शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१७ दिनमा १२ सय बढी स्क्रब टाइफसका बिरामी थपिए

बुधबार, २० कात्तिक २०७६, १४ : ०४
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । डेङ्गु भन्दा पनि घातक रोगका रुपमा हेरिएको स्क्रब टाइफसको बिरामी दैनिक बढ्दै गइरहेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कात्तिक १ देखि १७ गते सम्मको तथ्याङ्क सार्वजनिक गर्दा यो १७ दिनमा एक हजार २ सय ७१ जनामा स्क्रब टाइफसको बिरामी देखा परेको उल्लेख गरिएको छ । 

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा ६३ जिल्लामा स्क्रब टाइफसको बिरामी देखा परेका छन् । 

प्रदेशगत हेर्ने हो भने स्क्रब टाइफसका धेरै बिरामी प्रदेश नं. ५ मा देखिएका छन् । यस प्रदेशको १२ जिल्ला मध्ये रुकुम पूर्व बाहेक सबै जिल्लामा गरी ४ सय ६७ जना बिरामी रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नं. ३ को रामेछाप र रसुृवा बाहेक सबै जिल्लामा यस्ता बिरामी भेटिएका छन् । यस प्रदेशमा ३ सय ७८ जना बिरामी रहेको महाशाखाको तथ्याङकमा उल्लेख गरिएको छ । प्रदेशगत तथ्याङकलाई हेर्ने हो भने स्क्रब टाइफस रोगीको संख्या अनुसार कुरा गर्ने हो भने प्रदेश नं. ५ पहिलो ,प्रदेश नं. ३ दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो नम्बरमा रहेको यस प्रदेशमा २ सय ५५ जना बिरामी रहेका छन् ।  

अन्य प्रदेश नं. १ मा ५७,प्रदेश नं. २ मा २२ ,कर्णाली प्रदेशमा १६ र गण्डकी प्रदेशमा ७६ जना बिरामी रहेका छन् । स्क्रब टाइफसले यो वर्ष मात्रै ३ जनाको निधन भएको भन्दै आईरहे पनि यो तथ्याङकमा भने निधनको संख्या समावेश गरिएको छैन ।

नेपालमा स्क्रब टाइसफस देखा पर्न थालेको लामो समय भए पनि यो रोग नियन्त्रणको लागि सरकारले खासै चासो दिएको देखिदैन । चिकित्सकको भनाईलाई उदृत गर्ने हो भने स्क्रब टाइफस डेङ्गु भन्दा निकै घातक रोग हो । 

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेषगरी मुसा र बिरालोको शरीरमा टाँसिएर रहने परजिवी किर्ना, उपियाँ, उडुस र जुम्राबाट मानिसमा यो रोग सर्छ ।

 घरपालुवा जनावर भएको घरका मानिसलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने स्क्रब टाइफसको लक्षणहरु हुन् ।

 यो रोगको समयमा उपचार भएन ज्वरो बढ्दै गएर अन्य समस्याहरु पनि देखा पर्न सक्छन् । जस्तै मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या हुने र बिरामीको ज्यान जान सक्ने डा.रवीन्द्र पाण्डे बताउँछन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप