शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबै दलले पठाए उम्मेदवार मैदानमा : क–कसको हुँदैछ भिडन्त ?

बुधबार, २० कात्तिक २०७६, २० : २८
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ – आगामी मंसिर १४ गतेका हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनका लागि सबै राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । विशेष गरी प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा र प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ (ख), भक्तपुर क्षेत्र नम्बर १ (क) तथा दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनमा दलहरु केन्द्रित छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, सत्ता साझेदार दल समाजवादी पार्टी, साझा पार्टी, विविकशील नेपाली दल र राप्रपालगायतका दलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

उपनिर्वाचन हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ । यस्तै समाजवावादी र साझा पार्टीको उपस्थितिले  विजय–पराजयमा निर्णयक भूमिका खेल्ने आंकलन गरिएको छ । 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भएको छ । यस्तै नेकपा र राष्ट्रिय जनमोर्चा पार्टीबीच पनि चुनावी तालमेल भएको छ ।  बाग्लुङ २ ‘ख’ मा सत्तारुढ नेकपाले जनमोर्चालाई समर्थन गरेको छ भने दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले नेकपालाई समर्थन गरेको छ । तर, काँग्रेस, साझा, विवेकशीललगायतका दल एक्ला–एक्लै चुनावी मैदानमा होमिएका छन् । 

कहाँ क–कसकोहुँदैछ भिडन्त ?

प्रतिनिधिसभा– कस्की

प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपाबाट स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई चुनावी मैदानमा उत्रिएकी छिन् भने काँग्रेसबाट खेमराज पौडल । 
यस्तै समाजवादी पार्टीले पूर्वगोर्खा सैनिक धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई मैदानमा उतारेको छ । यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

कास्कीमा गएको निर्वाचनमा नेकपा माले, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत १३ पार्टी चुनावी प्रतिस्पर्धामा थिए । तर उपनिर्वाचनमा उनीहरुले अहिलेसम्म उम्मेदवारी घोषणा गरेको पाइँदैन ।

गत निर्वाचनको चुनावी अंकगणितले कास्की २ मा विद्या र खेमराजबीच प्रतिस्पर्धा हुने देखिएको छ । तत्कालीन बामगठबन्धनबाट विजयी रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की दुईमा उपनिर्वाचन हुन लागको हो ।

प्रदेशसभा– बाग्लुङ

बाग्लुङ २ (ख) मा नेकपाको समर्थनसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा उत्रिएका छन् भने काँग्रेसका तर्फबाट जित शेरचन  । यस्तै समाजवादीले अशोककुमार विक र राप्रपाले गणेश कुँवरलाई प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उतारेको छ । 

अन्य दलले उम्मेदवारी घोषणा गरेका छैनन् । यहाँ पनि शाही र शेरचनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ को चुनावमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रदेशसभा – दाङ

दाङ ३ (ख) मा हुने उपचुनावमा नेकपाले उत्तम वलीकी पत्नी विमला वलीलाई चुनावी मैदानमा उतारेको छ भने काँग्रेसले केशव आचार्यलाई अघि सारेको छ । समाजवादीले दिल्लीबहादुर डाँगी, साझाले शिव चौधरी र राप्रपाले भूपाल रावतलाई चुनावी मैदानमा पठाएको छ । 

यहाँ पनि यी बाहेका दलले अहिलेसम्म उम्मेदवारी घोषणा गरेको पाइँदैन । दाङमा नेकपा र काँग्रेसबीच नै भिडन्त हुनेछ । यद्यपि दाङमा चौधरीको बाक्लो बसोबास रहेकाले साझाका शिव चौधरीलाई आउने जातीय भोटले नेकपा र काँग्रेसका उम्मेदारको हारजितको  फैसला गर्ने अनुमान लगाइने गरिएको छ । दाङ ३ (ख)मा तत्कालीन बाम गठबन्धनबाट विजयी उत्तम वलीको सवारी दुर्घटनामा परेर निधन भएको थियो ।
प्रदेशसभा – भक्तपुर

भक्तपुर १ (क) मा नेकपाबाट देवीप्रसाद ढकाल (डिपी) र काँग्रेसबाट कृष्ण भँडेलबीच भिडन्त हुने पक्का भएको छ । भक्तपुरमा अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भने विहिबार २१ गते उम्मेदवारी दर्ताको दिनमात्र पार्टीका उम्मेदवार तय गर्ने जनाएको छ ।

यता समाजवादीले पनि अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । साझाबाट सुरज प्रधान र राप्रपाबाट श्याम नेपाल चुनावी मैदानमा उत्रिएका छन् । यहाँ तृपक्षीय भिडन्त हुने देखिन्छ । यहाँ नेकपा, काँग्रेस र नेमकिपालाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको छ । तत्कालीन बाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

धरान उपमहानगर

यता सुनसरीको धरान उपमहानगरपालिकामा मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा उपचुनाव हुँदैछ । 
जसमा धरान उपमहानगरपालिकाको मेयरमा नेकपाले प्रकाश राई, काँग्रेसले तिलक राई, समाजवादीले गजेन्द्र इस्वो, साझाले राजन कुमार श्रेष्ठलाई मैदानमा उतारेको छ ।
उपमहानगरपालिकामा कब्जा जमाउन सबै दलको भरथेग प्रयास जारी छ । त्यही अनुसार चुनावी रौनक बढ्दै गएको छ । यद्यपि यहाँ पनि नेकपा र काँग्रेसलाई नै मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । 
तत्कालीन एमालेबाट मेयरमा निर्वाचित तारा सुब्बाको निधन भएपछि धरान उपमहानगरपालिकामा उपनिर्वाचन लागेको हो ।


३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि उपनिर्वाचन हुने लागको छ । 
जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २८ सिट दाउमा छन् भने काँग्रेसका १४ सिट दाउमा छन् । जनमोर्चाको एक सिट दाउमा छ । बाँकी अन्य दलका सिट दाउमा छन् । 

उम्मेदवारी दर्ता भोलि

बिहीबार उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची छ । जसमा प्रतिनिधिसभा तथा प्रदेशसभाको हकमा विहिबार (भोलि) विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीयतहको हकमा भने कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप