मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा सक्रिय भारतका ‘प्रोफेसनल’ चोर

एक वर्षमा २० भन्दा बढी घरमा चोरी, भारतमा घरजग्गा र गाडी
शुक्रबार, २२ कात्तिक २०७६, १३ : ५६
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । भारत समस्तीपुर घर भएका राजु पोद्दार १६ वर्षअघि नेपाल आए । राजुसँगै बिटु यादव र बिटु पोद्दार पनि नेपाल आएका थिए । त्यतिबेला राजुको उमेर ८ वर्षको थियो ।

नेपाल आएका राजुले तिलगंगास्थित कवाडी पसलका लागि कवाड सामान संकलन गर्ने काम सुरु गरे । त्यही राजुलाई यतिबेला ‘प्रोफेसनल चोर’ को नामले चिनिन्छ ।

बोरा लिएर फोहोर उठाउन जाने राजुले नेपाल आएको एक वर्षमा २० भन्दा बढी घरमा चोरी गरेको पाइएको छ ।

चोरी पेसामा कसरी संलग्न ?

राजुभन्दा ठूलो उमेरका व्यक्ति पनि कवाडी सामान संकलन गर्न जान्थे । यस क्रममा मौका छोपेर उनीहरुले केही घरमा चोरी गर्थे । राजुले चोरी गरेको घटनालाई नियाल्थे ।

आफूभन्दा ठूलाले चोरी गरेको देखेर राजुले बिटु यादव र बिटु पोद्दारलाई आफ्नो साथमा लिएर कवाडी संकलनमा छुट्टै हिँड्न थाले । अरुले चोरी गरेको देखेर राजु चोरी पेसामा प्रेरित भएको खुल्न आएको छ ।

सामान्य पसलबाट चोरी सुरु

राजुले तिलगंगास्थित एउटा सामान्य किराना पसलबाट चोरी सुरु गरेका हुन् । पहिलोपटक सामान्य पसल चोरी गरेका राजुलाई प्रहरीले तत्कालै पक्राउ ग¥यो ।

चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राजु जिल्ला अदालतको आदेशबाट रिहा भए । राजु पुनः त्यही पेसालाई अँगाल्दै चोरी गर्न झन् सक्रिय हुँदै गए ।

चोरी पेसाबाटै मनग्य सम्पत्ति जोडेका राजु पोद्दारलाई कात्तिक १० गते महानगरीय अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको छ । राजुसँगै विटु यादव पनि पक्राउ परेका छन् ।

दसैँ अगाडि राजुले पत्रकार प्रदीपराज दाहालको कोठा चोरी गरे । पत्रकार दाहालले प्रहरीमा उजुरी दिए । प्रहरीले चोरी भएको घरनजिकै रहेको सीसीटीभी फुटेज हे¥यो । सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई पहिचान गरी पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

पक्राउ परेका राजुसँग चोरी भएका सामान भने बरामद हुन सकेको छैन ।

एसएसपी थापाका अनुसार चोरीमा संलग्न राजु पोद्दार र बिटु यादव जिल्ला अदालत काठमाडौंको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान भएका छन् ।

नेपालमा चोरेर भारतमा घरजग्गा र गाडी

सामान्य परिवारका राजुले नेपालमा चोरी गरेर भारतमा गाडी, घरजग्गा जोडिसकेको महाशाखाका इन्सपेक्टर किरण न्यौपानेले बताए । उनले भने, ‘राजुले चोरी गरेको सामान रातारात भारतको घोडासनी क्षेत्रमा लगेर बेच्ने गर्थे ।’

इन्सपेक्टर न्यौपानेका अनुसार राजुले केही वर्षअघि महाराजगञ्जस्थित नेपाली सेनाका कर्णेल सविन प्रताप राणाको घर र केही महिनाअघि यति एयरलाइन्सका सिनियर क्याप्टेन रमोद श्रेष्ठको घरमा समेत चोरी गरेका थिए । यस्तै, ललितपुरको दिपेन्द्र दुलालको घरमा पनि उनले चोरी गरे ।

राणाको घरबाट ६० लाख बराबरको धनमाल चोरेको र क्याप्टेन श्रेष्ठको घरबाट ३० लाख बराबरको गरगहना चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

चोरी गर्न आउँदा महँगा होटलमा बास

पछिल्लो समय राजु नेपालमा चोरी गर्न आउँदा नेपालका महँगा होटलमा बास बस्ने गर्थे । पहिलाजस्तो बोरा बोकेर राजु चोर्ने काम गर्दैनन् । यसअघि चाहिँ राजु फोहोर मैला टिप्ने बहानामै जान्थे र चोरी गर्थे । महाशाखाका इन्सपेक्टर न्यौपाने भन्छन्, ‘अहिले त यिनीहरु प्रोफेसनल चोर भइसके ।’

कवाडीमा बसेर चोरी गर्न छाडिसकेका थिए राजु ।

कोल्टे घरमा राजुको आँखा पथ्र्यो

चोरी पेसालाई अँगाल्दै ‘प्रोफेसनल चोर’ को नाम पाएका राजुले एकान्तमा रहेको घरहरु चोरी गर्ने गर्थे । इन्सपेक्टर न्यौपाने भन्छन्, ‘हेर्दै जाने, जुन घरमा ताल्चा लगाएको छ, मान्छे सुनसान देखिन्छ, जहाँ अलिकति कोल्टे ठाउँमा घर छ, त्यस्ता घरहरु राजुले चोरी गर्ने गथ्र्यो ।’

‘सके ढोकाबाट, नभए घर पछाडीबाट, नभए पर्खालबाट र विशेषगरी घर पछाडीको भेन्टिलेसन अथवा किचनको ढोकाबाट घरभित्र राजु छिर्ने गर्थे,’ न्यौपानेले भने, ‘एउटा घरमा चोर्न १० देखि १५ मिनेट लाग्थ्यो ।’

सानो रड प्रयोग गरेर राजुले चोरी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

महाराजगञ्ज र बानेश्वर क्षेत्र मुख्य आधार

महाराजगञ्ज र बानेश्वर क्षेत्रलाई मुख्य आधार बनाएर राजुले चोरी गर्ने गर्थे । न्यौपाने भन्छन्, ‘अहिले चाहिँ उपत्यकाको तीनवटै जिल्लालाई आधार बनाएर चोरी गर्दै आएका थिए राजु ।’

पछिल्लो समय राजुले सुनचाँदीका गहनामात्र चोर्ने गरेको पाइएको छ । पहिला–पहिला मोबाइल, ल्यापटप चोर्ने राजु अहिले चाहिँ मोबाइल, ल्यापटप चोर्दैनन् ।

विशेषगरी दिउँसोको समयमा चोरी गर्ने राजुले पहिला–पहिला हार्डवेयरका सामान र मोबाइलहरु पनि चोर्ने गर्थे ।

यसअघि प्रहरीले भारतीय ‘प्रोफेसनल चोर’का रुपमा चिनिएका राहुल कुमार, बिकी कुमार र रोहित कुमारलाई चोर्दाचार्दे रंगेहात पक्राउ गरेको थियो ।

सुन मात्र चिन्थे, हिरा चिन्दैनथे

सुरु–सुरुमा राजुले राणा परिवारको धेरै घरमा चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । राणा परिवारमा हिरा धेरै हुन्थ्यो ।

राजुले सुनसँगै हिराहरु पनि चोरेर ल्याउने गर्थे । तर, राजुले हिराभित्रको स्टोन निकालेर फाल्दिने र सुन मात्र बेच्ने गर्थे ।

एकपटक राजुलाई पक्राउ गर्दा राजुको कोठाबाट हिराभित्रको स्टोनहरु फालेको अवस्थामा बरामदसमेत भएको थियो ।

चाडपर्वको बेला आउने गर्छन्

भारतबाट चोरहरु दसैंंको समयमा काठमाडौं छिर्ने गरेका छन् । मुख्यतः साउनदेखि कात्तिक अन्तिमको समयमा चोरहरु बढी नेपाल आउने गर्छन् ।

चाडपर्वको बेला आउने, चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप