केन्द्रीय संस्करण

कविता : महिनावारी

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0

–शीतल शर्मा

भएमा नारी महिनावारी, नभई नहुने, 
जे जस्तो कष्ट आए तापनि, नसही नहुने ।
अघि र पछि दाजु र भाइ, बीचमा म छोरी,
डर थ्यो निकै कसैले पत्तो, नपाओस् क्यै गरी ।।

च्यातेर धोती आमाले दिइन्, लगाऊ यसरी, 
देख्दा ती आमा भक्कानो छोडी, रोएँछु बेसरी ।
हुँदैन जान बाहिर अब, भित्र नै बस है
ल्याइदिन्छु यहीँ खाएर मेटाऊ, भोक र प्यास है ।।

लागेमा शौच, कोपरा यहीँ छ, गरे है तिमीले,
भिजेमा धोती त्यो धुनुपर्छ, फेरे है तिमीले ।
फेरेको धोती लिएर राति, जानुछ खोलामा,
अस्ताए सूर्य, पुरुष जाति नभा’को बेलामा ।।

थुनेको झ्याल अँध्यारो कोठा, त्यसैमा दुर्गन्ध,
टार्नलाई भोक, खानु नै पर्ने, गरेर नाक बन्द ।
दाजु र भाइ बाहिर खेल्दा, म भित्र कुनामा,
सजिलो बरु हुन्थ्यो कि बस्न, जेल भित्र थुनामा ।

यो कष्टबाट बाहिर भोलि, निस्कनु पर्नेछ,
उत्तर के दिऊँ समाजलाई, जो प्रश्न गर्नेछ ?
दाजु र भाइ नजिक गई कसरी बसूँ म ?
ती बाबासँग जुधाई आँखा, कसरी हाँसू म ?

स्कुल भर्खर पुगेको बेला, हुने क्रम जारी भो,
लाग्दथ्यो झर्काे आइपुग्यो फेरि, महिनावारी यो ।
राखेर धोती झोलामा भित्र, जानु छ स्कुल,
देख्लान् कि कोही खोलेमा झोला, लुकाउन मुस्किल ।।

वाकवाकी लाग्थ्यो, दुख्दथ्यो अनि, पेट र कम्मर,
पढाइ छोडी बीचैमा त्यसै, फर्कन्थेँ म घर ।
भन्दथिन् आमा नजानू अब, फूल र बारीमा,
छोएका फल कुहिन्छ त्यसै, महिनावारीमा ।।

छोएमा मैले यता र उता, पाप पो लाग्छ रे,
छुवा र छुत भएमा पुरुष, देउता जाग्छ रे ।
भोगेको कुरा सुनाएँ आज, पचाई म लाज,
महिनावारी अछुत हैन, बुझिदे समाज ।।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...