शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्लूमबर्गद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने तयारी

शुक्रबार, २२ कात्तिक २०७६, १५ : ३३
शुक्रबार, २२ कात्तिक २०७६

न्यूयोर्क– संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी थालेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेका छन् । 

ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए, तर अन्ततः चुनावी दौडमा उत्रने तयारी गरेका छन् । तैपनि, ब्लूमबर्गका एकजना सल्लाहकारले ब्लूमबर्गले यससम्बन्धी निर्णय गरिसकेका छैनन् । 

अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षर सहित आवेदन गर्न पठाउनु भएको छ । अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो ।

अलाबामा राज्यमा पहिलो प्राथमिक चुनाव हुने मात्र होइन, आवेदनको म्याद पनि यहाँ पहिले सकिन्छ । डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ । 

अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।  अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

न्यूयोर्क पोस्टमा छापिएको एक समाचारमा ब्लूमबर्गका निकटस्थले ‘ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् ।’ ब्लूमबर्गको उपस्थितिले डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार हुन चाहनेका आकाँक्षीको भिडमा अरु एक व्यक्ति थपिनेछन् । हाल १७ जना नेता उम्मेदवारी दौडमा छन् ।

एलिजाबेथ वारेनले ट्वीट गर्दै ब्लूमबर्गलाई चुनावी दौडमा स्वागत गर्नुभएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप