बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले किन बेच्दै छ बोइङ ?

शुक्रबार, २२ कात्तिक २०७६, १० : ३४
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बोइङ ७५७ 9N-ACB  जहाज बिक्री गर्ने भएको छ । दुई पटकसम्म बिक्रीका लागि सार्वजनिक टेन्डर आह्वान गरे पनि बिक्री नभएपछि निगमले तेस्रो पटक आपसी समझदारी (नेगोसिएसन)मा बोइङ बेच्न लागेको हो । निगमले आगामी फ्रेब्रुअरीसम्ममा सो जहाज जसरी भए पनि बेचिसक्ने जनाएको छ ।

पुरानो र उपलब्धिहीन भएकाले बोइङ बेच्न लागेको निगमका कार्यकारी प्रमुख मदन खरेलले बताए ।

‘निगमले बोइङ नाइन एन–एसीबी जहाज जसरी पनि बेच्नुपर्छ । जहाज निकै पुरानोर र उपलब्धिहीन भएको छ ।’ निमग प्रमुख खरेलले भने, ‘संस्थाको व्ययभार कम गर्न र विमानस्थलको पार्किङ खुल्ला गर्न पनि यो जहाज बेच्नु आवश्यक छ । दुई दुई पटक सार्वजनिक खरिद आह्वान गर्दा पनि बिक्री नभएको जहाज यस वर्ष नेगोसियसन गरेर भए पनि बेच्ने योजनामा छौ’, खरेलले भने ।

निगमले सन् १९८६ मा बोइङ ७५७ का दुईवटा जहाज नाइन एन–एसीबी र नाइन एन–एसीए खरिद गरेको थियो । यी दुईमध्ये बोइङ एन–एसीबी अहिले निगमले बेच्न लागेको हो ।

दुई पटक सार्वजनिक खरिद बिक्रीका लागि टेन्डर आह्वानमा गरेको कम्पनीले जहाजको बिक्री मूल्य न्यूनतम तीन लाख ८४ हजार अमेरिकी डलर तोकेको थियो । निगमले पहिलो पटक २६ जुन २०१९ र देस्रो पटक १४ अगस्ट २०१९ मा टेन्डर आह्वान गरेको थियो । तर टन्डरमा कुनै पनि दर्खास्त नपरेपछि निगमले नेगोसिएसनमा विमान बेच्न लागेको हो । योसँगैको अर्को बोइङ विमान एन–एसीबी भने निगमले यस अघि नै बिक्री गरिसकेको छ ।

आखिर किन बेच्न खोजिँदै छ त जहाज ?

बोइङ 9N-ACB निकै पुरानो जहाज हो । सन् १९८६ मा खरिद गरिएको यो जहाज निगमले झण्डै ३४ वर्ष चलाइसकेको छ । अहिले यी जहाज कम उपयोगी हुँदै गएको छ । त्यसो त अहिले निगमले बोइङभन्दा पनि राम्रो मानिएका एड्भान्स एयरबस जहाजहरु भित्र्याइ सकेको छ । केही समयअघि मात्र निगमले विशिष्ट मानिएको दुईवटा वाइड बडी जहाज ए३२० र ए३३० जस्ता ठूला जहाजहरु भित्र्याइसकेको छ । एयरबसका जहाजहरु विश्वमा निकै राम्रा मानिन्छन् ।

दुई ठूला प्रतिस्पर्धी एयर कम्पनी बोइङ र एयरबसमा जहाजको क्षमता, स्पेयरपार्टसको सर्वसुलभ र फाइदाका हिसाबले तुलनात्मक रूपमा बोइङभन्दा एयरबसलाई नै बढी उपयोगी मानिन्छ । त्यसैले पछिल्लो समय संसारभर एयरबसको माग उच्च छ ।

बोइङ र एयरबसको सामान जहाजको फ्युल कन्जब्सन (तेल खपत)मा झण्डै ३२ देखि ४० प्रतिशतको फरक पर्ने निगमका प्रवक्ता सुलेख मिश्र बताउँछन् ।

‘हवाई सेवामा बोइङ जहाजभन्दा एयरबस जहाज चलाउनुमा फाइदा छ ।’ मिश्रले भने, ‘जहाजको इन्जिनियरिङ पाटो त छदैछ फ्युल कन्जब्सनका हिसाबले समेत एयरबस फाइदाजनक छ । तुलनात्मक रूपमा बोइङको दाजोमा एयरबसले ३२ देखि ४० प्रतिशत तेल खपत कम गर्छ ।’

त्यसमाथि बोइङ जहाज पूरा भएकाले अझ बढी तेल खपत गर्ने मिश्रले बताए । यसले संस्थागत रूपमा आम्दानीभन्दा बढी खर्च बढाउने र घाटा लगाउने उनको भनाइ छ ।

यद्यपि निगमले बोइङ नाइन एन–एसीबी जहाज सञ्चालन गरिरहेको छ । हाल बोइङमा विभिन्न समस्या आइरहने र ग्राउन्डेड भइरहने हुँदा निगम आजित छ । त्यसैले जहाज जसरी पनि बिक्री गर्ने र समस्याबाट चाँडै पार लाग्ने निगमको योजना छ ।

तर अबको तीन महिनाभित्र जहाज बेचिनसके जहाज बिक्रीनै नहुने अवस्था छ । अन्तर्राष्ट्रि एयरक्राफ्ट सुरक्षा प्रमाणित संस्था आईसा (आईएसएसओ) र आएटा अप्रेसन् सेफ्टिट अडिट (आईओएसए)ले समेत रोक्ने अवस्था छ । त्यसमाथि जहाजको उडान अवस्थाले समेत अबको तीन महिनापछि जहाज बिक्री गर्न नसकिने अवस्थामा पुग्ने निगमका प्रमुख खरेल बताउँछन् ।

‘समस्याका कारण निगमले जहाज तत्काल बेच्नु परेको हो’, खरेलले भने, ‘के गरेर हुन्छ आउँदो फ्रेब्रुअरीसम्ममा हामीले जहाज बेचिसक्नुपर्छ । नत्र त जहाज उड्ने अवस्थामा समेत रहँदैन ।’

कसले लैजाला बोइङ नाइन एन–एसीबी ?

नेपालले चलाएर थोत्रो बनाएको जहाज अन्य देशले किन्लान र सञ्चालन गर्लान् भन्ने सम्भावना अत्यन्त न्यून छ । किनकि नेपालभन्दा कम बुद्धि भएका र कम अर्थतन्त्र बोकेका देशहरु कमै छन् र कुरो आउँछ लागत र सुरक्षाको । सुरक्षाकै दृष्टिकोणले समेत पुरानो जहाज कमैले खरिद गर्छन् । त्यसमा पनि मर्मत (मेन्टेनेन्स) खर्च बढी पर्ने हुँदा बरु नयाँ जहाज किन्नतिरै आकर्षित हुन्छन् ।

त्यसो भए कसले किन्ला त निगमको पुरानो जहाज ?

यता नेपाल एयरलाइन्स भने आफ्नो जहाज छोटो दूरीमा र सामान बोक्ने कार्गो सेवाका लागि प्रयोग गर्न सकिने बताउँछ । यसको अलवा एयरक्र्याफ्ट म्युजियममा राख्नका लागि पनि बिक्री हुन सक्ने बताउँछ ।

बोइङ नाइन एन–एसीबी जहाज अहिलेकै अवस्थामा किनेर चलाइहाल्ने अवस्थामा छैन । चलाउनु परेमा जहाजको पूर्ण पार्ट मर्मत गर्नुपर्छ । त्यसपछि पनि ठूलो र लामो उडानका लागि यो जहाज प्रयोग हुँदैन । सामान्य छोटो दूरीमा त्यो पनि सामान बोक्ने कार्गो सेवामा यो जहाज प्रयोग गर्न सकिन्छ ।’ प्रवक्ता मिश्रले भने, ‘विकल्पमा विमान सङ्ग्राहालय (म्युजियम)मा पनि यो जहाजलाई राख्न सकिन्छ ।’

अहिले निगमले ग्राहक आए सस्तोमा नै जहाज बिक्री गर्ने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप