन जायज छ । डा. केसीले उठाएका मागहरु सरकारले सम्बोधन गर्नुपर्छ ।

अनशनको औचित्य छ : सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे

डा. केसीले नेपालको चिकित्सा शिक्षाको लागि जायज मागहरु उठाएको हुँदा १७ औँ अनशनको औचित्य छ । अनशनले धेरै कुरामा परिवर्तन आएको हुँदा सरकारी चिकित्सक संघको समर्थन छ ।

सरकारले डा. केसीको मागलाई बेवास्ता गरेकै हुँदा डा. केसीले १७ औँ अनशन बस्नु परेको हो । पत्रकार सम्मेलन गरेरै समयसिमा दिँदा पनि सरकारले बेवास्ता गरेको हुँदा डा. केसी अनशन बस्न बाध्य हुनु भएको हो, उहाँको जायज माग सरकारले सम्बोधन गर्न जरुरी छ ।

समयमा सम्बोधन गर्ने हो भने भोलिका दिनमा बन्द–हड्ताल जस्ता कुराहरुले प्राथमिकता पाउने थिएनन् । त्यसैले समयमै डा. केसीको माग सम्बोधन गर्नुपर्छ । नीजि मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको छ भने यो फिर्ता हु्नुपर्छ । यो हाम्रो पनि माग हो ।

यस्ता छन् डा. केसीका १७ औँ अनशनका मागहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप