शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस प्रवक्ता शर्माले भने- यो ठूला माछा खोज्ने बेला हो

बिहीबार, २१ कात्तिक २०७६, १४ : २९
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनबाट जनताले सरकारको असफलताको जवाफ दिने बेला आएको बताएका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को (क) प्रदेशसभामा काँग्रेस उम्मेदवार कृष्ण भँडेलको उम्मेदवारी दर्ताको र्यालीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सरकारले गरिरहेका गलत कामको जवाफ दिन रुखमा मत दिन सबैलाई आग्रह गरे । 

उनले सरकारले प्रहरीलाई बद्नाम गराउने काम गरेको, निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको, कर्मचारीलाई काम गर्न नदिएको र शान्तिसुरक्षा कायम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारको चर्को आलोचना गरे । 

‘आज कहाँ छन् ३३ किलो सुनकाण्डका ठुला माछाहरु ? वाइडबडीमा भएको भ्रष्टाचार कहाँ छ ?,’ प्रवक्ता शर्माले प्रश्न गर्दै भने, ‘राष्ट्रका सम्पत्ति बालुवाटार क–कसको नाममा सरुवा भएको छ भनेर यो खोज्ने बेलामा हो । यसको खोजीका लागि काँग्रेसको रुख चिन्हमा मत दिनुहुन आग्रह छ ।’ एउटा सिटले सरकार बन्ने र भत्कने नभए पनि सन्देश दिने भन्दै भक्तपुरका जनतालाई काँग्रेसको पक्षमा मतदान गर्न उनको आग्रह थियो ।

‘सरकारमा बस्नेलाई सच्याउने हो भने जनमत खस्किएछ भन्ने सन्देश दिनुपर्ने छ । कम्युनिस्टका साथीहरुलाई त्यसैल मेरो आग्रह छ । सत्तारुढ दलले नै अहिले पनि जित्ने हो भने यो सरकार झन् बिग्रेर जान्छ । यो सरकारलाई अझै बिग्रनबाट जोगाउन कम्युनिष्ट पार्टीका साथीहरु चाहनुहुन्छ भने रुख चिन्हमा मत दिन आग्रह गर्न चाहन्छु ।’

भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे सच्चा कम्युनिस्ट भए पनि नक्कली कम्युनिस्टले सत्तामा बसेर कम्युनिस्ट दर्शनको बद्नाम गरिरहेको आरोप शर्माको छ । ‘वास्तविक कम्युनिष्ट को हो भनेर मैले घोषणा गर्नुपर्यो भने नारायणमान विजुक्छे हो भनेर घोषणा गर्छु । तर, आज उहाँलाई मेरो प्रश्न छ । आफ्नो चुनाव चिन्हको मादल बजाउँदै गर्दा वास्तविक कम्युनिष्ट पार्टी खुम्चँदै जाने र नक्कली कम्युनिष्टले सिंहदरबार कब्जा गर्ने हो भने हाम्रो जित जरुरी छ ।’

प्रवक्ता शर्माले भक्तपुरबाट काँग्रेसले जितको झण्डा फहराउने दाबी गर्दै कार्यकर्ताहरुलाई एकढिक्का भएर लाग्न पनि आग्रह गरे । उनले भने, ‘भक्तपुरबाट काँग्रेसले विजयीको चारतारे झण्डा फहराउने छ । उम्मेदवारका अन्य ९ जना आकाँक्षीबाट एउटा योग्यलाई उम्मेदवार पठाएका छौँ । सबै एक ढिक्का भएर लाग्नुहुनेछ ।’

कस्कीमा सात दशक पार गरेका खेमराज पौडेलले टिकट पाएको भन्दै काँग्रेसमा सबैले उचित समयमा अवसर पाउने पनि उनले बताए । उनले भने, ‘काँग्रेसले उचित समयमा नेता कार्यकर्तालाई न्याय गर्छ । त्यसको उदाहरणका रुपमा कास्कीमा सात दशक पार गरेका खेमराज पौडेलले अवसर पाउनुभएको छ ।’

यस्तै काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले भक्तपुरमा गुण्डाराज मौलाएको भन्दै जनताले काँग्रेसको साथ खोजिरहेको बताए । यस्तै भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उपनिर्वाचन कसैको विरुद्धमा नभइ हत्या, हिंसा, बलात्कार र महङ्गीका विरुद्ध भएको बताए । उनले भक्तपुरमा काँग्रेसको जित दाबी पनि गरे । प्रदेशसभा उम्मेदवार कृष्ण भँडेलले लोकतन्त्रको रक्षका लागि भक्तपुरका जनताले आफूलाई जिताउने दाबी गरे ।

उनले भने, ‘अधिनायकवादी मंसिर १४ गते विस्थापित हुनेछन् । मलाई आशा छ, भक्तपुरका जनताले लोकतन्त्रको रक्षाका लागि मलाई साथ दिनुहुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप