शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको खुलासा, भने, ‘कृष्णबहादुर महराले मलाई पनि साँचो कुरा भनेनन्’

बुधबार, २० कात्तिक २०७६, १५ : २८
बुधबार, २० कात्तिक २०७६

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे मुख खोलेका छन् ।  बुधबार प्रेस संगठन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महराले नैतिक रुपमा गल्ती गरेको भन्दै अपराधिक खालको गल्ती नभएपनि नैतिक खालको गल्ती भएको बताए ।

‘महराजीले एउटा मोरल गल्ती महराजीले गर्नुभएको छ । त्यसलाई जति हो त्यति स्वतन्त्र, निश्पक्ष रुपमा टुङ्गोमा पुगोस् भन्ने चाहाना हाम्रो छ,’ अध्यक्ष प्रचण्डले भने । त्यस्तै उनले अदालतले अन्तत मोरल त्रुटिप्रति हुनुपर्ने नैतिक मान्यता अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको पनि बताए । 

उनले महरा प्रकरण बाहिर आएपछि आफुले अर्का अध्यक्ष केपी ओलीसँग समेत समन्वय गरेर बाहिर आएजस्तै स्थिति हो वा होइन भनेर बुझ्न कार्यालयका जोखबहादुर महरा र नारायणकाजी श्रेष्ठलाई पठाएको तर महराले सत्य कुरा नबताएर ढाँटेको बताए । 

‘मिडियामा छरपस्ट कुराहरु आइसकेपछि पनि महराले उहाँहरुलाई जस्ताको तस्तै बताउनुभएन छ’ प्रचण्डले थपे, ‘उहाँहरुले रिपोर्ट दिनुभयो । अनि म तुरुन्त प्रधानमन्त्रीकहाँ बालुवाटार गए । त्यहाँ पनि हामीले कुरा गरियो ।’ अध्यक्ष प्रचण्डले पार्टीमा महराको योगदान छैन भनेर कसैले भन्न नसक्ने भएकाले नै प्रधानमन्त्रीसँग सल्लाह गरेर आफैँ महरालाई भेट्न गएको पनि बताए ।

‘म आफै उहाँलाई भेट्न गएँ । उहाँले मलाई पनि साँचो कुरा उहाँले भन्नुभएन । उहाँले मोरल गल्ती त गर्नुभएकै रहेछ । सबैभन्दा ठुलो गल्ती नेतृत्वलाई ढाँटेर पनि गर्नुभयो । त्योभन्दा गम्भीर त्रुटि उहाँले नेतृत्वलाई ढाँटेर गर्नुभयो’ प्रचण्डले प्रस्ट पार्दै भने । 

सम्मानित पदको पुगेको व्यक्तिले त्यसरी ढाँटेपछि स्थिति अझ बढि जटिल बन्न पुगेको प्रचण्डको भनाई छ । ‘पछि त उहाँले स्वीकार गर्नुभयो । र मैले उहाँलाई भने अब अरु कुनै यदि, तर भन्नेतिर तपाई लाग्नुहुँदैन । तपाइको बारेमा यति गम्भीर नैतिकतासँग सम्बन्धित प्रश्न उठिसकेपछि तपाइँले तुरुन्तै राजीनामा दिनुपर्ने हुन्छ । त्यसपछि स्वच्छ र निश्पक्ष छानविनका लागि राज्यका संरचनालाई मद्दत गर्नुपर्छ’ आफुले महरालाई भनेको प्रचण्डको भनाई छ ।  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप